तिहार नेपाली समाजको मौलिक संस्कृति, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र आपसी प्रेमको अनुपम पर्व हो। उज्यालोको पर्वका रूपमा परिचित दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिन्छ। घरआँगनमा झिलिमिली बत्ती, फूलमाला, देउसी–भैलो र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयताले तिहारलाई नेपाली जनजीवनको विशेष उत्सव बनाएको छ।
तर समयसँगै तिहार मनाउने शैलीमा परिवर्तन आउँदै गर्दा यसको मौलिकता जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ। चाडपर्वको नाममा देखासिकी, अनावश्यक खर्च, तडकभडक र प्रतिस्पर्धा बढ्नु चिन्ताको विषय हो। पटाका तथा विस्फोटक पदार्थको प्रयोगले दुर्घटना, आगलागी, ध्वनि प्रदूषण र वातावरणीय जोखिम निम्त्याउने भएकाले यस्ता गतिविधिप्रति सचेत हुन आवश्यक छ। खुसी मनाउने नाममा अरूको शान्ति र सुरक्षालाई जोखिममा पार्नु कदापि उचित हुँदैन।
तिहारलाई सभ्य, सुरक्षित, मितव्ययी र वातावरणमैत्री बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। स्थानीय उत्पादनका फूलमाला, दियो तथा अन्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदा स्वदेशी उत्पादन र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्छ। देउसी–भैलोको मौलिकता जोगाउँदै यसलाई विकृतिरहित सांस्कृतिक उत्सवका रूपमा निरन्तरता दिनुपर्छ।
अझ महत्वपूर्ण कुरा, चाडपर्वको खुसी आर्थिक रूपमा कमजोर, असहाय, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिहरूसम्म पु¥याउन सक्नुपर्छ। छिमेकीबीच आत्मीयता, परिवारमा एकता र समाजमा सद्भाव कायम राख्नु नै पर्वको वास्तविक उपलब्धि हो।
तिहार केवल घरमा बत्ती बाल्ने पर्व होइन, मनभित्र मानवता, प्रेम र सद्भावको दीप प्रज्वलित गर्ने अवसर पनि हो। आउनुहोस्, यस वर्षको दीपावलीलाई विकृतिरहित, सुरक्षित र अर्थपूर्ण बनाउँदै संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश फैलाऔँ। सबैमा शुभदीपावलीको हार्दिक मंगलमय शुभकामना…

