भारतीय सेलिब्रेटीहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने कुरा शनिबार साँझ काठमाडौंको हायत रिजेन्सीको चौरमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ले प्रमाणित गर्छ । करिब २० हजार दर्शकको सानदार उपस्थिति रहेको कन्सर्टलाई अरिजितले झण्डै चार घण्टा तताएका थिए । उनका गीत मन पराउने नेपाली सेलिब्रेटीहरुको पनि कन्सर्टमा उल्लेख्य उपस्थिति रहेको थियो ।
अभिनेत्री केकी अधिकारी साथीहरुसँग अरिजितका गीतमा झुकेकी थिइन् । उनले कन्सर्टमा उपस्थित भएको केही भिडियो क्लिप्स इन्स्टाग्राममा राखेकी छन् । अभिनेता सलोन बस्नेत त अरिजितले गीत गाउँदा साथीको काँधमा चढेर रमाएका थिए । उनी श्रीमती करिश्मा केसी र साथीहरुसँग कन्सर्ट हेर्न पुगेका थिए । करिश्माले आफ्नो मिनी ब्यागमा अरिजितको अटोग्राफ पनि लिन भ्याइन् ।
त्यस्तै, कन्सर्टमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, मलिना जोशी, सन्ध्या केसी, निकिता चाण्डक, नीति शाह लगायत पनि सहभागी भएका थिए । अरिजितले आफ्नो चर्चित हिन्दी गीतहरु गाउँदा नेपाली सेलिब्रेटीहरुले गुनगुनाउँदै र हुटिङ गर्दै साथ दिएका थिए । गायक सिंहको पहिलोपटक नेपालमा कन्सर्ट भएकोले पनि उनलाई हेर्न र सुन्न नेपाली सेलिब्रेटीहरु झुम्मिएका हुन् ।
‘तुम हि हो’ गीतबाट कन्सर्ट सुरु गरेका अरिजितले ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा था तो’, केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘दिल सम्हल जा जरा’, ‘जालिमा’, ‘खेरियत पुछो’ लगायतका चर्चित गीतहरु गाएका थिए । ‘अच्छा चलता हुँ, दुवाओमे याद रखना’ गीतबाट कन्सर्टको विदाई गरेका उनले धेरै नेपाली फ्यानलाई अटोग्राफ पनि दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कमेन्टस्