कनकाई खबर / नेपाली कांग्रेस कनकाई वडा नं. ७ वडा समितिले चाडपर्वहरूको पावन अवसरमा एक विशेष समारोहका बीच शुभकामना आदानप्रदान तथा नवगठित वडा समितिको पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
दीपावली, नेपाल संवत र छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित सो कार्यक्रममा नेताहरूले जननायक बिपी कोइरालाको सिद्धान्त र चिन्तनलाई आत्मसाथ गर्दै वर्तमान चुनौतीहरूका विरुद्ध कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
कनकाई वडा नं. ७ स्थित ज्येष्ठ नागरिक भवनमा वडा सभापति ईश्वरीप्रसाद शिवाकोटीको अध्यक्षता तथा नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति परशुराम ढुङ्गाना, प्रदेश (ख) सभापति रोहित खवास, कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईं, कनकाई–७ का वडाध्यक्ष भीष्म सिटौला र प्रदेश अधिवेशन प्रतिनिधि दुर्गादेवी ओली लगायतको विशिष्ट आतिथ्य रहेको नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि शिवहरी काफ्लेले जानकारी दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि थेवे, क्षेत्रीय सभापति ढुङ्गाना, प्रदेश सभापति खवास र नगर सभापति प्रसाईंले वर्तमान राजनीतिक अवस्थामा पार्टीको अस्तित्व रक्षाका लागि विचलित नभई अघि बढ्नुपर्ने आजको आवश्यकता औंल्याए ।
वर्तमान सरकारको नेतृत्वले फैलाएको भ्रमको खेतीलाई चिर्दै धैर्यताका साथ यथार्थको पक्षमा अडिग रहन उनीहरूले कार्यकर्ताहरूलाई निर्देश गरे । नेताहरूले नेपाली कांग्रेसको ऐतिहासिक भूमिका र बिपीको वैचारिक मार्गलाई दह्रोसँग समातेर जनताको विश्वास जित्न सम्पूर्ण तहका नेता-कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा वडा समितिको औपचारिक पदहस्तान्तरण समेत गरिएको थियो। नवनिर्वाचित वडा सभापति होमबहादुर बस्नेतको नेतृत्वमा रहेको १७ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। निवर्तमान वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी र सचिव युवराज बोहोराले नवगठित वडा सभापति बस्नेत र सचिव टिकाराम विश्वकर्मालाई पद हस्तान्तरण गरे । कार्यक्रममा आसन्न निर्वाचनबाट पार्टीको क्षेत्र, प्रदेश र नगरतर्फ निर्वाचित भएका पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो।
राजनीतिक सद्भाव झल्किने उक्त कार्यक्रममा वडामा क्रियाशील अन्य राजनीतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। निवर्तमान वडा सचिव युवराज बोहोराले सञ्चालन गरेको सो औपचारिक समारोहमा अन्य दलका तर्फबाट नेकपा एमालेका वडाध्यक्ष देवीप्रसाद भट्टराईले समेत शुभकामना मन्तव्य राख्दै आपसी सहकार्य र चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

