पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सम्पा गैन प्रथम
कनकाई खबर / युवाहरूमा बढ्दो लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्ने र खेलकुदमार्फत नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमै थप सुमधुर एवं प्रगाढ बनाउने उद्देश्यका साथ आयोजित सुरुङ्गा लसुना २४ किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल–भारत मैत्री संघ सुरूङ्गा उपशाखाको आयोजना तथा लागुऔष एवं दुव्र्यसनमुक्त युवा अभियान अन्तर्गत सञ्चालित उक्त अन्तर्राष्ट्रिय स्तरको सडक दौड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।
झापाको सुरूङ्गा बजारदेखि नेपाल–भारत सीमा क्षेत्र लसुना -डिगलबैंक) सम्मको २४ किलोमिटर सडक खण्डमा भएको तीव्र प्रतिस्पर्धात्मक दौडमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कडा प्रतिस्पर्धाबीच पुरुषतर्फ बाग्लुङका धावक तीर्थ पुनले निर्धारित दूरी मात्र १ घण्टा १८ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरे भने महिलातर्फ भारत माल्दाकी सम्पा गैन प्रथम हुन सफल भइन्। प्रतियोगितामा पुरुषतर्फ लेटाङका विक्रम लिम्बू दोस्रो र भारत माल्दाका पञ्चनान बेरा तेस्रो भए। त्यस्तै महिलातर्फ जुम्ला गुठिचौरकी राज्यलक्ष्मी रावल दोस्रो र काठमाडौं त्रिपुरेश्वरकी सम्झना लिम्बू तेस्रो स्थान हासिल गर्न सफल भए।
प्रतियोगिताका विधागत विजेताहरूले ट्रफी र प्रमाणपत्रका साथै आकर्षक नगद पुरस्कार प्राप्त गरे, जसअन्तर्गत प्रथम हुनेले जनही नगद रु. १,०१,०००/–, द्वितीय हुनेले रु. ७५,०००/– र तृतीय स्थान हासिल गर्नेले रु. ५१,०००/– प्राप्त गरे।
आयोजक संस्थाका सभापति अर्जुन बोहोराको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्की तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सीमा क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार र दुव्र्यसन नियन्त्रण गर्न युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्नु नै यस प्रतियोगिताको मुख्य औचित्य रहेको प्रष्ट पारे । कार्यक्रमका विशिष्ट अतिथि भारत बिहार राज्यको ठाकुरगन्जका विधायक गोपाल कुमार अग्रवालले नेपाल र भारतका जनप्रतिनिधि सहित जिम्मेवार व्यक्तित्वहरूबीच आपसी भेटघाट र निरन्तर संवादमार्फत सहकार्य एवं भातृत्व कायम गर्न चाहेको बताए ।

त्यस्तै, भारत किशनगन्जका उच्च अधिकारी एसडिपिओ (२) मनोजकुमार सिंहले समाजलाई सर्वप्रथम नशामुक्त बनाउन दुवै देश एकजुट हुनुपर्नेमा जोड दिँदै भने, ‘भारतलाई नशामुक्त बनाउन हामीले धेरै अघिदेखि पहल गरिरहेका छौँ, जवानीमै अकालमा मृत्युको मुखमा पुग्नु पर्ने यस्तो गम्भीर समस्या सिंगो समाजका लागि भारी बनिसकेकाले दुवै देशले संयुक्त अभियान चालेर अघि बढ्नु आवश्यक छ।’
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य लक्की गणेश, झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया, किशनगन्जकी पुनमदेवी सिंह, कीर्तिमानी राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र प्रतिष्ठित सामाजिक व्यक्तित्व देउमान थेवे लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।
यस किसिमको सीमापार खेलकुदले छिमेकी देश नेपाल र भारतबीचको आपसी सद्भाव र मित्रतालाई तल्लो स्तरसम्मै थप सुमधुर बनाउन ठूलो सहयोग पुगेको विश्वास व्यक्त गर्दै जिम्मेवार निकाय र आयोजकका तर्फबाट सहभागी सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद सहित आभार प्रकट गरिएको छ।

