कनकाई खबरको खोजमूलक समाचारपछि नगरपालिकाको निर्णायक कदम
कनकाई खबर / झापाको कनकाई–३ सुरुङ्गा बजारस्थित सात कोठे कृषिको सरकारी भवन लामो समयदेखि प्रयोगबिहीन रहँदा जीर्ण अवस्थामा पुगेको थियो।
संरक्षणको अभावले यो भवन दुर्व्यसनीहरुको सुरक्षित स्थल बनेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । कनकाई खबरले केही दिन अघि मात्र यस विषयमा स्थलगत रिपोर्टिङ गर्दै – कनकाईमा दुर्व्यसनीको अखडा बन्यो, कृषिको सात कोठे सरकारी भवन शीर्षकमा खोजमूलक समाचार प्रकाशित गरेपछि नगरपालिकाको तत्काल ध्यानाकर्षण भएको हो ।
समाचार सार्वजनिक भएपछि चैत २७ गते बसेको कनकाई नगरपालिकाको कार्यपालिका बैठकले वडा नं.३ को वडा कार्यालय निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको बताइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार तत्कालीन जिल्ला कृषि विकास कार्यालय भद्रपुरको २०७५।०१।२५ को च.न. ९०४ को पत्रानुसार हस्तान्तरण भई आएको पाँच कठ्ठा जग्गामा वडा कार्यालयको भवन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । यो भवन विगतमा कृषि विकास शाखा कार्यालयका रूपमा प्रयोग भए पनि समायोजनपछि नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
स्थानीयवासीका अनुसार भवन वरिपरी घेराबाराको अभावले रातसाँझ विभिन्न गतिविधि हुने गरेको र यसले बजार क्षेत्रको सामाजिक वातावरणमा नकारात्मक असर पारेको छ। बहुमूल्य जमिनमा बनेको सरकारी भवन जीर्ण हुँदै जाँदा राज्यको सम्पत्ति मात्र होइन, कृषकका लागि आवश्यक सेवा समेत ओझेलमा परेको स्थानीयबासी बताउँछन् ।
राज्यको सम्पत्ति संरक्षण र सम्बद्र्धनको जिम्मेवारी राज्यकै भएकाले यसलाई प्राथमिकतामा राखेर प्रयोगमा ल्याउनुपर्ने माग स्थानीयवासीले गर्दै आएका थिए। नगरपालिकाले अब यसलाई वडा कार्यालयका रूपमा व्यवस्थित गर्ने निर्णयले वडावासीलाई सहज सेवा प्राप्त हुने विश्वास गरिएको छ।
कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँले ढिलै भए पनि नगरपालिकाबाट भएको निर्णय स्वागतयोग्य रहेको बताए। उनका अनुसार यसले वडावासीलाई दीगो व्यवस्थापनसहित सेवा प्रवाहमा सहजता ल्याउनेछ ।
स्थानीय कनकाई माविको जमिनमा लामो समयदेखि सञ्चालनमा रहेको वडा कार्यालय अब नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको जमिनमा व्यवस्थित हुने भएको छ। प्रारम्भिक चरणमा सुरुङ्गा पञ्चायत, त्यसपछि गाविस हुँदै नगरपालिका बनेपछि वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको बताइएको छ । अब नयाँ भवन निर्माणसँगै वडा कार्यालय दीगो व्यवस्थापनमा पुग्ने ठहर गरिएको छ।
नगर क्षेत्रकै राजधानी मानिने सुरुङ्गा बजारमा रहेको यो भवन पुनःनिर्माण गरी प्रयोगमा आउन सकेमा यस भवनसँगै रहेको कृषकका लागि अत्यन्तै महत्वपूर्ण मानिएको माटो तथा मल परीक्षण प्रयोगशालाले समेत पुनःजीवन पाउने अपेक्षा गरिएको छ। यसले कृषकलाई वैज्ञानिक आधारमा खेती गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।
स्थानीय समाजका अगुवाहरुले पनि नगरपालिकाको निर्णयलाई सकारात्मक रुपमा लिएका छन्। उनीहरुको भनाइमा, राज्यको सम्पत्ति प्रयोगबिहीन रहनु भनेको जनताको करको दुरुपयोग हो। अब यसलाई पुनःजीवन दिनु भनेको जनताको करको उचित सदुपयोग हुने बताइएको छ ।
नगरपालिकाले यस भवनलाई पुनःनिर्माण गरी वडा कार्यालयका रूपमा प्रयोगमा ल्याउने निर्णयले प्रशासनिक सेवा मात्र होइन, सामाजिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले दुर्व्यसनीहरुको अखडा बनेको स्थानलाई सामाजिक सेवाको केन्द्रमा रूपान्तरण गर्ने बताइएको छ ।
