Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भ्रष्टाचारको मुहान राजनीति ?
    विचार

    भ्रष्टाचारको मुहान राजनीति ?

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० भाद्र ९, शनिबार २०:२४ गते6 Mins Read
    commercial illustrator

    नेपाल अविकसित अवस्थामा रहनुको एक मुख्य कारण भ्रष्टाचार नै हो । आयात, निर्यात, सार्वजनिक सेवा प्रवाह, कर भुक्तानी, ठेक्कापट्टा लगायतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढी प्रश्रय पाएको देखिएको छ । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरूपयोग, अनुगमन र कारवाहीमा कमी, राजनीतिक भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या रहेको छ । भ्रष्टाचारमुक्त समाजका लागि विधिको शासन आवश्यक हुन्छ । सैद्धान्तिकरूपमा कानूनका लागि सबै समान भएको मानिए पनि भ्रष्टाचारकै कारण मुलुकमा अस्थिर राजनीति र वेरोजगारी समस्या बढेका हुन् । वास्तवमा व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गर्ने गराउने गम्भीर कार्य अपराध हो । भ्रष्टाचार समाजको रोग हो ।

    कतिपयले भ्रष्टाचारलाई क्यान्सर रोगसँग तुलना गरेका छन् । भ्रष्टाचार सरकारी संयन्त्रको धमिरा हो । सभ्य समाजको लागि प्रदूषण हो । यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ । यसले व्यक्तिलाई व्यक्तिवादी र स्वार्थी बनाउँछ । व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ । समाजमा अस्वस्थ प्रतिस्पर्धा र कु–संस्कारलाई बढवा दिन्छ । नेपालमा कमजोर सरकार भएकाले सु–शासन र भ्रष्टाचार नियन्त्रण हुन नसकेको हो । मुलुकमा न्यायको अवस्था, भ्रष्टाचार नियन्त्रण, सूचनामा पहुँच, समावेशी प्रतिनिधित्व र सहभागिता, शान्ति, सुरक्षा राजनीतिक स्थिरता आदि विकासका लागि महत्त्वपूर्ण मानिन्छन् ।

    सुशासनका लागि सरकार बलियो हुनुपर्छ भन्ने विश्वव्यापी अवधारणा हो । सरकारको रणनीतिक कार्यक्रम र जनतामा हुने विश्वास कमजोर भएमा संस्थागत भ्रष्टाचार हुन्छ । भ्रष्टाचार भनेको खराब मान्छेभन्दा पनि कमजोर प्रणालीको उत्पादन भएको धेरैको भनाइ छ । भ्रष्टाचार भएमा राज्यको सेवा प्रवाह कमजोर हुन्छ । सरकारको प्रभावकारिता बढी भएको ठाउँमा भ्रष्टाचार कम छ । जुन देशमा भ्रष्टाचारमा नियन्त्रण छ, त्यहाँ समानता देखिएको छ । भ्रष्टाचार नियन्त्रण भएमा बाहिरबाट लगानी पनि सजिलै आउने गरेको देखिन्छ ।

    सार्वजनिक जीवनमा रहँदाको अवस्थामा पाएका स–साना सुविधा पनि व्यक्तिगत जीवनमा उपभोग नगर्ने चाणक्य जस्ता विद्वानहरूको दर्शन र व्यवहारलाई आदर्श मान्ने हो भने मुलुक परिवर्तन हुन समय लाग्दैन । नेपालमा एकातर्फ भ्रष्टाचार नियन्त्रण सबै राजनीतिक दल, सरकार र अन्य जिम्मेवार सरोकारवाला सबैको साझा चिन्ता र सहमतिको विषय बनेको छ भने अर्कोतर्फ भ्रष्टाचार हुने प्रवृत्ति पनि मूल रूपमा राजनीतिक दल, सरकार र जिम्मेवार सरोकारवालाहरूमा नै रहेको अवस्था तथ्यहरूले देखाउँछन् । यस्तो विरोधाभास अवस्थामा हामी नेपाली बाँचिरहेका छौं । त्यसैले भ्रष्टाचार हुने कारणहरूको पहिचान गरी कारणमा नै समाधान खोज्नु नितान्त आवश्यक छ । भ्रष्टाचार कारण र समाधानका हिसाबले बहुआयामिक विषय हो । नेपाली समाज उपभोगवादी चिन्तनको शिकार भएको छ । छिट्टै र जसरी पनि धनी बन्ने चाहना मौलाएको छ । आर्थिक राष्ट्रवादको भावना शून्य प्रायः अवस्थामा छ ।

    आधारभूत आवश्यकता परिपूर्तिका लागि समेत धेरै पैसाको आवश्यकता पर्ने अवस्था छ । राज्यले नागरिकका आवश्यकतासँग जोडेर नागरिकलाई भविष्यप्रति सुनिश्चित गराउन सक्ने गरी सामाजिक सुरक्षाको प्रबन्धलाई व्यवस्थित गर्न सकेको छैन । आम नागरिकको आर्थिक गतिविधिलाई सरकारी निगरानी र नियन्त्रणमा राख्ने पद्धति र व्यवहारलाई संस्थागत गर्न सकिएको छैन । यिनै कारणले पनि भ्रष्टाचार गर्ने दर बढेको पाइन्छ । सामाजिक प्रतिष्ठालाई नैतिक सदाचारितासँग नभई सम्पत्तिसँग जोड्ने कारणले पनि भ्रष्टाचार बढ्दो छ ।

    राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने साहस, इच्छाशक्ति, प्रतिबद्धता र व्यावहारिक अवलम्बनसहितको इमान्दारिताको कमी छ । भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्था राजनीतिक हस्तक्षेपबाट आक्रान्त छन् । मुहान सफा भएमात्र तल जाने पानी सफा हुन्छ । त्यसैले राजनीतिक पद र जिम्मेवारीबाट गरिएका र गर्न नसकिएका कर्महरूले भ्रष्टाचार बढ्नुमा प्रधान भूमिका हुने गरेको छ । नेपालमा प्रशासनिक क्षेत्रमा नीति, विधि र प्रणालीबद्ध कार्यसंस्कारका आधारमा सम्पादन गर्न नखोज्ने विचौलिया र माफिया प्रवृत्ति हाबी छ । पारदर्शिता, उत्तरदायित्व र जवाफदेहीताको अवस्था दयनीय रहेकाले भ्रष्टाचार मौलाउँदो छ ।

    देशमा अहिले भ्रष्टाचारको लेनदेनमा घुस लिने र दिने दुबै पक्ष सक्रिय भएको देखिन्छन् । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले नेपाली समाज आक्रान्त बन्दै गएको छ । प्रशासनिक क्षेत्रमा भ्रष्टाचार मौलाउनुको मुख्यकारण यसभित्र आर्थिक अनुशासन लोप हुँदै जानु हो । वर्तमान समयमा ठूला भ्रष्टाचारी पत्ता नलाग्ने, पत्ता लागिहाले पनि तिनले शक्ति केन्द्र र राजनीतिक संरक्षण प्राप्त गर्ने समस्या छ । अपवादमा समातिएका केही ठूला भ्रष्टाचारीले दण्ड जरिवाना तुरुन्त तिर्ने, जेल नेलको समय भुक्तान गरेपछि सय केजीका माला लगाई बाजा बजाएर घर फर्कने गरेबाट पनि भ्रष्टाचार बढेको हो । स–साना भ्रष्टाचारीलाई पक्रेर ठूलै काम गरेको भनी सञ्चार क्षेत्रमा प्रचार गरिन्छ । भ्रष्टाचारले संस्थागत रूपधारण गरेमा त्यसले देशलाई नै धरापमा पार्ने निश्चित छ । नेताहरुकै कारण भ्रष्टाचार मौलाएको सबैको भनाइ छ ।

    नेपालले भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएकोमा सबैको साझा निष्कर्ष छ । देशमा सुशासन हुन्छ भन्ने आशामा जनताले दल र नेताहरूलाई दुई तिहाई मत दिएर ठूलो आशा गरे पनि नेता र सरकारले सोही अनुसार जनताको भावनालाई समेटेर विकास–निर्माणको काम नगरेकोमा जनताको नेतृत्वप्रति चरम अविश्वास र आक्रोश छ । भ्रष्टाचारको मूल कहाँ छ भन्ने प्रश्न धेरै अप्ठेरो र बहुपक्षीय छ । समयमै भ्रष्टाचारको रोकथाम नगरे यसले राष्ट्रको समृद्धि र उन्नतिमा अवरोध सृजना गर्छ । हाम्रो देशमा भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय लगायतको व्यवस्था गरिएको छ । संस्थागत÷कानूनी प्रावधानका बाबजुद देशमा भ्रष्टाचारमा कमी भएको छैन ।

    भ्रष्टाचार बढ्नुमा सबैभन्दा प्रमुख कारण राजनीतिक संरक्षणलाई मानिन्छ । दलहरूको सञ्चालन खर्चको अध्ययन गर्दा भयावह अवस्था बोध हुन्छ । चुनावमा उद्योगपति, व्यापारी र भ्रष्ट कर्मचारीबाट पैसा लिने र चुनावपछि खुलमखुला भ्रष्टाचारका लागि आँखा चिम्लने परिपाटी व्याप्त छ । कतिपय ठूला राजनीतिक पार्टीहरूले नै परोक्ष रूपमा देशमा सञ्चालित विभिन्न ठूला परियोजनाको ठेक्कापट्टामा कमिशन लिने, लागत बढाउने, ठेक्का समयमा पूरा नगर्ने आदि गरेको अवस्था अब गोप्य छैन । यस्ता गतिविधिले देशमा भ्रष्टाचार मौलाउदै गएको पाइन्छ । देखासिकीको जीवनशैलीको कारण आम संस्कृतिको रुपमा भ्रष्टाचार बढ्दो छ । परिवारले समेत भ्रष्टाचार गरी कमाउने श्रीमती, श्रीमान् र छोराछोरीको प्रशंसा गर्ने र नगर्नेलाई दुत्कार्ने गरेको पाइन्छ । यसले भ्रष्टाचारलाई बढावा दिइरहेको छ ।

    जसरी भ्रष्टाचारको स्रोत बहुआयामिक छ, त्यसरी नै समाधानका लागि पनि बहुपक्षीय र दीर्घकालीन प्रबन्ध आवश्यक हुन्छ । भ्रष्टाचारलाई बढाउने आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, कानुनी, संस्थागत, मनोवैज्ञानिक तथा प्रविधिगत पक्षमा रहेका कमी–कमजोरीहरूलाई पर्गेल्ने र सोही अनुरूप व्यक्ति केन्द्रित नभई पद्धति केन्द्रित नीति, विधि र प्रक्रिया तय हुन आवश्यक छ । भ्रष्टाचार कहाँकहाँ हुन्छ ? राजश्व उठाउने ठाउँमा, खर्च गर्ने ठाउँमा, सेवा प्रवाह गर्ने ठाउँमा, सेवाग्राहीहरू बढी हुने ठाउँमा, नीति–निर्माण गर्ने ठाउँमा । भ्रष्टाचार हुनाका कारणहरूमा ऐन–नियमको पालना सही ढंगबाट नगरी लेखा राख्नु, स्थलगत लेखापरीक्षण गर्दा लेखामा भिडाउनुपर्ने आर्थिक कारोबारको कागजात विवरण लेखापरीक्षकलाई उपलब्ध नगराउनु ।

    ऐन–नियमभन्दा माथि उठेर लिखित आदेशभन्दा मौखिक आदेशको आधारमा खर्च लेख्नु, कानूनले तोकेको प्रक्रिया र परिधिभन्दा बाहिर गएर निर्णय गर्नु, ठूला–ठूला आयोजनामा आर्थिक कारोबार कानून मान्ने मान्छेभन्दा सरकारले आफ्नो मान्छे पठाउनु । आर्थिक कारोबार गर्दा रिझाउने र रिझाउने मनसायले खर्च गर्नु, दण्ड र पुरस्कारको वित्तीय प्रशासनमा विद्यमान नहुनु, कार्यालय प्रमुखले आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण जिम्मेवारी लेखा कर्मचारीलाई पन्छाउनु आदि हुन् । बढ्दो सामाजिक विकृति, खुकुला, ऐन कानूनहरू, दृढतापूर्वक ऐन–कानूनहरूको कार्यान्वयन हुने वातावरणको कमी, दण्डसजाय व्यवस्थाको अभाव पनि भ्रष्टाचार बढ्ने कारण हुन् । यसका साथसाथै जीवनयापन गर्न पनि नपुग्नेखालको मासिक पारिश्रमिक, विकसित देशका नागरिकले उपभोग गरेको अत्यधुनिक जीवनशैलीको अन्धानुकरण गर्न खोज्ने बढ्दो प्रवृत्ति र आयको वैधताबारे सरकारी प्रमाणीकरणको अनावश्यकता जस्ता पक्षहरू पनि भ्रष्टाचार बढ्ने कारण हुन् ।

    पैसाको महिमा नेपालमा अपरम्पार छ । जतिसुकै घुस्याहा भए पनि प्रशस्ती लेख्ने वा चाकडीमा झुम्ने प्रवृत्ति त्याज्य छ । राज्यलाई ठगेर, अरूलाई दुःख दिएर, झुक्याएर, मारेर पैसा कमाउँदा आफूले गलत गर्दैछु भन्ने बुझ्नुपर्छ । नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुन अनिवार्य छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई थप सशक्त, सक्षम र भरपर्दो बनाउन आवश्यक छ । नोकरशाहीतन्त्रको जालोमा राजनीतिक क्षेत्र फँस्नु मुलुकुका लागि अति ठूलो दुर्गती हो, तसर्थ यो परिपाटीको शीघ्र अन्त्य हुनु जरुरी छ । भ्रष्टाचारको मुहान सफा गरिए राज्यका सबै शाखा, उपशाखा, प्रशाखा सबै संग्लिँदै जाने निश्चित छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते

    दशैं विशेष सम्पादकीय… निराशाबाट माथि उठेर दशैं मनाऔं

    २०८२ आश्विन १३, सोमबार ०७:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.