Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन-सीपी मैनाली
    विचार

    फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन-सीपी मैनाली

    adminBy admin२०७५ भाद्र ६, बुधबार ०६:४४ गते14 Mins Read

    सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा त्यस्तै भएको थियो । वरिपरिका सारा मान्छेहरु सखाप भएका थिए । धेरै साथीहरू समातिए । मारिए । आतंकले भागे । तर, पनि मैले हिम्मत हारिनँ । म उभिएँ ।

    मैले साथीभाइ जम्मा पारें । झापा विद्रोहपछि ०३१ सालमा फेरि साथीहरूलाई अपील गरें । ०३२ सालमा कोअर्डिनेसन बनाइयो । फेरि समातिएँ । जेल ब्रेक गरें । फेरि बाहिर आएँ । र, फेरि काम गरें । ०३५ सालमा नेकपा माले पार्टी बनाइयो । तर, त्यसक्रमा पार्टीभित्र धेरै धमिराहरू पसेछन् ।

    ०२८/०२९ सालतिर मलाई पनि धेरै आफन्तले भाग सीपी भाग भनेका थिए । तर, मैले जुन बाटो लिएको थिएँ, त्यसमा गद्दारी गर्नुहुँदैन भनें । यत्रो साथीहरू मरिसके, म किन भाग्ने भनेर भागिनँ । म पनि भागें भने यत्रो सन्देश कसले प्रवाह गर्ने भन्ने लागेर उभिएँ । मैले कसैलाई गुन लगाएको थिइनँ, मैले जुन निर्णय गरें, त्यसप्रति मलाई गर्व छ ।

    सबै काम मेरै जीवनकालमा हुनुपर्छ भन्ने छैन । म जति सक्छु, म गर्छु । भोलि मेरो लाइनलाई अगाडि बढाउन अरु पनि आउन सक्छन् । सोभियत संघमा देशै भताभुङ्ग नभएसम्म त्यहाँका कम्युनिस्टको चेतै खुलेन । तर, नेपालमा कम्युनिस्ट पार्टी नसकिँदै नयाँ पालुवा पलाउँछ । किनकि, यहाँ हामी छौं ।

    ‘ऐरावत हात्ती’ सँग चुनावी वार्ता !

    म ११ असोज ०७४ मा केपी ओलीको निवासमा गएर चुनावी सहकार्यको कुरा गर्दा उनले मलाई ठाडै ‘तपाई नेकपा माले विघटन गरेर आउनुस्’ भने । मैले भनें- यो सम्भव छैन । किनभने, माले देश र जनताको पक्षमा, मार्क्सवादी बाटोमा छ । त्यसैले विघटन गर्नुको कुनै औचित्य छैन ।
    स्थानीय चुनावमा एमाले र माओवादीले हामीलाई झुक्याए । तलतल सहकार्य गर्ने भने पनि स्थानीय तहमा कतै सहकार्य गरेनन् । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेल गर्नका लागि मैले नै पहल गरेको थिएँ ।

    त्यो भेटमा मैले ओलीलाई भनें- जहाँसम्म तपाईको पार्टीसँग एकताको कुरा छ, त्यसमा संवाद नै भएको छैन । अब असोजमा आएर घुँडा धसेर बहस गर्ने कि चुनावको तयारीमा लाग्ने ? तत्कालै एकीकरणको घोषणा गर्न पनि सकिँदैन किनभने समय पनि छैन । त्यसैले अहिलेलाई चुनावी तालमेल गरेर जाउँ, पछि पर्याप्त बहस गरेर जाउँला मूलभूत कुरा मिले पार्टी एकता पनि होला । मूल कुरा नमिलेर खुद्रा कुरा मिले सहकार्यसम्म हुन्छ । मैले भनेको यो कुरा ओलीले मानेनन् ।

    मैले हाम्रो पार्टीको अडान राखेपछि ओलीले दशैंपछि कुरा गरौंला भने । दशैं असोज १५ गते थियो । १७ गते फोन गर्दा सम्पर्क हुन सकेन । दिउँसो थाहा भयो, उनीहरु माओवादीसँग सहकार्यको घोषणा गर्ने तयारीमा लागेका रहेछन् ।

    मैले उनीहरुको घोषणा सुनें । त्यसमा साना दललाई पनि सीट दिएर बाँकीमा एमाले र माओवादीले ६०/४० गर्ने भनिएको थियो । यिनीहरूले सबैलाई समेट्न लागेका रहेछन् भन्ने लाग्यो । असोज १८ गते बिहानै केपी ओलीको निवासमा गएँ । तपाईले साना वाम दल र राष्ट्रवादी दललाई सिट दिएर बाँकीमा ६०/४० गर्न खोज्नुभएको रहेछ । हामीलाई पनि अटाउने ठाउँमा राखिदिनु भएको रहेछ, धन्यवाद भनेँ ।

    मैले तपाईको घोषणाअनुसार सहकार्य गर्न हामी तयार छौं भन्दा उनले ‘त्यसो गर्ने हो भने तपाई सूर्यचिह्नबाट चुनाव लड्नुपर्छ’ भन्न थाले । १७ गते सूर्य चिह्नबाट लड्छु भनेका प्रचण्डले १८ गते बिहानसम्म त्यो चिह्नबाट नलड्ने निश्चित भइसकेको थियो । मैले भनीदिएँ- हामीसँग त पार्टी एकीकरणको कुरै भएको छैन । कसरी लड्न मिल्छ सूर्य चिह्नबाट ? कुराकानी भएर चुनावपछि एकीकरण गर्ने टुङ्गो लागेको भए त हुन्थ्यो ।’

    ओलीसँग हाम्रो प्रस्ताव के थियो भने प्रतिनिधिसभामा चार/पाँच ठाउँ र प्रदेशमा ठूलोमा तीन सानोमा दुई सीट भए हुन्छ । त्यो पनि हाम्रो प्रस्ताव न हो, तपाईहरु कति भन्नुहुन्छ, भन्नुस् ।

    ओलीले केही दिनपछि आउनू भने । एकदिन बिहान ८ बजे पुगेको थिएँ, उनले सूर्य चिह्नमा नलड्ने भए सहकार्य हुँदैन भने ।

    ओलीले हुँदैन भनेकै दिन मैले प्रचण्डलाई पनि भेंटे । उनले तपाईलाई कम्तिमा प्रतिनिधिसभामा एक वा दुई र प्रदेशसभामा एक/एक सिट त दिनुपर्ने हो भने । म पनि कोशिस गर्छु पनि भनेका थिए प्रचण्डले । तर, दुबैजनाले मिलेर दिएनन् । पछि एउटा अन्तर्वार्तामा प्रचण्डले हामी दुबैजनाले मिलेर अरु पार्टीलाई नदिएको हो भनेका छन् ।

    कुनै विदेशी शक्ति पसेर अरुसँग सहकार्य गरे पनि सीपी मैनालीको मालेसँग नगर्नू भनेको हुनुपर्छ । नेकपा मालेलाई राजनीतिकरुपमै ‘किल’ गर्नुपर्छ भन्ने कुनै विदेशी शक्तिको प्रभावमा दुई नेताले हामीलाई नदिएका हुन् । यसरी सहकार्य त हुन सकेन भने पार्टी एकता त झन डाँडापारिको कुरा भइहाल्यो ।

    चुनाव जितेर आएपछि त झन उनीहरु ऐरावत हात्ती जस्ता भएका छन् । यस्तो बेलामा वार्ता गर्न जानु भनेको सिधै घाँटी निमोठिमाग्नु हो ।

    यो ०३९ साल कात्तिक २२ गतेको घटना थियो । त्यसै दिनदेखि एमालेमा अराजनीति छिर्‍यो, षडयन्त्र पस्यो । गुटबन्दी छिर्‍यो

    एमालेमा गुटबन्दी छिरेको मिति- ०३९ साल कात्तिक २२ गते

    तत्कालीन राजा वीरेन्द्रले अघि सारेको शान्ति क्षेत्रको प्रस्तावलाई पूर्णरुपमा विरोध गर्नुपर्छ भन्नेहरुले त्यसबेला मलाई राजावादी भने । मैले त्यतिबेला त्यो प्रस्तावलाई पूर्णतः विरोध नगरौं भनेको थिएँ । सिधै विरोध गर्नुभन्दा पनि विश्लेषणात्मक ढंगले हेर्नुपर्छ भन्ने मेरो धारणा थियो । त्यसो भन्दा मलाई दक्षिणपन्थी, राजावादी भन्ने मान्छेहरु यिनै हुन् ।

    जनमत संग्रहपछि अबको कार्यनीति भनेको पञ्चायत ढाल्ने हुनुपर्छ भनेको थिएँ । तत्काल जनवादको पनि होइन, गणतन्त्रको पनि लाइन होइन, भनेँ । त्यसोभन्दा मलाई दक्षिणपन्थी र कांग्रेस परस्त भने ।

    पार्टीको केन्द्रीय कमिटीमा एक्लो भएपछि मैले महासचिवबाट राजीनामा दिएँ । केन्द्रीय कमिटीमा अल्पमतमा परेकाले महासचिव हुन नैतिकरुपले पनि उपयुक्त नभएकाले राजीनामा दिनुपर्छ भनेर दिएँ । तर, त्यो राजीनामा स्वीकृत गरेनन् । उनीहरुले मसँग हामी एक्लाएक्लै सल्लाह गर्छौं भने । त्यसो नगर्नुस, मेरै अगाडि छलफल गर्नुस् भन्नुपर्थ्यो । त्यसपछि गैरराजनीतिक तरिकाले मेरो राजीनामा च्यातेर मलाई कारवाही गरे । कारवाही गरेर मलाई महासचिवबाट हटाए ।

    जबकि माथि भनेजस्तो मैले कठिन परिस्थितिमा झापा आन्दोलनको सन्देशलाई जोगाउन काम गर्दै आएँको थिए । पुष्पलालले भनेजस्तै नीतिअनुसारको नेतृत्व हुनुपर्छ भनेर मैले महासचिवबाट राजीनामा दिएको थिएँ । भोलि तपाईहरूको नीति नै ठीक भएछ भने म आत्माआलोचना गरौंला, होइन तपाईहरुको नीति गलत रहेछ भने तपाईहरुले आत्माआलोचना गर्नुहोला भनेको थिएँ । यसरी राजनीतिक ढंगले राजीनामा दिएको मलाई अराजनीतिक ढंगले करावाही गरे ।

    एक समयमा पार्टीकै जानकारीबाट मैले जेलमा लेखेको पत्रलाई आधार बनाएर तैंले यस्तो चिठी लेखिस्, त्यो पक्राउ परेको भए पार्टी खत्तम हुन्थ्यो भनेर मलाई कारवाही गरे । जब कि चिठी पक्राउ परेको पनि थिएन । ब्वाँसा र पाठाको पानी धमिल्याउने कथा जस्तो गरेर मलाई उनीहरुले कारवाही गरे ।

    मैले त्यसबेला महासचिवबाट हट्नैपथ्र्यो । किनकि केन्द्रीय समितिमा म एक्लो थिएँ । लक्ष्य, कार्यनीति मिल्दैनथ्यो । त्यो कुरा मैले यिनीहरूलाई छ महिना अगाडि नै भनेको थिएँ । माधव नेपाल, जीवराज आश्रति र अमृत बोहोरालाई बोलाएर सबै कुरा भनेको थिएँ । तत्कालै गणतन्त्र ल्याउनुपर्छ, जनवाद ल्याउनुपर्छ भन्ने कार्यनीति अनुचित लाग्यो भनेको थिएँ ।

    यो ०३९ साल कात्तिक २२ गतेको घटना थियो । त्यसै दिनदेखि एमालेमा अराजनीति छिर्‍यो, षडयन्त्र पस्यो । गुटबन्दी छिर्‍यो । जब त्यो विन्दुसम्म पुगेर उनीहरुले आत्मआलोचना गर्दैनन् र नेता, कार्यकर्तालाई राजनीतिक रुपमा नै जाँच्ने ठाउँसम्म उनीहरू पुग्दैनन् तबसम्म एमाले र एमाले मिसिएको दलमा गुटबन्दी सकिँदैन । किनकि गुटबन्दीको जरो त्यहाँ देखियो । त्यतिबेला देखियो ।

    एमाले र माओवादीभित्र मप्रति सकारात्मक भाव राख्नेहरू पनि छन् । धन्यवाद दिन्छु उहाँहरुलाई । तर, त्यहाँ नेताहरूको एउटा मण्डली सीपीविरोधी छ । उनीहरू सीपीलाई पोलिटीकल्ली हेर्ने होइन, सीपीलाई व्यक्तिगत ढंगले जसरी भए पनि सिध्याउन चाहन्छन् । राजनीतिमा सही भए त म उनीहरुलाई मानेरै जान्थेँ । तर, राजनीतिमा पनि उनीहरु त्यसबेलादेखि गलतका गलत नै छन् ।

    व्यक्तिलाई राजनीतिक ढंगले मूल्यांकन गर्ने परिपाटी नआएसम्म कम्युनिष्ट पार्टीमा एकीकरण हुँदैन । यो सबै फटाहा फटाहाबीचको, लुच्चा-लुच्चाबीचको एकीकरण हो । सिद्धान्त, देशभक्ति, परिवर्तनका आधारमा विगतका सकारात्मक अनुभवका आधारमा मात्र एकता हुनुपर्छ ।

    धमिरा लागि सकेको छ । तर, यसलाई सबैले चिन्न सक्दैनन् । अब यही धमिराले नेकपाको विशाल वृक्षलाई ढालिदिन्छ, यो उनीहरुले देख्दैनन्

    मदन भण्डारीसँग मेरो लडाइँ र दासढुंगा काण्ड

    मदन भण्डारी प्रखर वक्ता हुन् । मार्क्सवादको वर्गीय दृष्टिकोण उनले छोडे पनि राष्ट्रवादी थिए । तर, नयाँ जनवादको ठाउँमा जबज भनेर उनले मार्क्सवाद छाडेका थिए । त्यसैको विरोधमा मेरो लडाई थियो । तर, पार्टीको सत्तामा रहेकाहरुले त्यसबेला पार्टीभित्र ठूलो अनियमितता गरे । पुँजीवादी चुनावमा हुने धाँधली उनीहरुले महाधिवेशनमा गरे ।

    मदन भण्डारी आफैं दरबारदेखि झुपडीसम्म बहस गर्नुपर्छ भन्थे । उनले बहस यति गरे कि पुँजीवादीहरू, अवसरवादीहरु उनको पक्षमा उभिने भए । जबकि मेरो पक्षमा मार्क्सवाद बुझ्ने थोरै मान्छे उभिए ।

    दासढुंगामा मदन भण्डारीको हत्या भयो । त्यो राजनीतिक हत्या हो । राष्ट्रिय-अन्तराष्ट्रिय शक्ति लागेर उनको हत्या गरियो । मदनको नीतिले कम्युनिष्ट पार्टीलाई कहाँ पुर्‍याउँछ भन्ने म राम्ररी बुझ्थें । तर, बाहिर बुर्जुवाहरुले मैलेजसरी कम्युनिष्ट पार्टीलाई बुझ्ने अवस्था थिएन । समय लाग्थ्यो । मदनले जुन ढंगले जनमत ल्याए, पार्टीले पनि उनलाई त्यसरी नै उचाल्यो । भण्डारीप्रतिको यो जनमत देखेर प्रतिक्रियावादीहरु डराए ।

    वास्तवमा मदन भण्डारीको जनमतभित्र ठूलो विष थियो । युरो कम्युनिष्टको जस्तो उनले सर्वहारा वर्ग र मार्क्सवादलाई छाडिसकेका थिए । बाँचेको भए पछि कोर्स करेक्सन पनि गर्न सक्थे होला, त्यो छुट्टै कुरा हो । तर, मदन भण्डारीले जे सुरु गरिसकेका थिए, त्यो गलतै थियो । तर त्यो कुरा गलत थियो भनेर एमालेभित्रका हामीजस्ता मान्छेले मात्रै बुझ्न सक्थ्यौं । बाहिर त कम्युनिस्ट आयो र सब सखाप पार्‍यो भन्ने नै थियो ।

    अहिले पनि ओली र प्रचण्डलाई देखेर कम्युनिष्ट आएर खत्तम गर्‍यो भन्दैछन् । यो हौवाको डर हो । भित्र त यिनीहरूको गुदीमा खिया परिसकेको छ । धमिरा लागि सकेको छ । तर, यसलाई सबैले चिन्न सक्दैनन् । यसलाई पनि मार्क्सवाद नै हो, कम्युनिज्म नै हो भन्ने ठान्छन् ।
    अब यही धमिराले नेकपाको विशाल वृक्षलाई ढालिदिन्छ, यो उनीहरुले देख्दैनन् । देशभित्र र बाहिरका बुर्जुवाहरु दुई तिहाई हेरेर त्रसित छन् । त्यही देखेर त्योबेला मदन भण्डारीको हत्या भएजस्तो घटना अब नहोला भन्न सकिँदैन । यिनीहरूलाई नै रियल कम्युनिष्ट मानेर, विश्लेषणै नगरी ठोक्ने मूर्ख पनि नहोला भन्न सकिँदैन ।

    वामदेव गौतमसँग मिल्नु भूल भयो

    त्यसबेला घनश्याम भुसाल मार्काका मान्छेहरुले मलाई मार्क्र्सवादी अध्ययन केन्द्रमा लगेर बामदेव गौतमसँग नक्कली सम्झौता गराए । । बामदेव पनि त्यसबेला एमालेभित्र सत्ताका लागि लडिरहेका रहेछन् । तुरुन्त पार्टी कब्जा गर्ने, सरकारमा जाने र फुटिहाल्न परे पनि सत्तामा जान सकिन्छ भन्ने उनको विश्लेषण रहेछ । त्यो विश्लेषण मसम्म आइपुगेको थिएन । म सिद्धान्तका लागि भनेर इमान्दार भएर लागें । र, उनीसँग सम्झौता गरें ।

    वामदेवले महाकाली सन्धिलाई मूल विषय बनाउँ, जबज र नयाँ जनवाद भन्ने हो भने हाम्रैमा पनि विभाजन हुन्छ भन्न आए । उनले अहिले नै तपाई जबज मान्न सक्नुहुन्न, म नयाँ जनवाद मान्न सक्दिनँ भनेका थिए । त्यसैले अहिलेलाई जबजलाई नै मानेर जाउँ, म बिल्कुल प्रजातान्त्रिक तरिकाले चल्छु । पछि पार्टी कार्यकताले नयाँ जनवाद भने नयाँ जनवाद, जबज भने जबजमा जाउँला, म कुनै षडयन्त्र गर्दिनँ भने ।
    वामदेवले मिलेर जाउँ भनेर मसँग धेरै किरिया खाए । मैले पनि हुन्छ भनें । तपाई यही अडानमा बस्नुहुन्छ भने म पनि अहिले नयाँ जनवादको प्लेटर्फम खोल्दिनँ भनें ।

    वास्तवमा उनको सत्तामुखी प्रवृत्ति र गुटबन्दी चिन्न नसक्नु मेरो गल्ती भयो । हाम्रो पक्षधरको तर्फबाट मैले वामदेवसँग जुन सहमति गरें, त्यसो गरेर गल्ती गरेंछु । नगर्नुपर्ने रहेछ । पुँजीवादी, भ्रष्ट बाटोमा लागिसकेका उनीहरुले मलाई प्रयोग गर्न खोजेका रहेछन् । वामदेवको कुरा मानेर छैठौं महाधिवेशनमा मैले वैचारिक संघर्षको प्लटेर्फमलाई छोड्नुहुँदैनथ्यो । त्यो नगरेको भए एमालेको सिनारियो नै अर्को हुने थियो ।

    हामीले ०५४ साल फागुनमा सीतापाइलामा आरके मैनालीको घरमा मिडिङ गर्‍यौं । त्यहीँ वामदेवले जबज पक्षधरको बहुमत बनाउन खोजे । योग्य मान्छेलाई हटाएर आफ्ना अन्धभक्तहरु ल्याएर भरे ।

    त्यसपछि खोटाङमा गरेको भाषणलाई लिएर मेरो सदस्यता नै खोस्ने षडयन्त्र गरे । त्यहाँभित्रकै कतिपयले नमानेपछि त्यो षडयन्त्र सफल भएन । ०५८ साल फागुन ३ गते वामदेव एमालेमा गए । मैले अरु पनि जानेलाई रोक्दिनँ भनें । मैले जो जो नयाँ जनवादको पक्षमा छन्, उनीहरुलाई लिएर काम गर्छु भनें ।

    केपी ओली, वामदेव, झलनाथ खनाल, माधव नेपाल यी कोही नेता होइनन्, विचारको हिसाबले घनश्याम भुसाल अहिले एमालेको नेता हो । तर, उनीहरुले मलाई त कारवाही गरे भने घनश्यामलाई नेतृत्व बक्सन्छन् र ? बक्सिदैनन् नि

    घनश्याम भुसाल एमालेको अध्यक्ष हुनुपर्ने हो

    सैद्धान्तिकरुपमा घनश्याम भुसाल पनि जबजपन्थी नै हुन् । एमाले पार्टीमा राजनीतिक कल्चर बसाउनुपर्छ भन्ने कुरामा भुसाल, रघु पन्त र हामी मिल्थ्यौं । उनीहरुले अहिले पनि कल्चरमा जोड दिएका होलान् । तर, सिद्धान्त नै गलत भएपछि कल्चरको मात्रै काम छैन ।

    एमालेमा आएको पुँजीवादीकरणको गलत बाटो त घनश्यामले नै अगाडि सारेका हुन् । विचारको हिसाबले ओली, माधव नेपाल, झलनाथ खनालको नेता पनि भुसाल नै हुन् । ‘कल्चरल’ भएकाले मात्रै भुसाललाई नेता नमानेका हुन् । एमालेमा नीतिले नेता हुन पाइन्न । तर, जबजको प्रणेता र प्रवक्ता भुसाल नै हुन् । नीति अनुसारको नेतृत्व हुने हो भने एमालेको अध्यक्ष घनश्याम भुसाल हुनुपर्ने हो ।

    केपी ओली, वामदेव, झलनाथ खनाल, माधव नेपाल यी कोही नेता होइनन्, विचारको हिसाबले घनश्याम भुसाल अहिले एमालेको नेता हो । यिनीहरुको सिद्धान्तको सबैभन्दा राम्रो प्रवक्ता त घनश्याम भुसालै हो । तर, उनीहरुले मलाई त कारवाही गरे भने घनश्यामलाई नेतृत्व बक्सन्छन् र ? बक्सिदैनन् नि ।

    अराजनीतिक कल्चरको प्रभाव

    एमालेमा अराजनीतिको कल्चर ०३९ साल कार्तिक २२ गतेको निर्णय हो, जसले मलाई कारवाही गरेर महासचिव र पोलिटब्यूरोबाट हटाए ।

    ०४६ सालपछि पार्टीमा उपभोक्तावाद हावी भयो । शुरुमा यसको अगुवाई कांग्रेसले गर्‍यो । त्यसपछि एमालेले गर्‍यो । एमालेमा संगठित साहुहरु छन् । जस्तो सहकारी, एनजीओ । यी नयाँ साहुहरुले राष्ट्रिय पुँजीको विकास गर्दैनन्, आसेपासे पुँजीलाई बढावा दिन्छन् ।

    एमाले छाडेर पार्टी पुनर्गठन गर्ने क्रमा मालेमा गलत उद्देश्यले आएकालाई पनि लिनुपर्ने अवस्था आयो । पार्टी तरेली-तरेली भएर छाँटिएर जानुको कारण पनि त्यही नै हो । आँगन बढारेर डोकोमा जम्मा पारेजस्तो गरेर पार्टी बनायौं । ऐन मौकामा लोभीपापीहरुले आफ्नो रुप देखाए । पछिल्लो बेलामा मालेमा पहिरो जानुको कारण यही हो ।

    सँगै काम गर्ने मान्छेले पार्टी छाडेर जाँदा दुःख त लाग्छ नै । तर, अवसरवादी, लाभमुखी मान्छे, अमार्क्र्सवादी, अक्रान्तिकारी मान्छेहरु जाँदा रुवावासी गर्नु जरुरी छैन । खुशीले हर्षबढाइँ गर्न पनि आवश्यक छैन । धुरुधुरु रोएर बस्नुपर्ने पनि होइन ।

    तर, अब पुनर्जागरण हुन्छ भन्नेमा म विश्वस्त छु । ज्योषीले जसरी कहिले हुन्छ भनेर भन्न सक्दिनँ । किनभने, मार्क्र्सवादी ढंगले नचल्नेहरु एक दिन ‘एक्सपोज’ हुन्छन् हुन्छन् । उनीहरुले जनताको काम गर्न सक्दै सक्दैनन् । हामी निरन्तर सक्रिय भएर लड्न आवश्यक छ ।

    पुनर्जागरण हुन्छ भनेर देशभक्तहरूले निस्क्रिय भएर बस्ने भन्ने होइन । सुतिरहेको ठाउँमा फलफूल खस्छ र खाना पाउँछु भन्नुहुँदैन । जो देशभक्त छन्, उनीहरु पछि पर्नुहुँदैन । सही नीति लिएर नजिकिने कोशिस गर्नुपर्छ । सही नीतिका आधारमा जनताको बीचमा जानुपर्छ । देशभक्तिपूर्ण राष्ट्रवाद, देशभक्तिपूर्ण पुँजीवादलाई बढाउनुपर्छ । एक दिन यो नक्कली कुरालाई परास्त गर्न सकिन्छ ।

    अबको बाटो

    अहिले पनि राजनीतिक मुद्दा सिद्धिएको छैन । राष्ट्रियता, पहिचान, समावेशिता, समानुपातिकत लगायतका मुद्दा बाँकी नै छन् । वर्गीय मुद्दा त छँदैछ ।

    अब देशभक्तहरुले मिलेर काम गर्नुपर्छ । प्रगतिशील लोकतान्त्रिक परिवर्तनका लागि ठोस कार्यक्रम बनाएर अगाडि जानुपर्छ । प्रगतिशील लोकतान्त्रिक कार्यक्रमको आर्थिक सिद्धान्त भनेको सामाजिक बजार अर्थतन्त्रको निर्माण हो । त्यसरी जाँदा भोलि जनवाद वा समाजवादमा जान पनि रोकिँदैन ।

    आर्थिक, सामाजिक, राजनीतिक मुद्दा लिएर गएपछि त्यसले वर्गीय द्वन्द्वलाई अगाडि बढाउने छ । मजदुर, किसान, पेटी वुर्जुवा, देशभक्तहरू, राष्ट्रवादी, राष्ट्रिय पुँजीपतिहरू एकातिर हुन्छन् । र, सामान्तवादी, दलाल पुँजीपति, आसेपासे पुँजीवादी र विदेशी शक्तिहरू अर्कोतिर उभिन्छन् । त्यसले २००७, २०४६, ०६३ सालमा जस्तै चाँडो टक्कर ल्याउँछ । र, फेरि चौथो परिवर्तन हुन्छ । अन्तराष्ट्रिय परिस्थिति अनुकुल भयो भने चौथो परिवर्तनमा कम्युनिष्ट गणतन्त्र स्थापना हुन्छ ।

    चौथो परिवर्तनमा त्यस्तो गणतन्त्र आउँछ कि आउँदैन भन्ने विश्लेषण गरिनु पर्छ । अहिले नै जनवादी गणतन्त्र आइहाल्छ भनेर ठोकुवा गर्न सकिँदैन । तर त्यो सम्भावना धेरै छ । यही मान्यताले हामीले कम्युनिष्ट साथीहरुसँग एकता गर्ने, सहकार्य गर्ने र पार्टीलाई सुदृढ गर्ने अभियानमा लागिरहेका छौं । हामीले विभिन्न तरिकाले गृहकार्य गरिरहेका छौं । खासगरी सिद्धान्तनिष्ठ कम्युनिष्टवीच एकता हुन्छ । तर, राष्ट्रिय हित र मार्क्र्सवादलाई छाडेर हामी एकता गर्दैनौं ।

    चुनावका बेलामा हामीमाथि ठूलै प्रहार भएको थियो । त्यो साँच्चै कठिन घडी थियो । अहिले विस्तारै-विस्तारै साथी थपिँदैछन् । नेकपाको चरित्र पर्दाफास भएपछि माले पार्टीमा फर्किने क्रम पनि शुरु भएको छ ।

    मलाई ओली र प्रचण्डसँग तुलनै नगरियोस्

    मलाई प्रचण्डसँग तुलनै नगर्नुस् । प्रचण्ड भनेका राष्ट्रियता, स्वतन्त्रतालाई परोक्ष, प्रत्यक्षरुपमा तत्काल अनि दीर्घकालीनरुपमा घात गर्ने सिद्धान्त बोकेका व्यक्ति हुन् । उनको हिजोआजकै वक्तव्य पढ्दा पनि पहिचान, संघीयता, स्वायत्तताका कुरा नेपालमा फिट नहुने र राष्ट्रियता र स्वतन्त्रतालाई कमजोर बनाउनेखालका छन् ।

    संविधानअनुसार पहिचान दिनुपर्छ, तर जातीयता र क्षेत्रीयताका आधारमा दिनु भनेको विखण्डनलाई आधार दिनु हो । यसमा प्रचण्ड आँखा चिम्लेर लागेका छन् । कुनै पनि राष्ट्रवादीलाई प्रचण्डसँग तुलना गर्नु भनेको राष्ट्रभक्तिकै अपमान हो ।

    मेरो तुलना केपी ओलीसँग पनि नगर्नू । उनले सिद्धान्त छोडेको कति भइसक्यो । हिजो हामी केही उग्र थियौं, सिद्धान्तमा, नीतिमा । तर हामी लडाकू पनि थियौं । त्यो अन्धाकार र निश्त्रिmयताका बेलामा हामी उठ्यौं र हाम्रो त्यसबेला प्रशंसा भयो । झापा आन्दोलन, को-अर्डिनेसन केन्द्र हुँदै माले पार्टी बनाएपछि जनताको समर्थन प्राप्त भयो । तर, त्यसमा सीपी मैनालीको क्यारिस्मेटिक कुराले मात्रै नभएर हामीले जे काम गर्‍यौं, त्यो कामप्रतिको समर्थनले गर्दा हो । यद्यपि त्यसको नेता म थिएँ ।

    त्यो देशभक्तिपूर्ण सिद्धान्तलाई अगाडि बढाउने कठिन कुरामा शायद मैले कतिपय ठाउँमा ढंग पुर्‍याइन कि ? मेरो पनि कतिपय कमजोरी भयो कि ? मेरो मान्यतामा कमजोरी नभए पनि शैली, पद्दतिमा कमजोरी रह्यो कि ?

    त्यति मात्रै नभएर सिंगो देशमै सबैखाले देशभक्तहरू लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट, राष्ट्रवादी देशभक्तहरू ओझेलमा पारिएका छन् । नक्कली देशभक्त, नक्कली क्रान्तिकारी, नक्कली डेमोक्र्याटहरू अगाडि आएका छन् । देशको स्वतन्त्रता, सार्वभौमिकता अर्काको झोलामा बुझाउनेहरू अगाडि आएका छन् ।

    एउटा राष्ट्रिय हितप्रति घात गर्ने दोष भएको मान्छे र अर्को वर्गीय निष्ठाप्रति दोष भएको मान्छे मिलेर डबल नेकपा बनाएका छन् । हो, उनीहरु ‘एक्सपोज’ हुन केही समय लाग्ला । जबसम्म एउटाले राष्ट्रियता हित विपरीत र अर्को वर्गीय हितविपरीत गएको ‘रिलाइज्ड’ गर्दैनन् र त्यसलाई सच्याउने आँट गर्दैनन्, तबसम्म यिनीहरू ठीक बाटोमा आउँदैनन् । उनीहरू जुन बाटोमा हिँडिरहेका छन्, त्यो बाटोमा हण्डर, ठक्कर खान्छ नै । नसच्चिए जनताले यिनीहरूको साथ छोड्छन् । अर्को चुनावसम्ममा यिनीहरुको के के हविगत हुन्छ, हामीले हेर्नुपर्ने हुन्छ । यसवीचमा धेरै कुरा हुन सक्छन् ।

    (नेकपा मालेका महासचिव मैनालीसँग कुराकानीमा आधारित) अनलाइनखबर डटकमबाट 

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    सीपी मैनाली
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते

    दशैं विशेष सम्पादकीय… निराशाबाट माथि उठेर दशैं मनाऔं

    २०८२ आश्विन १३, सोमबार ०७:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.