भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै गएराति दुर्घटना हुँदा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार दाहाल घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको थियो।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो।दाहालको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
