कनकाई खबर \ झापाको कनकाई–८ निवासी साफ च्याम्पीयनमा प्रथम भएकी महिला फुटबल खेलाडी १५ वर्षिया सिम्रन राई सम्मानित भएकी छन् ।

कनकाई नगर खेलकुद विकास समितीले एक विशेष कार्यक्रमका विच महिला फुटबल खेलाडी राईलाई खेल सामाग्री, सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरेको हो । सिम्रनले १५ वर्ष उमेर समूहको साफ च्याम्पीयनमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित हुन सफल भएकोमा खुशी व्यक्त गर्दै कनकाई नगरपालिकाका प्रमुख रोजेन्द्रकुमार पोखरेल, कनकाई–४ का वडाअध्यक्ष रोशन सुवेदी, कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिना लगायतले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन् । कनकाई भेट्रान क्लवले आयोजना गरेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता समापनका अवसरमा फुटबल खेलाडी राईलाई सम्मान गरीएको हो । उनलाई कनकाई भेट्रान क्लवका तर्फबाट समेत अध्यक्ष श्यामकुमार राई, संस्थापक अध्यक्ष राजेन्द्रकुमार खतिवडा लगायतले सम्मान पत्रबाट सम्मान गरेका छन् ।
बुबा काजीमान र आमा सरस्वती राईकी छोरी सिम्रनले १० वर्षकै कलिलो उमेरदेखि महिला फुटबलका क्षेत्रमा प्रवेश गरी फुटबलका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएकी थिइन् । यस विचमा भएका विभिन्न गोल्डकपहरुमा विजय प्राप्त गर्दै आएकी सिम्रनले प्रदेश १ स्तरीय फुटबल प्रतियोगितामा चारवटा गोल्ड मेडल हात पार्न सफल भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना बताउँछन् ।
खेल क्षेत्रबाट प्राप्त गरेको सफलताको उच्च मुल्यांकन गर्दै खेल जीवनमा थप प्रोत्साहन मिलोस् भन्ने उद्येश्यका साथ निरन्तर प्रगतिको कामना गर्दै महिला फुटबल खेलाडी राईलाई सम्मान गरिएको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए ।
फुटबल खेलाडी राईलाई सुरुङ्गा निवासी हाल अष्ट्रेलियामा रहेका दुर्गा उप्रेतीले समेत आफ्ना छोराछोरी रिवाज र रिसा उप्रेती मार्फत सम्मान स्वरुप नगद १५ हजार प्रदान गरेका छन् । वैदेशिक रोजगारका क्रममा अष्ट्रेलियामा रहेपनि आफ्नो क्षेत्रका बारेमा सधैं चिन्तन र चासो राख्दै आएका उप्रेतीले महिला फुटबल खेलाडी राईको निरन्तर खेल जीवनको सफलताको कामना गर्दै उनलाई हौसला प्रदान गरेको बताएका छन् ।
