सूर्यप्रसाद अधिकारी \(कनकाई)
परम्परादेखि नै सत्य र न्यायको विजय स्वरूप विभिन्न धार्मिक ग्रन्थहरुले उत्सवका रूपमा परिभाषित गरेको दसैं । देव र दानवबिचको युद्ध सङ्ग्रामपश्चात् देवहरुले आफू विजय भएपछिको खुसियालीमा उत्सवको रूपमा मानिएको दसैं ।
आज मानव जाति त्यसमा पनि हिन्दु धर्मावलम्बीहरूको विशेष उत्सवका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी मान्यजनहरूबाट दशमीका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका ग्रहण गरी आशीर्वादका साथ दसैंलाई समापन गर्ने गरिन्छ। यसरी असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा स्थापित दशैंमा भावात्मक एवं सांस्कृतिक साटासाटको सहसम्बन्धको परिपूरक हो भनेर व्याख्या गर्दा समेत अन्यथा हुँदैन।
दसैसँग जोडिएका व्यवहारिक एवं आर्थिक कठिनाइका कुथुङ्रीहरू हरेक मानिसहरूका आआफ्नै होलान् । ती कठिनाइहरुभित्र पनि आआफ्नै प्रकारका हर्ष अनि क्लेशहरु होलान्। मानिसहरुले अभावका िबचलाई चिरेर भएपनि यस पर्वलाई धुमधामसँग मनाउने गरेको तथ्य हामीसँगै छ। हिजोदेखि आजसम्म आइपुग्दा दसैं मनाउने प्रवृत्तिमा केही फरक भएका होलान्। तर पनि आनन्दानुभूतिको पर्यायमा कुनै कमी आएको छैन दशैंमा । बालकदेखि वृद्धसम्म हरेकले कुनै न कुनै रूपमा दसैं आगमनको प्रत्यक्ष प्रतीक्षा गरिरहेका हुन्छन्।
मृत्युशैयामा छटपटाइरहेको मानिस नै किन नहोस् ऊ पनि चाहन्छ कि, “यस वर्षको दसैंपछि मात्रै मेरो मृत्यु होस्।” झन् बाल्यकालको अनुभवलाई सम्झने हो भने दसैंको टीकाका दिन उज्यालो हुन नसकेको, बडो कष्टपूर्ण समयपछि मात्रै उज्यालो भएको, उज्यालो भएपछि नयाँ कपडा लगाउन पाएको परिस्थिति सम्झँदा आज पनि उदेक किसिमको आनन्द लाग्ने गर्दछ ।
सम्भवत यो घटना तीन दशकभन्दा अलि अघिको हुन सक्छ । त्यो दसैं, जुन दसैं आज पनि मेरो मन मस्तिष्कमा दिमागको घन्टीलाई तरंगित बनाउँदै बज्ने गर्छ। जतिबेला घरमै बाली घरे सूचीकारहरुलाई लुगा सिलाउने मेसिन बोकाएर ल्याई नयाँ कपडाहरु सिलाउने गरिन्थ्यो। त्यो समय त्यस्तो थियो कि जसका घरमा घरमा बालीघरे सूचीकार ल्याई कपडा सिलाइने गरिन्थ्यो उसैका घरमा मात्रै दसैं छिर्छ भन्ने गरिन्थ्यो। । मेरो अनुभवले भ्याएसम्म त्यस दसैंको फेरिहस्त यस्तो थियो। हाम्रो परिवार निकै ठूलो अर्थात् पाँच भाइ छोरा र दुई दिदीबहिनीको ।आम्दानीको स्रोत विशुद्ध खेती र पशुपालन। त्यसमा पनि न त उत्तम प्रकृतिको खेतीपाती, न त प्रशस्त पशुहरु। यही अभाव र संघर्षको िबचमा दसैंलाई पनि बडो धुमधामसँग मनाउनै पर्ने थियो ।बजारबाट थान कपडा ल्याएर सिलाइएको एकै रङको सर्ट र एकै रङका पोइन्ट लगाएर हामी दाजुभाइ घर अगाडिको बाटोमा निस्कँदा जो कोहीले पनि सहजै अनुमान लगाउन सक्थे यिनीहरु एकै घरका दाजुभाइ हुन्। त्यही अवस्थामा मैले पनि त्यो दसैंबाट पहिलोपटक पेन्ट लगाउने सु अवसर प्राप्त गरेको थिए। त्यसमा पनि मेरो पेन्ट फित्तावाला थियो। व्यग्र प्रतिक्षाका बावजुद हाम्रो घरमा पनि बालीघरे सूचीकारलाई बिहानै बोलाइयो ।दुई दिनसम्म लगाएर लुगा सिलाउने क्रम जारी रह्यो ।
अन्ततः सप्तमीका दिन बिहानै मेरो पेन्ट सिलाइयो। नयाँ पेन्ट र विद्यालयकै औपचारिक जस्तो देखिने सर्टमा सजिएर त्यस वर्षको दसैं मनाउने तीव्र प्रतिक्षामा रहेको मैले जब सर्ट र पेन्ट दुइटै लगाएर परीक्षण गरँे । सर्ट झन्डै झन्डै घुँडा भन्दा मुनिसम्मको थियो भने पेन्टको एउटा खुट्टो छोटो र अर्को पट्टिको खुट्टा लामो भएको प्रष्ट अनुभूति गर्न सकिन्थ्यो। हतार हतार अष्टमीको दिन बिहानै म दुईटै सामग्री बोकेर सूचीकारकोमा पुगेँ र सूचीकारले जवाफ फर्काउनुभयो “यो दसैं यसरी नै लगाएर बिताउ र दसैं सकिने बित्तिकै म तिम्रो पेइन्ट पनि बनाइदिन्छु र सर्ट पनि बनाइदिन्छु।” उनको जवाफले कताकता मन दुखी थियो भने अर्कोतर्फ मनकै अन्तर कुन्तरमा नयाँ लुगा लगाउने उत्साहको तरङ्गले भने तरंगित बनाइरहेकै थियो।
दसैंको टीकाको दिन थियो ।टीकाको दिन बिहानै घरमा टीका लगाएर हतार हतार मामल जाने निधो भयो। तर मैले मामल जाने समूहलाई छोडेर म एक्लै अघि बढेँ किनकि मैले आफूले लगाएको िफत्तावाला पेन्ट र नयाँ सर्ट मामलामा पनि देखाउनु थियो। बर्खा भर्खरै बिदा हुँदै गएका कारण बाटामा केही हिलो भएकाले मेरो पेन्टको माथिल्लो भागसम्म हिलो उछिटिएको थियो भने खुट्टामा पनि लागेको हिलो प्रष्टसँग देख्न सकिन्थ्यो। तर दुःखका साथ भन्नुपर्छ सर्ट र नयाँ पेन्ट लगाएको म मेरा दुवै खुट्टाहरु भने खाली थिए। भन्नुपर्छ “त्यो दसैं इकाइमा नमिलेकै थियो” जब म मामलमा दसैंको टीका लाएर फेरि आफ्ना संगीहरुलाई मेरो नयाँ लुगा देखाउनका लागि हतार हतार घरतर्फ फर्किए, मैले बाटामा हिँड्ने अरु मेरै उमेर समूहका केटाकेटीहरुलाई देख्दा मलाई नमज्जाको अनुभूति भयो। आज पनि सम्झन्छु, दसैं अभावमा पनि स्वभाव नै हुँदो रहेछ।, त्यसैले आजको डिजिटल दसैँलाई हिजोको गरिबीले भरिएको दसैंसँग तुलना गर्दा लाग्छ “हिजो र आजको दसैंमा र लेख र बेसीको दूरी प्रष्ट अनुभूति भएको महसुस गर्न सक्छु”तथापि दसैं त दसैं नै हो। चाहे त्यो अभावको होस् वा रवाफको । चाहे यो इकाइ वा आकारमा नै मिलेको किन नहोस् यसलाई सन्तुलित ढङ्गबाट मान्नुपर्ने हामी सबैको कर्तव्य हुँदोरहेछ ।