कनकाई खबर \ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा झापाको कनकाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

सवारी इकाई कनकाईले आयोजना गरेको प्रतियोगिता सरकारी सवारी चालक एसोशिएसन झापाको व्यवस्थापन एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । सरकारी सवारी चालक एसोशिएसन झापाका महासचिव ख्यामराज नेपालको अध्यक्षता एवं कनकाई नगरपालिकाका निमित्त नगर प्रमुख दीर्घबहादुर थापाको प्रमुख आतिथ्य रहेको प्रतियोगिताको एक विशेष कार्यक्रमका विच समुद्घाटन भएको हो । प्रमुख अतिथी थापाले रिवन काटेर नगरपालिका परिसरबाट सुरुवात गरेको म्याराथन दौड प्रतियोगिता भृकुटी मार्ग हुँदै दुर्गापुरस्थित भृकुटी माविको छेउबाट लोकमार्गको बाटो भएर पृथ्वीनारायण शाहको शालिक हुँदै नगरपालिका सम्मको यात्रा तय गरेको कार्यक्रम संयोजक सवारी इकाई कनकाईका ईञ्चार्ज रोहित कोइरालाले जानकारी दिए ।

कनकाई नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी गरी ६० बढीको संख्यामा सहभागी भएका प्रतियोगीहरु मध्ये पुरुषतर्फ सामाजिक सुरक्षा तर्फका कर्मचारी मनिष भट्टराई र महिला तर्फ कार्यालय सहयोगी मिरा चर्मकारले उपाधि हात पारे । उनीहरु दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथी निमित्त नगर प्रमुख थापाले क्रमशः नगद ५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरे ।
पुरुष तर्फको दोस्रो स्थान कर्मचारी सचिन बस्नेत र तेस्रो स्थान सुरक्षा तर्फका कर्मचारी ज्ञानेन्द्र खनालले क्रमशः ३ हजार र एक हजार नगद सहित प्रमाण पत्र र ट्रफी हात पारे । शान्त्वना पुरस्कार वडा नं.७ का वडासचिव इन्द्र बजगाँई, धिरज मुर्मु, रोहित मल्लिक, टिकाराम थापाले समेत नगद सहित प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यता महिला तर्फ दोस्रो निर्मलादेवी दनुवार, तेस्रो मनिता राई र शान्त्वना क्रमशः लक्ष्मी राई, गंगा विष्ट, जमुना कटुवाल र प्रियंका गौतमले समेत नगदसहित प्रमाण पत्र र ट्रफी प्राप्त गरे । प्रतियोगितामा दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले १ हजार नगद र शान्त्वना हुनेले जनही ५ सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
कनकाई नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेकपा एमालेका युवा नेता रविन्द्र लम्साल, कनकाई नगरपालिका वडा नं.२ का वडाअध्यक्ष बलराम राई (प्रताप), वडा नंं.५ का वडाअध्यक्ष कृष्ण राई, वडा नं.७ का वडाअध्यक्ष भीष्म सिटौला, वडा नं.८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं. ९का वडा वडाअध्यक्ष राजेन्द्र उप्रेती लगायतले विजेतालाई पुरस्कार प्रदान गरे ।

आयोजक सवारी इकाई कनकाई नगर समितिका सदस्य शोभित राईले स्वागत गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि थापाले प्रतियोगितामा उत्साहजनक रुपमा सहभागी भएका सबै जनप्रतिनिधि एवं कर्मचारीहरुप्रति आभार प्रकट गरे । खेलकुद क्षेत्रका जुनसुकै विधामा भएको सक्रियताका कारण व्यक्तिको मनोवल उच्च हुने र कार्यक्षमतामा वृद्धि हुने कुरामा जोड दिँदै प्रमुख अतिथी थापाले मजदुर दिवसको अवसर पारेर संचालन भएको मिनी म्याराथन दौड आँफैमा महत्वपुर्ण कार्यक्रम रहेको प्रष्ट पारे । आयोजक सवारी इकाई कनकाई नगर समितिका ईञ्चार्ज एवं कार्यक्रम संयोजक रोहित कोइरालाले यस किसिमको प्रतियोगिताबाट जनप्रतिनिधि र कर्मचारी विचको सम्बन्ध थप सुमधुर बन्ने कुरामा जोड दिँदै कार्यक्रमले पुर्नताजगी एवं स्वस्थ रहन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
