सूर्यप्रसाद अधिकारी,
१.परिचय
महाभारत विश्वको सबैभन्दा बृहद् र सबैभन्दा गहन महाकाव्यमध्ये एक हो, जसको रचना महर्षि वेदव्यासले गरेको मानिन्छ। यस बृहद् महाकाव्यमा एक लाख भन्दा बढी श्लोकहरू रहेका छन् भने यो भीमकाय महाकाव्य अठार वटा प्रमुख पर्वहरूमा विभाजित छ। थुप्रै उपकथा एवं उपआख्यानहरूको स्रोत रहेको यो महाकाव्य पूर्वीय संस्कृत महाकाव्य परम्परामा अहम स्थान राख्न सक्ने संसारकै बढी अध्ययनशील खोज गरिएको एवं स्तुतीय ग्रन्थका लागि समेत सुपरिचित रहेको छ। यो ग्रन्थ केवल कौरव र पाण्डवबीचको युद्धजन्य कथा मात्र होइन, यसले ब्रह्माण्डलाई धर्म, अधर्म, कर्तव्य, न्याय, मानवीय सम्बन्ध र जीवनका गहन प्रश्नहरूको दार्शनिक विवेचना समेत गरिदिएको छ। यहाँका पात्रहरू समग्र मानव जीवनलाई कर्तव्य, अकर्तव्य बोधमा आफूलाई सही रूपले छान्न नसक्दा त्यसबाट उत्पन्न हुने भयावह नियतिको परिबन्धमा कसरी फस्न सक्दछन् भन्ने सन्देश दिन उद्धत छन् भने जीवन जगतको सार तत्त्व बुझ्न र बुझाउनमा नै बढी केन्द्रित रहेको देख्न सकिन्छ। यसै महाभारत नामक ग्रन्थको मूल कथालाई सार तत्त्वका रूपमा खिच्दै महाकाव्यकी प्रमुख पात्र द्रौपदी अथवा सत्ययुगमा दक्षकी छोरी भएर केतकीका रूपमा तपस्विनी भएकी अनि त्रेतामा काशी राजा र ब्रह्मपुत्री बियोगिनी बन्दै द्वापरमा यज्ञबाट जन्म लिई श्री द्रौपदीको नामले परिचित भएकी महाभारतका लेखक व्यासकी अत्यन्तै प्रिय पात्रसमेत बनेकी द्रौपदी नै केतकी महाकाव्यकी प्रमुख पात्रको रूपमा रहेकी छन्। यिनै केतकी वा द्रौपदी, पान्चाल नरेशकी छोरी का रूपमा रहँदा पाञ्चाली , यज्ञबाट उत्पन्न भएकी हुनाले यज्ञसेन, श्यामवर्ण भएकीहुँदा कृष्णा, वा भगवान श्री कृष्णप्रति अघाध भक्तिभाव राख्ने भएकीले कृष्णा एवं राजा विराटको दरबारमा अज्ञात बासको समयमा सौरन्धीका रुपमा रहेकीले सौरन्धीका नामले समेत प्रसिद्ध रहेकी नारी पात्रका रूपमा लेखिएको महाकाव्य हो केतकी। यस महाकाव्यका लेखक हुन् महाकाव्यकार मित्रप्रसाद दाहाल।
२.महाकाव्यकारको छोटो परिचय
महाकाव्यकार मित्रप्रसाद दाहालको जन्म विक्रम सम्वत १९९९ चैत्र १२ गते झापा जिल्लाको शान्तिनगरमा भएको हो। २०२२ सालदेखि नै फुटकर कविता लेखनको प्रारम्भ गर्नुभएका उहाँका आज विमोचित भइरहेको महाकाव्य केतकी सहित १० वटा कृतिहरू प्रकाशित भइसकेका छन्।
प्रमद्वारा खण्डकाव्य २०५७
चन्द्रहंस महाकाव्य २०६४
श्री वात्स महाकाव्य २०६४
तारा शोककाव्य २०६६
मल्लिका महाकाव्य २०७४
मित्र कविता संग्रह २०७५
परिवर्तन कथा संग्रह २०७५
आमा महाकाव्य २०७६
देवहुती महाकाव्य २०८०

केतकी महाकाव्य २०८३ गरी नेपाली महाकाव्यको इतिहासमा छवटा महाकाव्य प्रकाशन गरिसक्नुभएका मित्रप्रसाद दाहाललाई अब नेपाली महाकाव्यकारिताको क्षेत्रमा कुन स्थान र श्रेयको कुन पदवी दिन उपयुक्त हुन्छ त्यसको विवेच्छ गर्न कति पनि ढिला गर्नुहुन्न। उहाँका प्रकाशित कृतिहरुमा स्नातकोत्तर तहमा मात्रै आधा दर्जन भन्दा बढी शोध भइसक्नुले कृतिहरू कति पठनीय छन् भन्ने कुराको म व्याख्या गरिरहन आवश्यक ठान्दिन। मूलतः महाभारतको गहिरो अध्ययन गरिसक्नुभएका दाहालका पाँचवटा महाकाव्यको विषय महाभारतग्रन्थसँगै जोडिएर आएका छन्। यसरी महाकाव्यमा कर्मवादलाई आस्तिकताले सूत्रबद्ध गर्न सक्ने क्षमता भएका दाहाल ८७ वर्षको शरीरलाई डोहोर्याएर समग्र नेपाली पाठकहरूको मन मस्तिष्कमा अध्यात्म ज्ञानरुपी मणिलाई दिव्य श्लोकका माध्यमबाट अविनाशी आत्मा र विनाशील भौतिक शरीरबीच रहेको अन्तरसम्बन्धको व्याख्यालाई प्रकृति अनि स्वरूप सिद्ध व्यक्तित्वका विशेषताहरूका बारेमा व्याख्यानसाथ प्रष्ट्याउन चाहनुहुन्छ।
यहाँ मैले यस केतकी महाकाव्यको अत्यन्तै संक्षिप्त रूपमा विवेच्य गर्ने प्रयास गरेको छु ।जसलाई महाकाव्यको संरचनागत आधारमा मूल्याङ्कन गरिनेछ।
३ संरचनागत आधारमा केतकी महाकाव्यको सामान्य अध्ययन
क) २५ वर्गमा विभक्त रहेको महाकाव्य पूर्वीय महाकाव्यको संरचनागत आधारमा सर्ग अष्टाधिका भन्ने सन्दर्भबाट हेर्दा निकै व्यापक देखिन्छ।
ख)नायकत्वका दृष्टिले पनि महाकाव्य सफल छ किनकि पूर्वीय महाकाव्यले ‘ तत्रैको नायक सुर, भनेर वीर, प्रतापी, साहसी एवं क्षेत्रीय नायकको परिकल्पना गरेको पाइन्छ तर यस महाकाव्यमा भने राजा द्रुपदले बृहत यज्ञको आह्वान गरी त्यस यज्ञबाट उत्पन्न भएकी द्रौपदी वा स्त्री पात्रलाई नायक मानेको देखिन्छ। जसअनुसार पूर्वीय महाकाव्यको नायकमा हुनुपर्ने सर्वाङ्ग गुण द्रौपदीमा रहेको महाकाव्यको अध्ययनबाट पूर्णतः पुष्टि हुन जान्छ।
बाबाको अनुसार नै द्रुपदकी छोरी हुँदा द्रौपदी
पान्चाली हुनगो हुँदा जनम नै पान्चालमाहा सुदी।
यज्ञैबाट भएर जन्म हुनको श्रीयाज्ञसेनी खुद
यज्ञै पूर्ण भएर ब्राह्मण बिदा भो दक्षिणाले अब।।
ग) पूर्वीय महाकाव्य सिद्धान्तले मङ्गलाचरणलाई पनि विशेष प्राथमिकताका साथ हेरेको छ। æआदोेै नमस्क्यिा शीर्वा वस्तु निर्देश एववा।’ अर्थात् आशीर्वादात्मक, नमस्कारात्मक र वस्तुनिर्देशनात्मकमध्ये काव्य प्रारम्भमा कुनै एक हुन आवश्यक ठानेको पूर्वीय सिद्धान्तलाई केतकी महाकाव्यले आशीर्वादात्मक मंगलाचरणका रूपमा प्रस्तुत गरेको कुरा मंगलाचरणको यस श्लोक ले प्रमाणित गरेको पाइन्छ।
गौरी शंकर श्री गणेश र रमा श्रीकृष्ण योगेश्वर
विद्या दात्री सरस्वती भगवती श्री व्यास हे भूधर।
काली शक्ति प्रदायनी हृदयमा सुज्ञान मेरो भर
पाउँ आशिक एक काव्य गतिलो लेख्ने कला सुन्दर।।
घ)कथानक महाकाव्यको सबैभन्दा ठूलो शक्तिशाली अङ्ग हो। बिना कथानक महाकाव्यको परिकल्पना गर्नु नै काव्य साहित्यकै उपहास जस्तै ठहर्दछ। केतकी महाकाव्यको कथानक ऐतिहासिक विषयमा आधारित रहेको छ। महाभारतमा वर्णित १८ पर्वहरू कुनै न कुनै रूपमा यस महाकाव्यको २५ सर्गभित्र अटाएका छन् ।गुरु द्रोणाचार्य र राजकुमार ध्रुपद दुवै बाल्यावस्थामा हुँदा अत्यन्तै मिल्ने साथी रहेको र ध्रुपदले द्रोणलाई आफू राजा भएपछि समान अधिकार प्रत्यायोजन गर्ने भनेको प्रसङ्गबाट यस महाकाव्यको कथानकको उठान भएको पाइन्छ । महाकाव्यको अन्त्य पच्चीसौँ स्वर्गमा आएर महाभारतको युद्धको वर्णन, त्यस युद्धमा कौरवहरूले व्यहोर्नु परेको क्षति, दुर्योधनको अहङ्कारको अन्त्य, श्री कृष्णले दुर्योधनसँग पाँच गाउँ मागेको प्रसङ्ग तथा भगवान कृष्णले धनुर्धर अर्जुनलाई गीताको दिव्यवाणी सुनाएको सन्दर्भ अनि महाभारतको युद्धको समाप्ति पश्चात् हस्तिनापुरको राजा युधिष्ठिर बनी महाकाव्यकी नायिका द्रोैपदी साथै अन्य पाण्डवहरू आनन्दसँग बसेको प्रसङ्गमा महाकाव्यको अन्त्य भएको छ।
पच्चीसौँ सर्गसम्मको कथानकलाई सरसर्ती हेर्दा राजा द्रुपदले द्रोणलाई गरेको बेइज्जती, राजा द्रुपदमा चिन्ता बढ्नुको प्रसङ्ग, राजा द्रुपदले यज्ञको आयोजना गरी द्रोणसँग लड्न सक्ने शक्तिशाली छोरो प्राप्त गर्ने इच्छा, यज्ञबाट धृष्टधुम्न र द्रौपदी जन्मिएको प्रसङ्गले महाकाव्यलाई अत्यन्तै जीवन्तता प्रदान गरेको छ भने द्रौपदीको स्वयम्वरमा उपस्थित विभिन्न देशका राजाहरूको वर्णन, स्वयम्भरमा सजिँदा देखिएकी द्रौपदीको सुन्दरताको सन्दर्भले काव्यलाई श्रृंगारसयुक्त बनाउन अहम् भूमिका खेलेको पाइन्छ। द्रौपदीको स्वयम्भरमा उपस्थित भएका राजाहरूले देखाएको धनुरविद्यासम्बन्धी अपूर्ण कौशल, पाण्डवहरू जीवित रहेको, उनीहरु धर्मात्मा रहेको भन्ने कुरा श्रीकृष्णबाट बलरामलाई भएको जानकारी, लाहाको घरमा जलाएर मार्न खोजेको दुर्योधनको हर्कत तथा काका विदुरले पाण्डवहरूलाई बचाउन खोजेको महत्त्वपूर्णले कथानकको क्रम भङ्ग नभई æसर्गान्ते भावी सर्वस्य कथया सूचकम् भवेतÆ महाकाव्यको सिद्धान्तलाई थप व्यवहारिक बनाइदिएको छ।
हिडम्बासुर राक्षसको युद्धको प्रसङ्गले केतकी महाकाव्यलाई वीर रसयुक्त बनाएको छ। घटोत्कचको जन्मको प्रसङ्ग र बकासुरको मृत्युको प्रसङ्ग, छद्मभेषी अर्जुनले द्रौपदीको स्वयम्बरमा देखाएको असाधारण प्रतिभा, केही क्षत्रिय राजाहरूले युद्ध छेड्न गरेको घोषणा, अर्जुनमाथि क्षेत्रीय राजाहरूले बर्साएको धनुरबाण तथा द्रौपदीलाई खोसेर दुर्योधनसँग विवाह गरिदिन खोजेको जबर्जस्त प्रसङ्गका कारण महाकाव्यको कथा प्रसङ्गमा रौद्ररस बिगुलित भएको देख्न सकिन्छ।
यदि अर्जुनमाथि कुनै नाजायज युद्ध विपरीत केही अस्त्रप्रहार भए श्रीकृष्णले सुदर्शन चक्र प्रहार गर्न सक्नेसम्मको संकेत अनि भीमले रुखै भाँचेर हानेको प्रसङ्ग र कर्ण अर्जुनको युद्ध जस्ता कुराहरु यस महाकाव्यका क्रमागत सर्गहरूमा प्रस्तुत भएका छन्।
खेद्दै भीम जता जता दगुरथे बग्थ्यो नदी रक्तको
सेना थे जति जे सबै रगतले भै रङ्गितै नै अहो।
भाद्र श्रावणमा बगे सरी अहो भइ भेल नै रक्तको
सारा युद्धस्थलै महा रगत भो भो पोखरी नै अहो।।
महाकाव्यको पन्ध्रौँ सर्गसम्म आइपुग्दा पाण्डवहरू वनवासका क्रममा विभिन्न क्षेत्र घुमेको, ब्राह्मणको ब्राह्मणका लुटिएका गाई अर्जुनले फिर्ता गराएको, हरिद्वारमा स्नान गरेको प्रसङ्ग उल्लेख भएको छ भने नागकन्या निस्केर अर्जुन जस्तै पुत्र प्राप्त गर्ने अपेक्षा राखेको प्रसङ्ग अत्यन्तै जादुमयी ढङ्गबाट काव्यमा प्रस्तुत भएको छ। १६औं सर्ग मूलतः महाकाव्यको अत्यन्तै महत्त्वपूर्ण सर्ग हो। यस सर्गमा कौरव र पाण्डव बीचको जुवा खेलको प्रसङ्ग ,धर्मात्मा युधिष्ठिरले अन्त्यमा द्रौपदीलाई समेत दाउमा राखेपछि उनको चिर हरणको कारुणिक स्थिति र श्री कृष्णले काव्यकी नायिका द्रौपदीको अस्तित्व जोगाएको प्रसङ्गलाई महाकाव्यकारले कारुण रसका माध्यमबाट व्यक्त गरेको देख्न सकिन्छ। मुख्यरूपमा यसै सर्गबाट महाभारतको भयङ्कर युद्धको सुरुवातको सङ्केतलाई महाकाव्यकारले प्रष्ट रुपमा अभिव्यक्त गरेको समेत पाइन्छ। विराट राजाको दरबारमा द्रौपदी सहित पाण्डवहरूले छद्म भेष धारण गरी बिताएको एक वर्षको अवधि तथा यस महाकाव्यको अन्तिम स्वर्गमा महाभारतको प्रसङ्गलाई मूल कथा बनाई महाकाव्यकारले यस महाकाव्यमा प्रस्तुत गरेको पाइन्छ। यसरी महाकाव्यको संरचनागत आधार तथा पूर्वीय महाकाव्यको लक्षणका आधारमा द्रौपदीका तीन पुस्तासम्मको वर्णनको प्रसङ्ग अनि महाकाव्यको पूर्वीय परिभाषाले प्रस्तुत गरेको कथानक , महाकाव्यीय फल प्राप्ति एवम् वातावरणको वर्णनसमेत यस काव्यमा सिद्धान्ततः प्रस्तुत भएका छन्।
æइतिहास कथोद्भूत मित रद्वा तदाश्रयम्
चतुरवर्ग फलोपेतर् चतुरो दात्त नायकम्।
उद्यान सलिल क्रीडा मधुपान रतोत्सवै।।
भन्ने पूर्वीय प्रसङ्गमा महाकाव्य कतै विचलित रहेको देखिँदैन। रस, अलङ्कार, गुण, रीति एवं विभिन्न शास्त्रीय छन्द प्रयोगको दृष्टिकोणले पनि महाकाव्यलाई उत्तम स्तरको पूर्वीय महाकाव्यको नारी प्रधान काव्य श्रेणीमा राख्न सकिन्छ।
भाषा तथा वैशिष्टका आधारमा महाकाव्यको अध्ययन गर्दाÆ सदलङ् कृतिÆ भन्ने अलङ्कार सहितको भाषा हुनुपर्ने जुन मान्यता छ त्यसलाई सैद्धान्तिक रुपमा महाकाव्यले भाषिक शिल्प र अर्थगत शिल्पलाई संकेत गरी पूर्णता दिइएको छ। यसरी केतकी महाकाव्यको मूल कथानक यिनै माथिको विषय भएतापनि अन्य उपकथा यस काव्यमा प्रशस्त भएका कारण समय अभाव भएको हुँदा त्यसलाई वर्णन गर्न उपयुक्त ठानिनँ।
यस महाकाव्यमा प्रयोग भएका प्रमुख पात्रहरूको चिनारी तथा उनीहरूको महाकाव्यात्मक भूमिका
युधिष्ठिर — पाण्डवहरूमध्ये जेठा, धर्मराजको नामले पनि परिचित। सत्य, धर्म र न्यायप्रति अटल रहने युधिष्ठिर महाभारतको युद्धको समाप्ति पश्चात हस्तिनापुरको राजा भएको , चारित्रिक दृष्टिकोणको आधारमा यस काव्यकी नायिका एवं प्रमुख पात्र द्रौपदीलाई समेत जुवा खेलमा राखेको कमजोरी देखाए पनि अन्ततः आफ्नो सत्यनिष्ठाकै कारण जीवित स्वर्ग पुग्न सफल गतिशील चरित्र
भीम — पाण्डवहरूमध्ये दोस्रो, अत्यन्त बलशाली र साहसी। अन्यायविरुद्ध सोझो र निडर तरिकाले उभिने भीमले दुःशासन र दुर्योधनको वध गरी द्रौपदीलाई गरिएको अपमानको बदला लिन सफल यस काव्यका अर्का महत्त्वपूर्ण पात्र जसले सिङ्गो महाकाव्यमा आफूलाई गतिशील पात्रका रूपमा उभ्याएको।
अर्जुन — पाण्डवहरूमध्ये तेस्रो, महान धनुर्धर र श्रीकृष्णका प्रिय सखा। यस काव्यकी नायिका द्रौपदीको स्वयम्बरमा देखाएको धनुरविद्याको प्रसङ्ग एवं अङ्गराज कर्ण जस्ता साहसी, वीर एवं प्रतापी व्यक्तिको वध गर्न सफल धिरोदात चरित्र भएका व्यक्तित्व, युद्धअघि नैतिक द्विविधामा परेका अर्जुनलाई श्रीकृष्णले भगवद्गीताको उपदेश दिई कर्तव्यबोध गराउँछन्।
नकुल र सहदेव — पाण्डवहरूमध्ये कान्छा जुम्ल्याहा भाइहरू, माद्रीका छोराहरू। नकुल अश्वविद्यामा र सहदेव ज्योतिष तथा नीतिशास्त्रमा निपुण थिए, र सधैं आफ्ना दाजुहरूप्रति निष्ठावान रहे।
द्रौपदी — पाञ्चाल राजा द्रुपदकी छोरी र पाँचै पाण्डवहरूकी पत्नी। यस महाकाव्यकी नायिका, प्रमुख पात्र एवम् उनकै मूल चरित्रगत विषयमा यो महाकाव्य तयार भएको छ।
डाक्टर प्रतिभा रायका अनुसारÆ द्रोणान्तक पुत्र पाउनका निम्ति राजा द्रुपदले कश्यप ऋषिको वंशज उपयाजलाई खुसी पारे। पुत्र प्राप्तिका निम्ति उपयाज एवं याज ऋषिद्वारा यज्ञ गराए। यज्ञको होमाग्नीबाट तेजस्वी पुत्र भाइ धृष्टधुम्न र यज्ञवेदीको दुई भागबाट निलो पद्मकान्त मणिजस्ती यज्ञसेनीको जन्म भएको जो अद्भुत, नीलकमलको पत्रदल जस्तो कान्ति, नीलापद्म जस्तो मनमोहक आँखाहरू, विश्वको श्रेष्ठ शिल्पकारको हातबाट गाडिएको प्रतिमा जस्तो अनिन्ध मुखशोभा, उचित अङ्ग सौष्टप, विद्युत पनि लजाउने तेज ,फूलको बासनाजस्तो शरीरको सुगन्धले भमरालाई पनि सक्दो मति भ्रम बनाउने रूप द्रौपदीमा देखिएको छ। यस महाकाव्यले पनि द्रौपदीको जन्म प्रसङ्गमा यिनै सुन्दर शारीरिक, मानसिक एवं आत्मिक शोभाको वर्णन गर्दै महाकाव्यकारले काव्यलाई सात सज्जा गरिदिनुभएको छ।
सभामा भएको अपमानपछि पनि धैर्य र आत्मसम्मान नगुमाई न्यायको लागि खडा भएकी द्रौपदी नारी शक्तिको प्रतीक मानिन्छिन्।
कुन्ती — पाण्डवहरूकी आमा, जसले वनवास र कठिन परिस्थितिमा समेत आफ्ना छोराहरूलाई धर्मको मार्गमा हिँड्न प्रेरित गरिन्। कर्णकी वास्तविक आमा तर युद्धको चपेटामा आफ्ना छ छोराहरूमध्ये एक छोरा मात्र गुमाउँदा पनि सर्वाधिक पिल्सिएकी एक कारूणिक पात्र। यस महाकाव्यमा समेत उनको भूमिकालाई महाकाव्यकारले प्रशस्त स्थान दिनुभएको छ।
दुर्योधन — कौरवहरूमध्ये जेठा र धृतराष्ट्रका पुत्र। ईष्र्या, अहंकार र सत्ताको लोभमा अन्धो भई पाण्डवहरूसँग निरन्तर छल र अन्याय गर्ने दुर्योधन महाभारत युद्धका प्रमुख कारक मानिन्छन्। गधायुद्धमा पारङ्गत भएपनि अहङ्कारले व्यष्ठित भएका कारण महाभारत जस्तो संहारकारी युद्ध घटाउन अग्रसर हुने क्रुर स्वभावका खलपात्र तथा मामा सकुनीको जालमा समेत बेरिन पुगेको एक वैचारिक एवं सैद्धान्तिक रूपमा गतिहीन पात्र। आफू सुधारिने प्रशस्त अवसर पाए पनि हस्तिनापुरको राज्य मोहका कारण अन्त्यमा भीमद्वारा मारिएको पात्र हो जसलाई यस महाकाव्यमा महाकाव्यकारले आरम्भबाट अन्त्यसम्म स्थान दिएको प्रष्ट देख्न सकिन्छ।
महाभारतको युद्धपश्चात् भगवान् श्रीकृष्णले पनि æयदि दुर्योधनमा अहङ्कार नभएको भए संसारकै सफल राजा दुर्योधन हुने थिएÆ भन्नुले दुर्योधन परिबन्धको शिकारमा परी कसरी मृत्युसैयामा पुग्न बाध्य भए भन्ने कुरालाई स्पष्ट आकलन गर्न महाकाव्य सफल छ।
दुःशासन — दुर्योधनका भाइ, जसले सभामा द्रौपदीको चीरहरण गर्ने दुःसाहस गरे। महाभारतको युद्धमा भीमद्वारा मारिएका यिनी यही कुकर्मको कारण भीमले उनको वध गरी द्रौपदी चिर हरणका बेला भीमले लिएको आफ्नो प्रतिज्ञालाई पूरा गर्छन्। यस महाकाव्यमा दुशासन खलपात्रका रूपमा प्रस्तुत गरिएको पाइन्छ।
भीष्म पितामह — कुरुवंशका अत्यन्त आदरणीय पितामह, आजीवन ब्रह्मचर्यको प्रतिज्ञा लिएका र इच्छामृत्युको वरदान पाएका। धर्मसंकटमा परी कौरवपक्षबाट युद्ध लडे तापनि अन्त्यमा पाण्डवहरूलाई नै राजधर्मको उपदेश दिन सफल व्यक्ति।
द्रोणाचार्य — कौरव र पाण्डव दुवैका गुरु, धनुर्विद्यामा अद्वितीय। गुरुभक्तिको महत्त्व र एकलव्यसँग गुरुदक्षिणा माग्ने प्रसंगका लागि विशेष रूपमा चर्चित छन्।
कर्ण — कुन्तीका ज्येष्ठ पुत्र भए पनि जन्मदेखि नै त्यागिएका र सूतपुत्रको रूपमा आफ्नो परिचय पाउन बाध्य यस महाकाव्यको एक गतिशील पात्र। बाध्यताको जाँतोमा पिसिएर दुर्योधनलाई साथ दिन बाध्य भएका उनी आफू कुन्तीपुत्र भएको थाहा पाएपछि युद्धमा हार्नकै लागि होमिएको जस्तो देखिने चरित्र । युद्ध प्रारम्भको अघिल्लो दिन आमा कुन्तीको मुखबाट आफू कुन्ती पुत्र भन्ने थाहा पाएको र श्रीकृष्णबाट समेत उक्त कुराको जानकारी पाउँदा पाउँदै पनि कौरवहरूको सेनापति समेत भई युद्ध लडेको, दानवीरता र मित्रताप्रतिको अटल निष्ठाका लागि परिचित कर्णले दुर्योधनको साथ कहिल्यै छाडेनन्।
श्रीकृष्ण — यदुवंशी, अर्जुनका सारथि र मार्गदर्शक, धर्मको रक्षाका लागि अवतरित। भगवद्गीताको उपदेशमार्फत कर्मयोग, भक्तियोग र ज्ञानयोगको सार प्रस्तुत गर्ने श्रीकृष्ण महाभारतका केन्द्रीय मार्गदर्शक पात्र हुन्। द्रौपदीको चिर हरण होस् वा पाण्डवहरूका कठिनतम परिस्थितिलाई पनि साथ दिएर æधर्मो रक्षति रक्षितÆ भन्ने मूल मन्त्रलाई आत्मसाथ गराउँदै असत्य मार्गको दण्ड कस्तो हुन्छ भन्ने चेतना प्रवाह गर्न सफल यस काव्यका प्रमुख पात्र।
विदुर — धृतराष्ट्रका सौतेनी भाइ र राजसभाका नीतिज्ञ मन्त्री। सत्य र न्यायको पक्षमा सधैं सल्लाह दिने विदुर आफ्नो सत्यवादिताका लागि सम्मानित छन्।
गान्धारी र धृतराष्ट्र — कौरवहरूका आमाबाबु। जन्मजात अन्धा धृतराष्ट्रले पुत्रमोहमा अन्धो भई दुर्योधनका अन्यायहरूलाई रोक्न सकेनन्, भने गान्धारीले पतिप्रतिको समर्पणस्वरूप आफ्नै आँखामा पट्टी बाँधिन्।
अभिमन्यु — अर्जुन र सुभद्राका पुत्र। आमाको गर्भमा हुँदै चक्रव्यूह भेद्ने विद्या अधुरो सिकेका अभिमन्युले युद्धमा असाधारण वीरता देखाई कम उमेरमै वीरगति प्राप्त गर्छन्।
शकुनि — गान्धारीका भाइ र दुर्योधनका मामा। छलपूर्ण पासाको खेल रचेर पाण्डवहरूको सर्वनाश गराउने प्रमुख षड्यन्त्रकारी पात्र हुन्। यस महाकाव्यमा उनको भूमिकालाई महाकवि दाहालले कति पनि अन्याय हुन दिएका छैनन्। आफ्नो स्वार्थका निम्ति दुर्योधनलाई साथ दिएको सकुनीले महाभारतको युद्धमा कुरुवंशीसँगै आफूलाई समेत समाप्त पार्दछन्।
यी बाहेक यस महाकाव्यमा दृष्टधुम्न द्रुपद, राजा विराट लगायतका पात्रहरूको पनि उत्तिकै एवं समान भूमिका रहेको देख्न सकिन्छ।
वर्तमान परिप्रेक्षमा यस महाकाव्यका पात्रहरूबाट सिक्न सकिने सन्देशहरू
– धर्म र सत्यको पालनः युधिष्ठिरको जीवनले सिकाउँछ कि जति नै कठिन परिस्थिति आए पनि सत्य र धर्मको मार्ग नछोड्नु नै अन्ततः विजयी हुने उपाय हो।
– कर्तव्यपालन र निस्वार्थ कर्मः अर्जुनलाई श्रीकृष्णले दिएको गीताको उपदेशले फलको आसक्ति नराखी आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने सन्देश दिन्छ।
– अहंकार र लोभको परिणामः दुर्योधनको पतनले देखाउँछ कि ईष्र्या, लोभ र अहंकारले अन्ततः विनाशतिर मात्र डोरÞ्याउँछ।
– आत्मसम्मान र धैर्यः द्रौपदीको साहसले सिकाउँछ कि अन्यायविरुद्ध आवाज उठाउनु र विषम परिस्थितिमा पनि आत्मसम्मान नगुमाउनु आवश्यक छ।
– मित्रता र निष्ठाः कर्णको जीवनले साँचो मित्रता के हो र विपत्तिमा पनि साथ नछोड्नुको मूल्य के हो भन्ने देखाउँछ, यद्यपि गलत पक्षको साथ दिँदा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि सिकाउँछ।
– गुरु र ज्ञानप्रतिको सम्मानः द्रोणाचार्यसँग जोडिएका प्रसंगहरूले गुरुभक्ति र ज्ञानको महत्त्व झल्काउँछन्, साथै पक्षपातपूर्ण व्यवहारले निम्त्याउने परिणाम पनि देखाउँछन्।
– असल सल्लाह र नीतिको महत्त्वः विदुरको पात्रले सिकाउँछ कि सत्य बोल्न र सही सल्लाह दिन डराउनु हुँदैन, भले नै त्यो सुन्नेलाई मन नपरोस्।
– वृद्धत्वमा पनि जिम्मेवारीः भीष्म पितामहको जीवनले प्रतिज्ञा र कर्तव्यप्रतिको प्रतिबद्धता एवं आफ्नो अनुभवबाट अर्कालाई मार्गदर्शन गर्ने महत्त्व सिकाउँछ।
– शक्तिको सदुपयोगः भीमको उदाहरणले देखाउँछ कि शक्ति भएमा त्यसलाई अन्याय र अत्याचारविरुद्ध प्रयोग गर्नुपर्छ, दमनको लागि होइन।
– मार्गदर्शन र सही निर्णयको शक्तिः श्रीकृष्णको भूमिकाले देखाउँछ कि सही समयमा सही मार्गदर्शनले जीवनको दिशा नै बदल्न सक्छ।
निष्कर्ष :
केताकी महाकाव्य केवल एउटा युद्धको वृत्तान्त मात्र होइन। समग्र मानव जीवनका सम्पूर्ण पक्षहरू — धर्म, अधर्म, प्रेम, ईष्र्या, त्याग, कर्तव्य र न्यायजस्ता विषयहरूको गहन दर्पण पनि हो। यसका पात्रहरूले देखाएका गुण र दोष दुवैबाट हामीले धेरै कुरा सिक्न सक्छौं। जब आफन्तभन्दा सत्ता र शक्ति प्यारो भई कुनै पनि व्यक्ति अहङ्कारको आहालमा पौडी खेल्न पुग्दछ तब उसका लागि सूर्यका करोडौं प्रकाशहरू पनि अन्धकारसमान हुन्छन्। दुर्योधनले भगवान श्रीकृष्ण जस्तो शान्तिको प्रस्तावक र काका विदुर जस्ता नीतिवान् व्यक्ति पाएर पनि सत्ता अन्धताका कारण महाभारत युद्ध निम्ताएरै छाड्यो ।
महाकाव्यले दिएको अर्को महत्त्वपूर्ण सन्देश भनेको मन अनि मनबीचकै द्वन्द हो। मन एउटा यस्तो चिज हो जो पानी सरह हुन्छ। जसरी पानी स्वयं आफैंले घिनलाग्दो किचड तयार गर्दछ भने उसले चाहेको खण्डमा त्यही किचडलाई सफासमेत गर्दछ। यस महाकाव्यका पात्रहरू आफैमा सक्षम, परिपक्व एवं विद्वत महारथीहरू छन्। तथापि मनसँगको द्वन्दले कोही किचडमा भाँसिएका छन् त कोही किचडसँगै सफासमेत भएका छन्।
महाकाव्यबाट हामीले लिन सक्ने सार सन्देश भनेकै कुनै पनि व्यक्ति समयभन्दा माथि छैन न त कुनै पनि व्यक्ति समयभन्दा तल नै छ ,छ त केवल प्राकृतिक नियतिका सामु बराबर छ। नियतिलाई रोक्न खोज्नु सदा व्यर्थ छ भने आफ्नाहरूको अपराधलाई पर्दाले ढाक्न खोज्नु त्यो भन्दा खतरनाक छ। आजको युगमा पनि केतकी महाकाव्यसँगै बनेका शिक्षाहरू उत्तिकै सान्दर्भिक छन्, किनभने मानवीय स्वभाव र नैतिक द्वन्द्वहरू समयसँगै फेरिरहन्छन्। यस महाकाव्यले हामीलाई सिकाएको अर्को बलियो पक्ष भनेकै हामीले जे देख्छौं वा सुन्छौं त्यो सबै सत्य नहुन सक्छ। किनकि संसारमा यस्ता सत्यहरू पनि छन् जो न त देखिन्छन् न त सुनिन्छन् नै।
केतकी महाकाव्यले मूलतः ईश्वरको स्वरूपलाई बाह्य रूपमा नभई आन्तरिक रूपमा विश्लेषण गर्ने प्रयास गरेको छ। द्वारिकाधिश भगवान श्रीकृष्णका महाकाव्यमा देखिएका सम्पूर्ण पात्रहरू सखा वा साथीका रूपमा रहेका छन्। श्रीकृष्णले सम्पूर्ण पात्रहरूलाई समान प्रकृतिको व्यवहार गरेको महाकाव्यका काव्यात्मक संवादहरूबाट प्रष्ट हुन्छ। तर कृष्णको रूप र गुणपक्षको फरक छुट्याउन नसक्दा हस्तिनापुरको युवराज दुर्योधन मात्र नभएर भगवान परशुराम शिष्य , त्रिलोकै सर्वशक्तिमान धनुर्धर कर्णले समेत युद्धमा पराजित हुनुपरेको छ। यी माथिका सन्दर्भहरूबाट महाकाव्यले दिन खोजेको प्रष्ट सन्देश भनेको सुनसँग जति नै लामो सिसाले संगत गरेपनि विभाजित हुनुपर्ने स्थिति आउँदा सुन सुनै हुन्छ र सिसा सिसैमा परिणत हुन्छ।
तसर्थ केतकी महाकाव्यले जोड दिएको प्रसङ्ग भनेकै ईश्वर व्याप्त छन्, ईश्वर मानवमा पनि छन्, ईश्वर राक्षसमा पनि छन् र ईश्वर स्वयं देवतामा समेत छन्। तर चिन्न चाहिँ रूपमा नभएर गुणको गहिरो अध्ययन हुनुपर्दछ। यदि गुणलाई चिन्न नसक्ने हो भने दुर्योधनले प्राप्त गरेको नारायणी सेना अनि अर्जुनले प्राप्त गरेका नारायणी सेनाका प्रमुख स्वयम् नारायणलाई हेरे रूप र गुणभित्रको अन्तर सम्बन्धलाई बुझ्न धाम धाइरहन पर्दैन। महाकवि दाहालले महाकाव्यको २५औं सर्गमा १८ अक्षौहिणी सेना सहितको युद्ध लेखी महाकाव्यलाई समापन गर्नुको अर्को कारण मूलतः श्रीमद्भागवतगीताकै यथारूपलाई परिभाषित गर्न चाहेको मान्न सकिन्छ। गीतामा प्राप्त विषयहरू कर्मयोग, ध्यानयोग, परमज्ञान ,भगवत प्राप्ति, परमगोपनिय ज्ञान, एवं प्रकृति पुरुष र चेतना बीचको अन्तरसम्बन्धसमेत महाकविले यस महाकाव्यमा विजार्पण गर्न खोज्नुभएको छ।
प्रकृतिका तीन गुणहरू सत्य, रज र तम देहधारी हरेक जीवात्माहरुमा रहने हुँदा यिनीहरूको वशीकरणमा मानवहरूले अपनाउनुपर्ने मूल सन्दर्भ समेत यस महाकाव्य बाट प्राप्त गर्न सकिन्छ। यसरी केतकी महाकाव्य योग ,ध्यान, विज्ञान अनि विश्वरूप दर्शनको समष्टि हो भन्दा अन्यथा नहोला।
अन्त्यमा महाकवि मित्रप्रसाद दाहाललाई ८७ वर्षको उमेरमा पनि महाकाव्यको सिर्जना गरी पूर्वीय काव्य परम्परा एवं पूर्वीय नैतिक दृष्टान्तलाई जीवित राख्न सफल हुनुभएकोमा साधुवाद भन्दै यहाँको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिका साथ थप अर्को काव्यात्मक कृतिसहित शताब्दी जीवनको कामना व्यक्त गर्दछु।

