बडादशैं नेपाली समाजको सबैभन्दा ठूलो र साझा पर्व हो । वर्षभरिका दुःखकष्ट, संघर्ष र पीडालाई केही समयका लागि बिर्संदै एकआपसमा भेटघाट गर्ने, आशिर्वाद लिने–दिने, मेलमिलाप र सद्भाव फैलाउने अवसरका रुपमा यस पर्वलाई हामीले आत्मसात गर्दै आएका छौँ । तर, यसपाली देश आन्दोलनको घेराबन्दीमा छ । सडकदेखि बजारसम्म त्रास, असुरक्षा र अन्योलको वातावरणले नागरिकको दैनिकीलाई प्रभावित पारेको छ । यही कारणले दशैंको रौनक यस वर्ष थिलथिलो भएको यथार्थ हामी सबैको सामु छ ।
पर्व केवल रमाइलो वा उपभोगको साधन मात्र होइन । यो सामाजिक एकता, संस्कार र साझा चेतनाको प्रतीक हो । संघर्ष र आन्दोलनका कारण देश तनावग्रस्त भए पनि हामीले दशैंलाई आफ्नो सामूहिक पहिचान र आत्मबलको पर्वका रुपमा स्मरण गर्न आवश्यक छ । आन्दोलनका माग र आवाजहरु लोकतान्त्रिक अभ्यास हुन् । तर, त्यसले आम नागरिकको जीवन र सांस्कृतिक भावनालाई निल्न दिनु हुँदैन । दशैंमा टीका–जमरा मात्र होइन, एक आपसप्रतिको विश्वास, मेलमिलाप र सहानुभूति बाँडिन्छ । यसै अवसरलाई हामीले अन्योल र निराशाबाट माथि उठ्ने माध्यम बनाउन सक्नुपर्छ ।
यस वर्ष आर्थिक कठिनाई, सामाजिक अस्थिरता र आन्दोलनको प्रभावबीच हामीले सानो स्वरुपमा भए पनि दशैं मनाउनै पर्छ । किनभने, दशैं केवल उत्सव होइन, आशा र धैर्यको सन्देश पनि हो । हाम्रो साझा संस्कृतिले देखाएको बाटो यही हो, दुःख कष्टमाथि विजय र अन्धकारपछि उज्यालो आउँछ भन्ने विश्वास । अतः आन्दोलनका छायाँ माझ पनि हामीले परिवार, समाज र देशप्रतिको जिम्मेवारी सम्झेर दशैंलाई आत्मबल र सहकार्यको प्रतीक बनाउनुपर्छ । यही भावनाले देशलाई फेरि समृद्धि, शान्ति र एकताको बाटोमा अघि बढाउनेछ ।