Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दारी–महिमा
    विचार

    दारी–महिमा

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २२, बिहीबार १५:५१ गते8 Mins Read

    जीवनाथ सुबेदी,
    कविशिरोमणि लेखनाथले कालमहिमा लेखेर प्रसिद्धि कमाएको देखेर अल्छी शिरोमणि लुखुनाथलाई साठी नाघेर लाठी टेक्तासम्म आफूले केही नगरेकोमा पछुतो लागेर आयो । आँसीकै भरमा घाँसीले नाम कमाएको थाहा पाएपछि भानुभक्त रामभक्त बनी प्रभुकै शरणमा परी आदिकवि भएझैँ लुखुनाथ पनि मरणको चरणमा पर्नुभन्दा पहिला नै केही त गर्नैपर्नेरहेछ भनेर छटपटियो । ऊ आरिसले खपिनसक्नु भएपछि के गर्ने होला ? भनी अरु हाती चढेको देखेर धुरी चढ्न हुटहुटियो भन्दा पनि हुन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उसले कोभिड उन्नाइसको लामो लकडाउनमा आफू अल्छे बाउन भएकाले दारी पाली फेसबुकमा हाली त्यहीँबाट तपाईँको बधाइ पाउने निधो गर्यो । त्यही प्रतीक्षामा बस्ताबस्तै उसले दारी महिमा लेखी कविशिरोमणि जस्तै अल्छीशिरोमणिको ख्याति कमाउने विचार पनि गरेको हो ।

       यो दुनियामा आरिसले नै त कि प्रगति कि अगति हुन्छ भन्ने कुरा तपाईँलाई पनि महसुस भएकै हुनुपर्छ । आरिसले पनि कसरी प्रगति र अगति हुन्छ ? भन्ने लाग्छ भने तपाईँ प्रेरणा नै भन्नुहोस् न त त्यसलाई भइहाल्यो नि । अर्काको उन्नतिमा छिर्के नलाई आफ्नो दुनोको दालमा फिर्के लगाउँदा प्रेरणा हुने र अर्काको उन्नतिको दौडमा गुल्चेको ओड अड्याएर आफू प्रथम हुन खोज्दा आरिस हुने रहेछ, होइन र ? आरिस अथवा प्रेरणाबाट हुने अगतिका कुराजति छाडेर प्रगतिकै मात्र कुरा गर्ने हो भने पनि भनिसाद्धे छैन । तैपनि एउटा चैँ सुनिहाल्नोस् न त :

       रेडियो, पत्रपत्रिकाहुँदी ठुलठुला राम्रा नराम्रा कामले मान्छेको नाम छापिएको देखेर एक जना लुखुनाथजस्तै डुकुनाथ पनि आफ्नो नाम चलाउने हुटहुटीले भुट्भुटिएछ । यस्तो आरिस या प्रेरणा जागेपछि उसले कुनै बुज्रुकसँग सहल्लाह लिएछ । त्यस उत्साहीले कसैबाट पाएको सल्लाह अनुसार नै दारी पालेर निकै लामा भएपछि देब्रे कि दाहिनेपट्टिको हो, एकपट्टिको मात्र सफाचट पारी अहिलेजस्तो फेसबुकको विकास नभएकाले पत्रिकामा फोटो छपाएर नाम चलाएछ ।
    अब भन्नोस्, प्रेरणा र आरिस मात्र होइन, नारदको पालादेखि चलिआएको पत्रकारितादेखि अहिलेको हाल्लाकारिता जस्तै सल्लाहकारिताको पनि ठुलै करामत छैन त ? अरुको सल्लाहबाटै उसले त्यत्रो हल्लाको प्रगति गर्यो । कसैले कान नदिए पनि सल्लाह दिनु ठुलै योगदान मानिन्छ । लुखुनाथ पनि आफूले देख्तै नदेखेका र टेक्तै नटेकेका धेरै सङ्घसंस्थाको सल्लाहकार समितिमा व्यस्त छ । किनभने ऊ आफू ठिकबेठिक छान्नुपर्ने ठान्दैन र कतिबेला के गर्ने भनेर आफैँलाई सल्लाह दिन पनि जान्दैन । यो उसको समाजसेवा क्षेत्रको मौलिक विशेषता हो ।

       नामका लागि काम लाग्ने दारी निकै उपकारी हुने बुझेपछि लुखुनाथले दारी पाल्ने योगदानको साहसी कदम चालेको हो । अल्छीशिरोमणिको पदीय दायित्वले गर्दा धेरैतिर हात हाल्नु पनि भएन र अरु सिर्जनात्मक उद्यम गर्ने कुरै आएन । एउटा पदमा बसेर त्यसको अनुशासन नपाल्नु भनेको हिजोआजका मन्त्री, नेता, शिक्षक, कर्मचारी वा कुनै पदाधिकारी जस्तो भ्रष्टाचारी हुने भएकाले कुनै अर्को पौरख गर्न इमानदारिता र नैतिकताले पनि त दिएन नि उसलाई । फेरि अख्तियार दुरुपयोगले समाइहाल्यो भने बित्याँस परेन त ?हैन, यो लुखुनाथ भन्ने को रहेछ, कहाँबाट आएछ ? भनेर जान्न तपाईँलाई अघिदेखि निकै खसखस लागेको होला । केही प्रगति नगर्दा एकारान्त नाम भएको मान्छे मति सपारेर होस् कि बिगारेर होस् कुनै पदासीन भएपछि ज्यूकारान्त नामको हुने कुरा तपाईँलाई थाहा नै छ होला । त्यति मात्र होइन नि उसको पहिलो नामको अन्त्यमा रहेको ‘ए’ हटेर त्यसपछि कुमार, प्रसाद, नाथ, बहादुर, सिंह, शर्मा, बर्मा, उपाध्याय, स्वामी इत्यादि पदअनुसारका पार्व्ीर्तीले नेता र समाजसेवीलाई घरेजत्तिकै थुप्रै उपनामहरु थपिन पुग्छन् ।

       सोइपरी यो तपाईँकै गाउँघरको हिजोको लखुरे अल्छीशिरोमणिको पद धारण गरेपछि लुखुनाथ भएको हो भन्ने कुरो तपाईँहरुलाई जानकारीका लागि सादर अनुरोध गर्दछु ।ए, दारीको कुरा गर्दा गर्दै कता वारिपारितिर पो लागिएछ । अँ, उहिलेका ऋषिमुनिदेखि अहिलेका सिसीमुनिसम्म दारीको महिमा अपरम्पार रहेको बुझेर नै लुखुनाथले पनि अहिलेसम्मको यो दुई÷अढाई महिने गृहवासमा अरु कुराको आस नगरी जहानले पस्केको गाँस मात्र टिपेर बाँकी समय यही दारी सुम्सुम्याउने ठुलो काम ग¥यो । लुखुनाथ उहिलेतिर यसो च्याउँछ, ऋषिमुनिले दारी पाली घारीमा बसेर ज्ञान प्राप्त गरेपछि वारिपारि कत्रो नाम चलाए । अहिले पनि उनीहरुको ज्ञान नलिइए पनि ज्यानको चैँ चित्र छापेर कति ठुलो मानसम्मान गरिन्छ । त्यसैको आड लिएर अहिलेका ब्रह्मचारीले पनि दारी पाली भित्रभित्रै नारी थुम्थुम्याउँदै सुम्सुम्याएर ब्रह्मानन्द प्राप्त गरेका कुरा पनि तपाईँहामीले सुन्दै आएकै छौँ होइन र ?

       पश्चिमतिरका पुराना वैज्ञानिक र दार्शनिक आइन्स्टाइन, मार्क्स, लेनिन लगायत धेरै दारीवाल चिन्तकहरुको ठुलै योगदान देखेर अहिलेका तालुखुइले बुद्धिजीवी नामका चाकरीजीवीहरु पनि दारी हल्लाउँदै सान दिइरहेका छन् । दारीको घारी बढाएका र नबढाएका पनि आजका राजनीतिक शिष्टाचारी निष्ठापूर्वक भ्रष्टाचारी बन्नेहरुको देन पनि कम नभएकाले समाजमा तिनको खातिरदारी भनिसाद्धे छैन । यसरी यो विचित्रको दारीमा हिजोका पतञ्जलिदेखि आजका सबै मातुन्जेलीसम्म र भारतका रामदेवदेखि कामदेवसम्म, नेपालका दारी नपालेका भए पनि बामदेवजस्ता ह्वामह्वाम झ्वामदेवसम्मका नेता कार्यकर्ता, दार्शनिक वैज्ञानिक झुन्डिएको देख्ता लुखुनाथ पनि किन पछि पर्नु भनेर यसपालि दारी साधनामा लागेर लगभग सिद्धि पनि प्राप्त भएको अनुभव गर्दै छ ।

       प्रौढ दारीवालहरुको दौड मात्र हो र ? भूतपूर्व युवादेखि अभूतपूर्व युवासम्म पनि दारीप्रियता अहिले निकै बढेको देखिन्छ । हिजोआज उपनयनका वटुकदेखि प्रणयनका वरसम्म मङ्गलमय संस्कारमा दारीमण्डित भएर सुशोभित देख्न सक्नुहुन्छ । त्यसैले यो कोभिड उन्नाइसको महामारीमा लुखुनाथले पनि दारी बढाउने साधना गरेर फेसबुकहुँदो वारिपारि देखाएर कम उपकारी काम गरेजस्तो चैँ लाग्दैन है मलाई त, तपाईँलाई जे सुकै लागोस् ।‘नदेखेसम्म को हो, देखेपछि मायामोहो’ भनेझैँ यो कोभिड उन्नाइसको महामारीले वारिपारि गर्न नपाउँदा घर बसेर स्याहारेको दारीको लुखनाथलाई असाद्धे माया लाग्न थालिसकेको देखिन्छ । किसानलाई खेतबारीको माया, नारीलाई सारीको माया, ‘चोरीछुप्के’लाई घारीको माया, घाँसदाउरेलाई भारीको माया, भ्रष्टाचारी कालोबजारीलाई ट्रकका ट्रक र हवाइजहाजका टनका टन वारिपारिको धनमालको माया भएझैँ लुखुनाथलाई चैँ यो दारीको असाद्धे माया लागिरहेको बुझिन्छ । यसरी केही महिना सँगै उठबस गर्दा त यस्तो माया बस्दो रहेछ भने अझ कसैको कसैसँग भित्रभित्रै लसपस पर्दा कस्तो उखर्माउलो हुँदो होला ? भन्ने कुरो सबैको खसखसको विषय देखिन्छ, गाउँदेखि नेपालको संसद् हुँदै विश्वसम्म ।

       कसैको कसैप्रतिको मायापिर्ती देखिनसहने जोरीपारीजस्तै लुखुनाथकी घरकी नारी पनि उसको दारीलाई अलेली गाली गर्दिन र एक हातको ताली उज्याउन पनि पछि पर्दिन । उसले लुखुलाई मसक्क मस्केर ‘दारी बुढो !’ भनेर कड्के आँखा लाउँदै गाली गर्दा र लुखुका गालामा उसकीको ताली पर्दा ऊ पनि छड्के परेर मनमनै ‘रिसाए नि आफ्नै’ भनी मुसुक्क मुस्किन्छ । लुखुनाथजस्तो दारी पाल्नेको यो परमानन्द तपाईँहामी दारी फाल्नेलाई के थाहा ? लुखुलाई उता छोराछोरीले “फोहोरी भयो नि बाबा, दारी काट्नु न !” भन्दा ऊ झसक्क भस्किन्छ र “यो दारी पनि एउटा मेमोरी हो नि छोराछोरी !” भनेर उनीहरुसँग तर्किन्छ ।

       जाबो दारी पाल्दा यस्ता घरायसीदेखि परायसीसम्मका सप्ठ्यारा र अप्ठ्यारा झेल्नुपर्छ भने समाजसेवा, जनसेवा हुँदै देशदेखि विश्वसेवासम्मको यात्रा गर्दा कत्रा कत्रा खत्रा मोल्नुपर्दो हो नि बाबा ठाकुरे १ परमानन्द तेसै प्राप्त हुन्छ र ? चलचित्रको हिरोले विचित्रको भिलेनलाई फाइटमा जिती आफ्नो हाइट बढाएर हिरोइनलाई पट्याएभन्दा धेरै गाह्रो नि १ संस्थामा बस्ता सस्ता सामान किनेर महँगा बिल फायलमा कस्ता, पालिकाबाट तालिका मिलाएर देशको निर्माण गरी आफ्नो प्रगति गर्दा, जनसेवाको मेवा बाँडेर उब्रेको रकम पेवा पार्दा, कसैलाई राहत बाँडेर कसैलाई आहत पु¥याउँदा, देशको भूमि र जलस्रोतजस्ता सम्पदामा सत्ता साटेर विद्रोहीलाई बेपत्ता पार्दा, बाहिर अगुवाको भाषण गरी जनता ढाँटेर भित्रभित्रै हगुवा शासन गर्दा, जनताको रासन चुँडेर प्रशासनको सिंहासनमा विराजमान हुँदा इत्यादिको आनन्दमात्र देखेर हुन्छ र, उनीहरुलाई कति बल पर्दो हो ? त्यो पनि त विचार गर्नुपर्छ नि !

        यो लामो लकडाउनमा के गाउँ के टाउन को छेत्री को बाउन को जनजाति को अरुअरु जाति, सबैले एउटा न एउटा केकेजाति गरेर मुहारपुस्तिकामा हाँसेर टाँसेको देखियो । यसबेला कोही कलाकारिताको हाहाकार गरी हौसेका, कोही गायक गायिका भएर गच्केका, कोही नायक नायिका भएर नखरा पारी नाचेका, कोही कवि उत्रेर कविता कथिरहेका, कोही वैद्य बनेका, कोही रोग र योग विशेषज्ञ त कोही रानीतिज्ञ, कोही देशभक्त त कोही द्वेष गर्न सशक्त, कोही ‘ज्ञानी ध्यानी सब गुण खानी’ भएका, कोही कूटनीतिविद्, कोही झूटनीतिविद्, कोही लूटनीतिविद्, कोही फूटनीतिविद् त कोही जुटनीतिविद्, कोही धर्मविद् त कोही कर्मविद्, कोही भूगोलविद् त कोही खगोलविद्, कोही परोपकारी त कोही घरोपकारी, कोही समाजसेवी, कोही मानवसेवी, कोही राहत बाँड्न व्यस्त त कोही समाज भाँड्न मस्त आदि इत्यादि पाइए ।

       यो विश्व अस्तव्यस्त र सन्त्रस्त अवस्थामा हुँदा पनि सबै मान्छे अनेक तरकिपमा व्यस्त र मस्त देखिए । यो कुरो लुखुनाथलाई कसरी थाहा भयो भनेर तपाई पक्कै भन्नुहुन्न । किनभने द्वापार युगमा दृष्टिविहीन ध्रृतराष्ट्रलाई सञ्जयले महाभारत युद्धको सबै कैरन प्रत्यक्ष प्रसारण गरेझैँ यो कलियुगको कोरोनाक्रुद्धको हैरान, यो बेलाको दुनियाको योगदान, देशविदेशको तानातान र विश्वकै हानाहानको ज्ञान पनि यो अल्छीशिरोमणिलाई सामाजिक सञ्जालले ओछ्यानमै प्रत्यक्ष प्रसारण गरेको कुरा सर्वविदितै हुनुपर्छ ।

       मान्छे धैर्य गरी कुनै एउटा कुरामा केन्द्रित भएर साधनाको आराधनामा लागिरह्यो भने ठुलै नाम कमाउन सक्ने रहेछ भन्ने कुरा लुखुनाथले अघि नै भनिसकेको छ । यो बेलाको दारीले उसलाई यस्तै अरुहरु पनि भारी जानकारी दिएको छ । दारी पालेर मेसिन्जरमा साथीभाइसँग च्याट गर्दा उसलाई कसैले “ओहो तपाईँ त सुप्रसिद्ध शैलजाप्रिय चन्द्रशेखर हुनुभएछ” भने, केसैले “मोरारजी बापू पो बन्नुभएछ” भने, कसैले “मोदी जस्तै पो हुनुभएछ” पनि भने । त्यसै गरी कसैले सन्त त कसैले महन्त, कसैले दार्शनिक, कसैले ज्ञानी त कसैले ध्यानी पनि भने । भित्र चैँ खोक्रो र बाहिर दारीको बोक्रो मात्र हुँदा पनि यत्रो उपाधिको धोक्रो उचालिनसक्नु पाइँदो रहेछ । र त लुखुनाथ मक्ख परेर फुलेको छ, झुसिले जस्ता गाला देखाउन लकडाउनमा पनि वरपर लुखुरलुखुर डुलेको छ । त्यसैले यतिखेर उसले दारीमहिमा गाएर अल्छीशिरोमणि उपाधि पक्का गर्ने पराक्रम गरेको छ ।

    जय दारी !

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    Comments are closed.

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.