Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घुँडा टेकेको अवस्थामा आत्महत्या हुन्छ ?
    विचार

    घुँडा टेकेको अवस्थामा आत्महत्या हुन्छ ?

    adminBy admin२०७६ असार १९, बिहीबार ०६:५९ गते9 Mins Read

    [button icon=”dot-circle-o”]गौरव पोखरेल[/button] 

    आर्थिक वर्ष ०७५/०७६ को वैशाखसम्म मुलुकभर ३ हजार २२ आत्महत्याका घटना भए । तीमध्ये अधिकांशमा प्रहरी प्रशासनले एउटैखाले विवादको सामना गर्नुपरेको छ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार यो अवधिमा एक हजार १ सय ८० महिलाले मृत्युको बाटो रोजेका छन् । तीमध्ये अधिकांश घटनामा चिकित्सकको रिपोर्टसँग आफन्तजन सहमत नभएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

    आत्महत्या हो कि हत्या भन्ने विवादका तीनवटा प्रतिनिधि घटना हेरौं ।

    १. विमला तामाङ प्रकरण

    बौद्धको समता अस्पतालमा मंगलबार बिहान झुण्डिएको अवस्थामा कामदार विमला तामाङको शव भेटियो । अघिल्लो दिन साँझसम्म घर नफर्किएपछि विमलालाई खोज्दै गएका आफन्तले अस्पतालका दुईवटा कोठा हेर्न पाएका थिएनन् । भोलिपल्ट तिनै दुई कोठाभित्र रहेको शौचालय छेऊमा शव भेटिएपछि परिवारजनलाई विमलाको ‘आत्महत्या’ माथि संशय उत्पन्न भयो ।

    समता अस्पतालविरुद्ध आन्दोलन चर्कियो । प्रहरीले घटनालाई नियन्त्रणमा लिन लाठीचार्जका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुपर्‍यो ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा तयार पोष्टमार्टम रिपोर्टले ‘कज अफ डेथ ह्यांगिङ’ भनेको छ । तर, मृतकको गोजीमा भेटिएको तीनजनाको नाम उल्लेखित चिटले घटनामा ट्वीस्ट ल्यायो ।

    अंग्रेजी अक्षरमा लेखिएका ती नाम विमलाले नै लेखेकी थिइन् ? वा, कसैले लेखेर गोजीमा राखिदिएको थियो ? यो विषयमा प्रहरीले निर्क्यौल गर्न सकेको छैन ।

    ‘अनुसन्धान अधिकृतभन्दा पहिले नै शवको छेउमा अन्य मानिसहरु पुगिसकेकाले जे पनि हुन सक्छ’, एक उच्च प्रहरी अधिकृतले सुनाए, ‘त्यही कारण हामीले कागजको वैज्ञानिक परीक्षणका लागि प्रयोगशाला पठाएका हौं ।’

    त्यो अक्षर विमलाकै भएको प्रमाणित भए तीनजनाविरुद्ध आत्महत्या गर्न प्रोत्साहित गरेको कसुरमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने प्रहरी अधिकारीहरुको भनाइ छ ।

    २. सुनिता थामी प्रकरण

    व्यवसायी सुमित मैनालीको बसुन्धारास्थित घरमा काम गर्न बसेकी सुनिता थामीको ११ जेठमा शव भेटियो । छतमा रहेको पानी ट्यांकी राख्ने फलामको स्ट्यान्डमा उनी झुण्डिएकी थिइन्, शरीरको आधा भाग भने भुइँमै लत्रिएको थियो ।

    वरिपरि रगतका टाटा पनि देखिए, जसलाई थामी परिवारले स्वाभाविक मान्न सकेन । छोरीको हत्या भएको दाबी गर्दै ४५ वर्षीया आमा बोधमाया थामी भौंतारिरहिन् ।

    मैनालीले नियमितरुपमा छोरीलाई तलबसमेत नदिएको परिवारको दाबी थियो । तर, त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकको टोलीले गरेको पोष्टमार्टम रिपोर्टले सुनिताको झुण्डिएकै कारण मृत्यु भएको रिपोर्ट दियो ।

    परिवार भने आफ्नो अडानमा अडिक थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईं भन्छन्, ‘पोष्टमार्टम रिपोर्टले नै आत्महत्या देखाइसकेपछि हामीले केही भन्ने ठाउँ नै रहँदैन ।’

    उनको दाबी अनुसार शवको छेउमा देखिएको रगतको टाटा महिनावारीको रगत रहेको समेत मेडिकल जाँचमा देखिएको थियो ।

    ३. मोनालिसा चाहार प्रकरण

    झापाको कनकाई– ८, लक्ष्मीपुरमा २९ वैशाखमा मोनालिसा चाहार मृत भेटिइन् । झ्याल, ढोकाभित्रैबाट बन्द गरिएको कोठाभित्र उनी झुण्डिएकी थिइन् ।

    इलाका प्रहरी कार्यालय, अनारमनीका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘हाम्रै टोली गएर ढोका फोडेर शव निकालेको थियो ।’

    पोष्टमार्टम रिपोर्टले मोनालिसको मृत्यु झुण्डिएकै कारण भएको देखाएको छ । तर, माइती पक्षले छोरीको मृत्युलाई सामान्य रुपमा लिएन । उनीहरुले श्रीमान विशालसहित परिवारका अन्य सदस्यविरुद्ध कर्तव्य ज्यानमा जाहेरी दिन खोजे । तर, पर्याप्त प्रमाण नभएकाले प्रहरीले फर्काइदियो ।

    अन्तिममा माइती पक्षले मुलुकी अपराध संहिताको नयाँ व्यवस्थाअनुरुप आत्महत्या गर्न प्रेरित गरेको दाबी गर्दै श्रीमानविरुद्ध जाहेरी दिए । हाल उनी प्रहरी हिरासतमै छन् ।

    प्रहरीको दाबीः आर्थिक बार्गेनिङ !

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार आत्महत्याको घटनामा विवादको श्रृंखला तराईबाट सुरु भएको ‘रोग’ हो । एक दशक अगाडिसम्म तराईमा दाइजो नपाएको झोंकमा महिलालाई झुण्ड्याएर हत्या गर्ने गरेका घटनाहरु सार्वजनिक हुन्थे ।

    प्रहरी उपरीक्षक (एसपी) हुँदा तराईका विभिन्न जिल्लाको कमाण्ड सम्हालेका सुवेदीले अनुभव सुनाउँदै भने, ‘मुद्दा दर्ता गर्न अर्को जटिल पक्ष भनेको जाहेरी ल्याउँदा परिवारका सबै सदस्यविरुद्ध ल्याइन्छ ।’

    एसएसपी सुवेदीका अनुसार कुनै एक वा निश्चित व्यक्तिलाई प्रतिवादी बनाए प्रमाणित हुन सक्छ । तर, सिंगै परिवारलाई नै विपक्षी बनाउँदा अनुसन्धानमा जटिलता आउँछ ।

    उसोभए आत्महत्याको घटनामा हुने विवादको चुरो के हो त ? उपत्यका र मोफसलका केही प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत अधिकृतहरुको दाबीअनुसार ‘आर्थिक बार्गेनिङ’ एउटा प्रमुख कारण हो ।

    अधिकांश विवाद अन्तिममा आर्थिक लेनदेनमा गएर टुंगिने गरेको र वसुन्धरामा मृत भेटिएकी सुनिता थामीको घटनामा पनि ७ लाख रुपैयाँ दिएर विवाद सामसुम बनाइएको प्रहरीको भनाइ छ ।

    समता अस्पतालमा भएको प्रर्दशनलाई साम्य बनाउन पनि सञ्चालकले आर्थिक बाटोकै सहारा लिएको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार अस्पताल प्रशासन र पीडित परिवारबीच मृतकका ५ वर्षीय छोराको शिक्षा र उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय भएपछि मंगलबारको आन्दोलन मथ्थर भएको थियो ।

    पीडित पक्षबाट क्षतिपूर्ति स्वरुप ‘१५ लाख’ रुपैयाँ पनि मागिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी अधिकृत दाबी गर्छन् । तर, कुरा नमिल्दा अहिले सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारी हिरासतमै छन् ।

    प्रहरी प्रधान कार्यालयका अर्का एक उच्च अधिकारी आन्दोलनले बार्गेनिङको तहलाई उच्च बनाउने मान्यता स्थापित गराउँदै लगेको बताउँछन् । ‘जुन दुखद कुरा हो’, ती अधिकृतले भने, ‘यदि विशुद्ध आत्महत्याको घटना होइन भने त्यहाँ कुनै पनि हालतमा आर्थिक डिलले प्रवेश नै पाउँदैन ।’

    बार्गेनिङ मात्रै होइन, विवादको कारण

    त्यसो त आत्महत्याको घटनालाई विवादित बनाउन आर्थिक पक्षको मात्रै भूमिका नहुने प्रहरी अधिकारीहरु स्वीकार्छन् । अनुसन्धान अधिकृत र सम्बन्धित पक्षको व्यवहारले पनि पीडितका आफन्तलाई उत्तेजित बनाउन भूमिका खेल्ने गरेको अनुसन्धान अधिकारीहरुको अनुभव छ ।

    आफन्तको असामयिक एवं अप्रत्यासित मृत्यु भएका बेला उनका निकटस्थहरु भावुक एवं विह्वल हुनु स्वाभाविकै पनि हो । तर, त्यस्तो अवस्थामा समयमै भ्रमको उचित निवारण हुन सकेन भने शंकाको पारो थप बढ्दै गएका घटना प्रशस्तै भेटिने गरेका छन् ।

    गौरव पोखरेल

    एक प्रहरी अधिकृत भन्छन्, ‘मुचुल्का उठाउन गएका व्यक्ति यो त आत्महत्या रहेछ भनेर कराउँदै आउने होइन, उसले हाकिमसँग आफूलाई लागेको कुरा सुनाउने हो ।’

    कतिपय अवस्थामा फिल्डमा खटिएका अधिकृतकै बोलीका कारण समस्या देखिने गरेको ती अधिकृत बताउँछन् ।

    त्यसैगरी आफन्तले शंका गर्ने पक्षसँग राम्रो व्यवहार नगरिदिँदा पनि समस्या सिर्जना हुने गरेको प्रहरीको भनाइ छ । जस्तैः समता हस्पिटलको घटनामा अघिल्लो दिन दुई कोठा हेर्न नदिँदा आफन्त आक्रोशित भए । ‘यो घटनामा सहानुभूति देखाउनुपर्ने ठाउँमा राम्रो रेस्पोन्स भएको देखिएन’, प्रहरी अधिकारी भन्छन्, ‘विगतमा यसैगरी पीडित पक्षलाई सकारात्मक सहयोग नगर्दा केश बिग्रिएका थुप्रै उदाहरण छन् ।’

    अस्पताल वा अन्य कुनै व्यवसायिक निकाय जोडिएको घटनामा चाहिँ प्रतिस्पर्धीले पनि आन्दोलन उक्साउन भूमिका खेल्ने गरेको कतिपय सन्दर्भमा देखिएको प्रहरीको भनाइ छ ।

    आत्महत्याको पृष्ठभूमिमा हुने झगडा

    अनुसन्धान अधिकारीहरुको अनुभवमा कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपूर्व उसको नजिकमा रहेका व्यक्तिसँग मनमुटाव, झगडा वा खटपट परेकै हुन्छ । र, त्यो कारणले पनि मृतकका आफन्तले उसको मृत्युमा विभिन्नखाले आशंका गर्नु स्वाभाविकै हुन्छ ।

    ‘महिलाको मृत्यु भएको घटनामा सबैभन्दा बढी विवाद हुने गरेको देखिन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले सुनाए, ‘पारिवारिक समस्या, बेमेल विवाह, दाइजो लगायतका समस्या भएका घटना बढी जटिल देखिन्छन् ।’

    कतिपय घटनामा श्रीमान–श्रीमतीबीच हुने सामान्य झैँ झगडा र संयुक्त परिवारमा हुने परिवारका सदस्यबीचको विवादले आशंका गर्न बल पुर्‍याउने गरेको पोखरेल बताउँछन् ।

    कार्यस्थलमा आत्महत्या गरेको घटनामा चाहिँ तलबको नियमितता, कामको चाप र आत्मसम्मानमा चोट पुग्ने गरीको संवाद जस्ता कुरामा समस्या देखिँदा विवाद उत्पन्न हुने गरेको डीआईजी पोखरेलको अनुभव छ ।

    महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख सहकुलबहादुर थापाको अनुभवमा प्रेमी–प्रेमिकाको हकमा केटी पक्षले स्वभाविकरुपमा केटा पक्षलाई आशंका गर्ने गर्छन् ।

    ‘पुरुषको घरमा घरायसी विवाद, दाजुभाइको बेमेल, लेनदेन, काम गर्ने ठाउँमा प्रेसर लगायतका कुरा हेर्ने गरिन्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापा भन्छन् ।

    सुसाइड नोटमा नाम उल्लेख गरिँदा त सिधै सम्बन्धित व्यक्तिप्रति आशंका जाने भइहाल्यो । प्रहरीले अनुसन्धानपछि आत्महत्या गर्न प्रेरित गरेको कसुरमा मुद्दा पनि चलाउन सक्छ ।

    आत्महत्याको विवादबारे फरेन्सिक विज्ञ के भन्छन् ?

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विभाग प्रमुख डा. तुलसी कँडेल हत्या वा आत्महत्या भन्ने विषय पोष्टमार्टम रिपोर्टले मात्रै निर्क्यौल गर्न नसक्ने बताउँछन् ।

    ‘दुर्घटनामा छतमा खसाइएको र आफैं हामफालेको मानिसको मृत्युको कारण एउटै हुन सक्छ’, कँडेलले उदाहरण दिँदै भने, ‘झुण्डिएको घटनामा विभिन्न पक्षमा ध्यान दिनुपर्छ ।’

    कँडेलका अनुसार मृत्यु स्वाभाविक, भवितव्य, आत्महत्या, हत्या वा के हो ? त्यो जान्न ‘म्यानर अफ डेथ’ पहिचान गर्ने गरिन्छ । तर, एक रिपोर्टका अनुसार नेपालमा हुने एक सय पोष्टमार्टम मध्ये १५ वटामा मृत्युको कारण खुल्दैन ।

    अर्ध झुण्डिएको किसिमको आत्महत्यामा मानिसको शवले जमिन छोएको, घुँडा टेकेको, अढेस लागेको वा निहुरिएको जस्तो अवस्थामा भेटिन सक्ने फरेन्सिक विज्ञ बताउँछन्

    शरीरभित्र र बाहिर चोटपटक नभएको अधिकांश घटना झुण्डिएकै कारण मृत्यु भएको देखिने कँडेलको अनुभव छ ।

    ‘आत्महत्याका विवाद हुने भनेको बढीजसो महिलाकै केसमा हो’, उनले सुनाए, ‘कुनै २५ वर्षकी महिलालाई बेहोसीकै अवस्थामा झुण्ड्याउनुपरे पनि कम्तिमा ३/४ जनाले समात्नुपर्छ ।’

    त्यसक्रममा प्रतिकार गरिएको कुनै न कुनै तरिकाको निशान हुने उनी बताउँछन् । जसको परीक्षण गरेर पोष्टमार्टम रिपोर्टमा लेख्ने गरिन्छ ।

    फरेन्सिक विज्ञका अनुसार झुण्ड्याइएको र आत्महत्या गरिएको घटनामा झुण्डिँदा प्रयोग गरिएको वस्तुको डाम (लिगेचर मार्क) पनि फरक हुन्छ । जस्तै– कपडा वा सल बेरिएको छ भने नरम दाग बन्छ । सनपाट, नाइलनको डोरी, फलामको तार आदि प्रयोग गरेर झुण्डिँदा कडा डाम बस्छ ।

    आफैं झुण्डिने व्यक्तिले पातलो सलको प्रयोग प्रायः नगर्ने फरेन्सिक विज्ञ बताउँछन् । किनकि, मृतकको शरीरको वजनलाई त्यो सलले नथेग्न सक्छ । कतिपय अवस्थामा पातलो सलको प्रयोगबाट हाम्फाल्दा पासो चुँडिन सक्ने सम्भावना पनि हुन्छ ।

    त्यति मात्र होइन, मृत्युअघि र पछिको डाम चिकित्सकीय परीक्षणबाट छुट्टयाउन सकिने विज्ञ बताउँछन् ।

    घुँडा टेकेर आत्महत्या हुन्छ ?

    वसुन्धराको घटनामा घुँडा टेकेर आत्महत्या हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न उठ्यो । फरेन्सिक विज्ञ कँडेलको अनुभवमा ओछ्यानमा सुतेको अवस्थामा पनि आत्महत्या भएको देखिएको छ ।

    ‘सुतेकै बेला झ्यालमा सानो रुमालले घाँटीमा बेरेर तान्दा मृत्यु भएको घटना पनि छ’, उनले सुनाए ।

    फरेन्सिक विज्ञानका अनुसार झुण्डिएर हुने मृत्यु दुई प्रकृतिको हुन्छ ।

    पहिलो, पूर्ण झुण्डिएको अवस्था, जसमा कुनै अग्लो स्थान वा विन्दुबाट पासो लगाएर झुण्डिने गरिन्छ । यो प्रकारको घटनामा खुट्टाले जमिन छोएको हुँदैन । छोए पनि थोरै मात्र हुन्छ ।

    दोस्रो प्रकार भनेको अर्ध झुण्डिएको अवस्था हो । विज्ञका अनुसार यो प्रकारको आत्महत्यामा व्यक्तिले छोटो स्थानको प्रयोग गरेर पासो लगाउने गर्छन् ।

    अर्ध झण्डिएको घटनामा ४/५ केजीको कुनै वस्तुले थिचिँदा घाँटीमा रहेको रगतको नसा बन्द हुने चिकित्सक बताउँछन् । जसका कारण कम्तिमा ४ मिनेटभित्र मृत्यु हुने गरेको भेटिन्छ ।

    यो किसिमको आत्महत्यामा मानिसको शवले जमिन छोएको, घुँडा टेकेको, अढेस लागेको वा निहुरिएको जस्तो अवस्थामा भेटिन सक्ने फरेन्सिक विज्ञ बताउँछन् । डा. कँडेलका अनुसार आत्महत्याको घटनामा प्रायः मुटुबाट मतिष्कमा जाने रक्तनली बन्द भएर मृत्यु हुने गरेको छ ।

    अनुसन्धान अधिकृतले केमा ध्यान दिने ?

    विज्ञहरु आत्महत्याको अनुसन्धान लागि खटिने अधिृकतले ध्यान दिनुपर्ने केही विषय छन् । पहिलो कुरा झुण्डिन प्रयोग गरिएको पासो र भुइँभन्दा व्यक्तिको उचाइ कम छ भने गाँठो पार्ने ठाउँमा कुनै कुरा प्रयोग गरिएको छ/छैन भन्ने हेर्नु आवश्यक हुन्छ ।

    खुला ठाउँमा घटनास्थल छ भने त्यहाँ जाने बाटोमा हिलो, धुलो छ/छैन भन्ने हेर्नु आवश्यक हुने विज्ञ बताउँछन् । किनकि, शवको शरीरको खुट्टा वा चप्पलमा धुलो, हिलो लागेको छैन भने हत्यापछि झुण्ड्याइएको हुनसक्ने सम्भावना प्रबल हुन्छ ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाको पिल्लर १ का एक अधिकृतका अनुसार हत्यापछि झुण्ड्याइएको कतिपय अवस्थामा डोरीबाट बन्न सक्ने डोब र मृतकको घाँटीमा भएको दाग फरक–फरक हुन सक्छ । त्यो कुरामा अनुसन्धान अधिकारीले ख्याल पुर्‍याउनुपर्ने उनी बताउँछन् ।

    (पोखरेल अनलाइनखबर डटकमका लागि अपराध, सुरक्षा र सैनिक मामिलामा रिपोर्टिङ गर्छन्)

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    अपराध नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते

    दशैं विशेष सम्पादकीय… निराशाबाट माथि उठेर दशैं मनाऔं

    २०८२ आश्विन १३, सोमबार ०७:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.