कनकाई खबर \ देवकोटा एजुकेशन फाउन्डेशन कनकाई—३ ले आफ्ना विद्यार्थीहरुको चौतर्फी विकासकालागी यसै सातादेखि बुक—फ्री अवधारणालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएको छ ।

प्रत्येक महिनाको दोश्रो आइतबार यहाँ अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा दस सम्मका सम्पूर्ण विद्यार्र्थीहरु पाठ्यसामग्री नबोकी विद्यालय आउने वातावरण बनाइएको विद्यालयका संचालक हरिप्रसाद फुयालले जानकारी दिए ।
वालवालिकालाई खेलाउँदै पढाउँदै गर्दा शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने भन्दै विद्यालयले विद्यार्थीलाई बिदा दिँदै आएको हरेक महिनाको दोस्रो आइतबार अब कक्षाकोठा भन्दा बाहिर राखेर सिकाइलाई सहजीकरण गर्ने योजना बनाएको विद्यालयका संचालक फुयाल बताउँछन् ।
परम्परागत सिकाईले मात्र विद्यार्र्थीको चाहानालाई सम्बोधन गर्न अबको दिनमा नसकिने भएकोले विद्यालयले यस किसिमको शिक्षण सिकाईलाई प्रयोगमा ल््याएको हो । बिना पुस्तक र बिना युनिफर्म विद्यालय आउन पाउने भएपछि विद्यार्र्थीहरु अत्यन्तै उत्साहित एवं खुशी देखिएको विद्यालयका सहायक प्रिन्सिपल लेखनाथ गुरागाँई बताउँछन् । नृत्य, गायन, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत ट्रेकिङ, फिल्ड भिजिट र स्विमिङ्लाई विशेष महत्वका साथ प्याकेज बनाएर अगाडि बढाउने लक्ष्य विद्यालयले लिएको सहायक प्रिन्सिपल गुरागाँईले जानकारी दिए ।