कनकाई खबर / खाना पकाउने एलपी ग्याँसको अभाव देखिएसँगै झापाको कनकाई नगरपालिकाले स्थानीय स्तरका मुख्य बजार क्षेत्रमा -आज मंगलबार आकस्मिक अनुगमन गरेको छ ।
उपभोक्ताबाट कृत्रिम अभाव र कालोबजारी भएको गुनासो बढेपछि कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको नेतृत्वमा नगरका मुख्य बजार क्षेत्रमा रहेका ग्याँस डिपोहरूको आकस्मिक अनुगमन गरिएको हो । कनकाईको सुरुङ्गा बजार सहित तुलसीबारी, दुर्गापुर, लक्ष्मीपुर बजार क्षेत्रमा रहेका विभिन्न १३ वटा ग्याँस डिपोहरूमा अनुगमन गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसलमा खाली भइसकेका सिलिण्डर पाइएको बताउँदै न्यौपानेले विभिन्न पसलमा जम्मा १३ वटा मात्र भरिएको सिलिण्डर भेटिएको जानकारी दिए । पुरानै मुल्य अनुसार बजारमा आधा सिलिण्डरको बिक्रि वितरण सुरु भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउँछन् ।
अनुगमनका क्रममा ग्याँस सिलिन्डर लुकाएको वा बढी मूल्य लिएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले व्यवसायीहरुलाई सचेत गराए । ग्याँसको विकल्पका रूपमा विद्युत्को प्रयोग बढाउन आग्रह गर्दै ग्यास लैजाने उपभोक्ताको स्पष्ट विवरण राख्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न सुझाव दिए ।

कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको नेतृत्वमा रहेको आकस्मीक अनुगमनमा प्रशासन शाखा प्रमुख जमुना कटुवाल, शाखाका कर्मचारी अनुप रेग्मी, राजस्व शाखाकी कर्मचारी कमला बिक, बजार अनुगमन समितिका सदस्य सचिव हरिप्रसाद पौडेल, सदस्य उमानाथ ढकाल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गानाको नेतृत्वमा रहेको नेपाल प्रहरीको टोली, नगर प्रहरीको टोली, सञ्चारकर्मी लगायतको सक्रिय सहभागीता रहेको बताइएको छ ।
अनुगमनका क्रममा व्यवसायीहरुले भने सिलिण्डर ग्याँसको आयात कम भएकाले उपभोक्ताको माग धान्न कठिन भएको बताएका छन् । ग्याँसको अभाव हुने हल्लाका कारण उपभोक्ताले बढी भन्दा बढी ग्याँस खरिद गरेर सुरक्षित गर्न थालेका कारण बजारमा ग्याँस अभाव हुन थालेपछि पछिल्लो समय हाल आधा सिलिण्डर मात्र ग्याँस आउँन थालेको बताइएको छ ।
