कनकाई खबर /झापाको कनकाई –३ का धार्मिक तथा व्यवसायिक युवा यशु (योगेन्द्र) खतिवडाको अकल्पनीय निधन भएको छ। स्वदेशप्रेमी र शान्त स्वभावका खतिवडाले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै संसारबाट बिदा लिएपछि यतिबेला सिंगो परिवार र छरछिमेक गहिरो शोकमा डुबेको छ।
केही वर्षयता आफ्नै निवासमा नियमित ध्यान, प्राणायाम र साधनामा लीन रहने यशु दिनभरि आफ्नो पेशा–व्यवसायमा व्यस्त रहन्थे। बिहान–बेलुका घरकै कोठामा एकान्तमा साधना गर्ने उनको दिनचर्या थियो। परिवारका अनुसार यसअघि उनमा कुनै पनि असामान्य लक्षण देखिएको थिएन।
अघिल्लो दिन सामाजिक सञ्जालमा अस्वाभाविक स्टाटस लेखेपछि परिवारले उनलाई मानसिक रूपमा केही प्रभाव पर्न थालेको आशंका गरेको थियो। काका पोष्टप्रसाद खतिवडाका अनुसार परिवारले घरमै काउन्सिलिङ सुरु गरी कतारमा रहेका दाजु कुसुमसँगको सल्लाहमा अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउने तयारी गरिरहेको थियो। तर, उपचारमा लैजान नपाउँदै भएको यो अकल्पनीय निर्णयले परिवारलाई अत्यन्तै मर्माहत बनाएको छ।
छोराको वियोगमा भावविह्वल बुबा बेदप्रसाद खतिवडाले विवाहको उमेर ढल्किँदै जाँदा एक्लोपन महसुस भएर छोराको मन–मस्तिष्क स्थिर हुन नसकेको हुनसक्ने बताउँछन्। ज्योतिषीका अनुसार ४४ वर्षको उमेरमा विवाहको साइत जुरेको र त्यो समय नजिकिँदै गर्दा साथीभाइ तथा आफन्तले विवाहबारे जिस्क्याइरहने गरेको बुबाले स्मरण गरे। “मनको भावना पोख्ने र व्यवसायमा साथ दिने जीवनसाथीको अभाव महसुस भएर पो हो कि, नत्र छोरामा पहिले त्यस्तो कुनै नराम्रो लक्षण थिएन,” उनले भक्कानिँदै भने।
अकल्पनीय निर्णय लिनुअघि यशुले सामाजिक सञ्जालमा सबै धर्मको सम्मान गर्दै लेखेका थिए, “सबै धर्मको सम्मान र शान्तिको कामना गर्दछु। आफ्नै मनको कारण यो सबै हुन गयो। माया रूपी मनबाट बाहिर आउन नसक्नु नै मेरो कमजोरी भयो। सबैमा क्षमा याचना गर्दछु। सम्पूर्ण गुरुहरूमा कोटि–कोटि प्रणाम गर्दछु।”
यता, घटनाको विषयमा सुरक्षा निकायका तर्फबाट समेत अनुसन्धान सुरु गरिएको छ। स्रोतका अनुसार इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाको नेतृत्वमा घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। यसैबीच, परिवारले विभिन्न सामाजिक सञ्जालमा आइरहेका तथ्यहीन र भ्रामक सामग्रीको पछि नलाग्न समेत सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।
स्वर्गीय खतिवडाको पार्थिव शरीरको अन्त्येष्टि आज कार्तिक ३० गते सोमबार बिहान ठीक १०ः३० बजे पवित्र कनकाई घाटमा भएको छ । स्वर्गीय यशुका बुबा बेदप्रसाद खतिवडा, आमा दुर्गा खतिवडा, काकाहरू पोष्टप्रसाद र कृष्ण खतिवडा, काकीहरू श्रृजना र सरिता खतिवडा, दाजु कुशुम खतिवडा, भाउजू शोभा खतिवडा, दिदी कल्पना खतिवडा र भिनाजु कुमार शर्मा लगायत सम्पूर्ण परिवारजन यतिबेला गहिरो शोकमा परेको बताइएको छ ।
स्व.खतिवडाले इनम नामसँग जोडेर फेसबुकमा स्टाटस लेखेका कारण निक्कै चर्चामा रहेको भएपनि हालसम्मको अनुसन्धानले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संरक्षणमा विचौलियाको साम्राज्य चलाएको आरोप लागेका इनम सापकोटासँग खतिवडाको कुनै पनि संलग्नता नरहेको झापा जिल्ला प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्कालाई उदृत गर्दै मकालुखबरले समाचार सार्वजनिक गरेको छ । एसपी वसुन्धरा खड्काका अनुसार उनी मानसिक रोगी रहेको र उनले उक्त रोगको औषधी प्रयोग गर्दै आएको मकालु खबरमा समचार छ ।

