Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”
    कनकाई नगरपालिका

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    कनकाई खबरBy कनकाई खबर२०८३ मंसिर १, सोमबार १२:१३ गते8 Mins Read

    भनिन्छ साहसी र कायरहरूमा एउटै कुराको अन्तर हुन्छ । त्यो हो“कायरहरू कमजोरी खोज्छन् भने साहसीहरू कमजोरीभित्र साहसै खोज्छन्। त्यसैले त दृश्य वा वस्तु एकै भएपनि भोक्ताका अनुभवहरूमा ती फरक हुन सक्छन्।”

    मैले आफूले विद्वान् ठानेको एकजना मित्रले मलाई भनेका थिए “धन्न भगवान् बुद्ध २५०० वर्ष पहिले जन्मिएछन्। उनी त्यतिअघि नजन्मेको भए सायद उनी आज नजन्मँदा पनि हुन्थ्यो।” सुन्दा सामान्य लाग्ने तर यो उनको अत्यन्तै गहन अभिव्यक्तिले आजको हाम्रो समाजको समग्र परिदृश्यलाई चर्म चक्षुले भन्दा विचारको चक्षुले निकै गहिरो गरी विश्लेषण गरेको र गर्ने अनुभूति मैले गरेको थिएँ। आज मलाई पनि लाग्न थालेको छ हाम्रो समाजमा वास्तवमै असङ्ख्य बुद्ध जन्मिएका रहेछन्। यन्त्ररूपी बुद्धहरूले यति धेरै विचाररुपी कल्पवृक्ष ठानिएका विष वृक्षहरू रोपिरहेका छन् जसले दिने फल कस्तो आउँछ त्यो वर्तमानको गर्भले भन्दा भविष्यको गर्भबाट जन्मने प्रत्येक सन्तानहरूले त्यसको सास्ति भोग्नै पर्ला। त्यो कति खतरनाक र घातक हुन्छ आज यसलाई म मेरो व्यक्तिगत हैसियतबाट आँकलन गर्न सक्ने ठाउँमा अवश्य छैन। यो मेरो नितान्त व्यक्तिगत धारणा हो , यहाँ मेरो विचार कसैसँग मिल्छ वा मिल्नुपर्छ भन्ने कुराको लेखाजोखा गरिरहन आवश्यक ठान्दिनँ। खासमा मेरो असन्तुष्टि यति नै हो त्यो के हो भने विचार मर्नु भनेको इतिहास मर्नु हो। इतिहास मर्नु भनेकै देशसँगै सिङ्गै भविष्यका पुस्ता मर्नु हो। हुनसक्छ इतिहास जोगाउन आफ्नो तत्परतामा कति पनि आलस्यता नथपी अहोरात्र खटिएर एक विद्वान व्यक्तित्वको विद्वतालाई सदा कालजयी बनाउन अहोरात्र खटिएका स्रष्टा हुन् हिम्मतबहादुर लिम्बू अर्थात् प्रचलित नाम हिम्मत नेम्वाङ । हिम्मत नेम्वाङ एक बहुआयामिक व्यक्तित्व हुन्। उनी चित्रकार व्यक्तित्व हुन्, मूर्तिकार व्यक्तित्व हुन्। कवि व्यक्तित्व हुन् ,अनुसन्धानकर्ता हुन् भने अब उनको थप एक अर्को नयाँ परिचय भनेकै जीवनी व्यक्तित्वकारसमेत हुन्। यसरी साहित्यकार, मूर्तिकार एवम् कलाकारितालाई कुची, कलम र छिनोले रङ्ग्याउन सक्ने हिम्मत भएका नेम्वाङ वास्तवमै साधारण स्वभाव भएका असाधारण व्यक्तित्व हुन्। लिम्बुवान आमा रोइरहेकी छिन् कवितासंग्रहः २०६२ कला परिचर्चा ९खोजमूलक २०६४० विद्वान् रन्धोज नेम्वाङ रङसाङः २०८० लगायत कृतिहरू प्रकाशित गरिसक्नुभएका नेङवाङका थुप्रै फुटकर कविता एवं लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने केही टिप्पणीपरक लेखहरू पनि प्रकाशित नभएका होइनन् तथापि उहाँ आफूलाई चाहिँ आफूलाई ललितकलाकारका रूपमा चिनाउनुहुन्छ। जसले जसरी चिनेपनि मूलतस् उहाँ कुची कलम र छिनोको पर्याय हो भन्दा अन्यथा हुँदैन। प्रस्तुत सन्दर्भमा यिनै हिम्मत नेमवाङद्वारा लेखिएको “मुन्धुम तथा किराँत ज्योतिषशास्त्रका प्रतिपादक विद्वान रन्धोज नेङवाङ रङसाङ” नामक जीवनीलाई सामान्य टिप्पणी गरिनु यस लेखको मूल सन्दर्भ हुनेछ।

    विषय प्रवेश :

    “ विद्वान रन्धोज नेम्वाङ९रङसाङ०” पुस्तकाकारका दृष्टिले जीवनीपरक ग्रन्थ भएपनि मूलतः यस ग्रन्थले विद्वान् रन्धोज नेम्वाङका विभिन्न व्यक्तित्वपरक वैशिष्टलाई साङ्गो पाङ्गरुपमा चित्रण गर्ने प्रयास गरेको छ। जीवनीकारले जीवनीका नायक नेम्वाङलाई १५ उपशीर्षकमा व्याख्यान गरिदिएका कारण हरेक पाठकहरूका लागि कृतिको अध्ययन अत्यन्तै सरल, सहज, बोधगम्य एवं सुस्वादुरुपले पाठ्यसामग्रीका रूपमा प्रस्तुत छ जसका कारण हरेक पाठकहरूले समयको पारबन्दीलाई ध्यानमा राखेर पनि कृतिको पूर्ण अध्ययन गर्दा कुनै जटिलता उत्पन्न हुने स्थिति देखा पर्दैन।

    लेखक नेम्वाङ आफ्नो जाति र स्वयं भाषाप्रतिको एक अनुसन्धानदाता समेत भएका कारण उहाँले जीवनीकार व्यक्तित्व रोज्दा समेत जाति, भाषा, सभ्यता, संस्कृति, लिपि, दर्शन ,ज्योतिषशास्त्रका प्रतिपादक रन्धोजलाई पूर्ण व्यक्तित्वका रूपमा चित्रण गर्ने हिम्मत राखेको हुन सक्छ। कुनै पनि व्यक्तिको व्यक्तित्व सम्बन्धी जीवनी तयार पार्नु कुनै चानचुने कार्य हुँदै होइन। त्यसका लागि लाग्ने समय, पूर्व ज्ञान , जीवनीकार व्यक्तित्वसँग लेखकको अन्तर स्वामित्व एवं वैचारिक तादात्मयता , जस्ता कुराहरू पूर्व प्राथमिकताका विषय हुन आउँछन् भने श्रम र मेहनत कति हुन्छ त्यो त स्वयं लेखकलाई नै थाहा होला। तथापि म एउटा टिप्पणीकार व्यक्तिको हैसियतले भन्दा यो कार्य मेरा लागि कुनै पर्वत लङ्घन गर्नुभन्दा निश्चितै कठिन कार्य हो । तसर्थ दुवै नेम्वाङ स्तूत्य छन्, पूज्य छन् अनि दूरदर्शी पनि। यहाँ प्रस्तुत कृतिभित्रका १५ उपशीर्षकहरूका विभिन्न प्रसङ्गहरूलाई सामान्य रूपमा चियाउने प्रयास गरिएको छ।


    क) पहिलो उपशीर्षकमा लेखक नेम्वाङले रन्धोजको जन्म, बाल्यावस्था ,युवा अवस्था, विवाह तथा सन्तानका बारेमा गहिरो अध्ययन गरेको देख्न सकिन्छ। विक्रम सम्वत १९७४ पौष १९ गते पहिलो सन्तानका रूपमा जन्मिएका रन्धोजको बाल्यकाल सुखद बितेको, युवा अवस्थासमेत निरन्तर साधनामा क्रियाशील भई सुन्दर रेखाचित्रहरू शिला तथा काष्ठकर्मी भई मूर्तिहरू बनाएको प्रसङ्गलाई युवा अवस्थाको सन्दर्भमा चित्रण गरिएको छ भने विवाह तथा सन्तानको सन्दर्भमा लेखकले दुईवटी श्रीमतीको उल्लेख गरी नौँ सन्तान रहेको भन्ने कुरालाई इतिहासको साक्ष्य मानेको देख्न सकिन्छ।

    ख) दोस्रो उपशीर्षक अन्तर्गत लेखकले विद्वान रन्धोजको शैक्षिक पक्षको चित्रण गर्नुभएको छ। जसमा रन्धोजले गरेका विभिन्न महत्वपूर्ण कार्यहरूअन्तर्गत विद्यालयको स्थापना, विद्यालयको स्वीकृति, भाषा, लिपि अनि त्यसको प्रचारप्रसार तथा भाषालिपि सम्बन्धी प्रशिक्षणका कुराहरुलाई मूल विषयका रूपमा यस उपशीर्षकमा लेखकले चित्रण गरेको देख्न सकिन्छ।


    ग) तेस्रो उपशीर्षकमा रन्धोजका धार्मिक पक्षहरू अन्तर्गत किराँत धर्म शब्दी प्रवेश तथा गुरुको निकट चेला र शिक्षाजस्ता कुराहरू मूल विषयका रुपमा आएका छन् भने “कलिलो रन्धोजलाई महागुरु फाल्गुनन्दले अति कठिन परीक्षा लिए जसले गर्दा काँचो माटोलाई मूर्तिकारको सिपले आफ्नो इच्छा अनुसारको राम्रो मूर्ति रचना गरे सरह भयो” भन्ने लेखकको मूल विचार समेत यसै उपशीर्षकमा रहेको पाइन्छ।

    घ) चौथो उपशीर्षकअन्तर्गत लेखकले रन्धोजका पुस्तकहरू प्रकाशन, वेद अथवा मुन्धुमको निर्माण, शब्दकोषकार व्यक्तित्व ,कृतिहरूको अवस्था आदिको चित्रणमा लेखनीलाई अगाडि बढाउनुभएको देख्न सकिन्छ। यस उपशीर्षकमा रन्धोजलाई दूरदर्शी सोचका चिन्तक एवं तत्कालीन अवस्थामा अशिक्षाको अन्धकारमा डुबेको सिङ्गो लिम्बुवान समाजलाई शिक्षाको लक्ष्य प्राप्तिको प्रदीप्त व्यक्तिका रूपमा स्थापित गराइएको छ।

     ङ) पाँचौं उपशीर्षक अन्तर्गत रन्धोजका आध्यात्मिक पक्षहरूको बारेमा चित्रण गरिएको छ भने छैठौँ एवं सातौँ उपशीर्षकमा रन्धोजका सामाजिक, सांस्कृतिक पक्ष तथा ऐतिहासिक पक्षका बारेमा लेखकले कलम चलाउनुभएको देख्न सकिन्छ।

    च) रन्धोजका बहुआयमिक व्यक्तित्वअन्तर्गतका आठौँ उपशीर्षकमा चित्रकला, काष्ठकला ,मूर्तिकला एवं शिलालेखनका बारेमा चर्चा गरिएको छ भने नवौँ उपशीर्षक अन्तर्गत गुरुका मौखिक मुन्दुमहरूको अक्षरशः पालन तथा पुस्तक र वेदहरूका विषयमा चर्चा गरिएको छ। रन्धोज नेङवाङद्वारा सम्पादन गरिएका हस्तलिखित मुन्धुमहरू नै सत्यहाङमा पन्थ किराँत धर्मावलम्बीहरूले चलाउँदै र लिपिबद्ध गर्दै आएको किराँत याक्थुम मुन्धुम हो भन्ने कुरालाई गुरुका मौखिक मुन्दुमहरू अक्षरशः उपशीर्षकमा लेखिएको छ।

      छ)   दशौँ उपशीर्षकमा ज्योतिषशास्त्रको श्री गणेश, ,ज्योतिष कुण्डलीबाट स्वयंको मृत्यु घोषणा, ज्योतिषशास्त्रको प्रचार र अध्ययन स्थलका विषयमा वर्णन गरिएको  छ। स्वयम् मृत्युको घोषणा उपशीर्षकको रोचक प्रसङ्ग त के छ भने रन्धोजले आफ्नो आयु मात्र ४० वर्ष रहेको तर मैले तागेरा माङलाई २० वर्ष थप आयु मागेर जम्मा ६० वर्ष बनाएको छु। भन्ने अभिव्यक्तिले रन्धोजमा रहेको दैवी एवं चामत्कारिक शक्तिलाई सहजै अध्ययन गर्न सकिन्छ।

    ज) प्रस्तुत जीवनीको एघारौँ उपशीर्षक अन्तर्गतलाई प्रशासन पक्षका रूपमा चित्रण गर्दै १२ औँ उपशीर्षक अन्तर्गत राष्ट्रिय पक्ष दस्तावेजीकरणका रूपमा लेखकले प्रस्तुत गरेको पाइन्छ। विद्वान रन्धोज नेङबाङका हस्तलिखित दस्तावेज र टेप वार्ता रेकर्ड बेलायतका लाइब्रेरीहरूमा समेत संरक्षित रहेको कुरा तेह्रौँ अन्तर्राष्ट्रिय पक्ष दस्तावेजीकरण उपशीर्षकअन्तर्गत लेखकद्वारा प्रस्तुत गरिनुले रन्धोज राष्ट्रिय व्यक्तित्व मात्र नभई अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा समेत विद्वानका रूपमा स्थापित व्यक्ति हुन् भन्ने तथ्यलाई स्वीकार्नु सान्दर्भिक हुन्छ।

    झ) १४औं उपशीर्षक अन्तर्गत रन्धोज बिरामी हुनुका कारण, निधनको कारण, मलामी भेला र समाधि अन्त्येष्टि जस्ता कुराहरुलाई लेखकले अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरेको पाइन्छ। 
    
       आफ्नो जाति, भाषा, सभ्यता र संस्कृतिका लागि मात्र नभएर समग्र नेपालीहरूको स्वतन्त्रताको आवाजका रूपमा संवाहक बनी कुसंस्कार र कुरीतिलाई रुपान्तरणका माध्यमबाट समाजमा बलियो जगको दियो बाल्न सकिन्छ भन्ने मूल मान्यता राख्ने रन्धोज वास्तवमै विसङ्गत परम्पराको जग हल्लाउन सक्ने एक साधक थिए। २०१७ सालमा राजा महेन्द्रले दलीय संसदीय व्यवस्था हटाएर निर्दलीय पञ्चायती व्यवस्था लादेपछि लिम्बू भाषा अनि लिपिमा लगाइएको प्रतिबन्धबाट  केही समय  विक्षिप्त भएपनि आफूभित्र रहेको शिक्षाको उज्यालोलाई जनजन पुर्‍याउने कर्मठ अभिलाषा कति पनि उनमा नमरेको देख्न सकिन्छ। तथापि आफैँले घोषणा गरेको मृत्युको समयभन्दा तीन वर्ष ,११ महिना ,दुई दिन बढी बाँच्न सफल भई विसं २०१८ मङ्सिर २१ गते हरिबोधिनी एकादशीको पवित्र दिनमा ४३ वर्ष ११ महिना दुई दिनसम्म बाँची यो धराबाट उहाँको भौतिक शरीर सदाका लागि अस्ताएको पाइन्छ।

    ञ) १५औं विविध पक्ष नामक उपशीर्षकमा लेखकले रन्धोज नेम्वाङलाई थप समयसम्म कालजयी बनाउने विभिन्न प्रामाणिक तथ्यहरुलाई उजागर गर्नुभएको छ। उहाँलाई सम्झिरहने र उहाँका नाममा स्थापना भएका विभिन्न संघसंस्थाहरूको नाम लेखकले प्रस्तुत गर्नुभएको छ भने उहाँका स्मृतिमा निर्माण गरिएका शालिक र स्थानहरूको तथ्य समेत यस उपशीर्षकमा भेट्न सकिन्छ। इलाम ,पाँचथर, सुरुङ्गा झापा अनि दुम्से दमक लगायतका स्थानमा रन्धोजका सालिकहरू निर्माण भएका छन् भने उनले मरणोपरान्त विभिन्न सम्मान वा पदवीबाट समेत सम्मानित हुने सु अवसर समेत प्राप्त गरेको तथ्य पुस्तकको अध्ययनबाट प्राप्त हुन्छ। १५औं उपशीर्षक अन्तर्गतको पुस्ता परिचयमा लेखक हिम्मतले रन्धोजलाई ४५ औँ पुस्तामा जन्मिएका व्यक्तित्वका रूपमा चिनाएको देख्न सकिन्छ।

    उपसंहार :

    विद्वान रन्धोज नेम्वाङ९ रङसाङ० नामक जीवनी वास्तवमै जीवनीपरक पुस्तकको एउटा ऐतिहासिक दस्तावेजका रूपमा स्थापित ग्रन्थ हो। जीवनी भन्नु नै कुनै पनि व्यक्तिको जीवनान्त आद्योपान्तको कथास्थिति हो। जसमा जीवनी( नायकका सीमा र प्राप्तिहरूलाई समान रूपमा स्थान दिइएको हुन्छ। यहाँ लेखक नेम्वाङ आफ्नो लेखकीय धर्मबाट कति पनि विचलित हुनुहुन्न किनकि यस जीवनीपरक ग्रन्थमा लेखकले जीवनीमा हुनुपर्ने समग्र विषयलाई विभिन्न कोणबाट समेट्न प्रयास गरेकै देखिन्छ। जीवनी नायकको स्वर्गारोहण भइसकेका कारण कतिपय स्वयं उहाँकै कथ्य वा तथ्यहरूलाई लेखकले समेट्न नसकेको पनि हुनसक्छ तथापि प्राप्त स्रोत र सन्दर्भबाट लेखकले जीवनीलाई पूर्णता दिएकै देखिन्छ। पुस्तकभित्र विभिन्न चित्रहरू समावेश गरिनु, लिम्बुवान लिपिहरूलाई राखिनु, सन्दर्भ सामग्रीहरूको प्रयोग गरिनु, काठको फल्याटोमा खिपिएको छिपागोटी नेपाली कागजमा छपाउनका लागि तयार पारिएको नाग निशान छाप जस्ता तस्बिरहरू राखिनु अनि हस्तलिखित पुस्तक मुन्धुम खाइक राखिनुले पुस्तक सुन्दर, आकर्षक एवं पाठ्यमात्र बनेको छैन हिम्मतले गरेको हिम्मत अत्यन्तै स्वागतयोग्य समेत बनेको छ। सुनिता कुमाल प्रकाशक रहेको पुस्तक बुद्ध अफसेट प्रेस बिर्तामोडले मुद्रण गरेको छ भने यसको लेआउट डिजाइन कमला भट्टराई पराजुलीले गर्नुभएको छ। स्वयं लेखक हिम्मत आफै चित्रकार भएका कारण बाह्य कलेवर अत्यन्तै आकर्षक बनेको छ भने पुस्तकमा प्रयोग भएको श्वेत कागज मोटो हुँदा अक्षरहरू समेत आकर्षक बनेका छन्। लेखकलाई पुनः साधुवाद, आगामी पुस्तक प्रकाशनको प्रतीक्षा सहित।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.