कनकाई खबर \ झापाको कनकाईमा क्रियाशिल ज्येष्ठ नागरिकहरुको संस्था ज्येष्ठ नागरिक संघ कनकाईको प्रथम अधिवेशनबाट अध्यक्षमा शम्भुप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन् ।

स्थानीय स्तरका विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको नेतृत्व तहमा क्रियाशिल पोखरेलले तीन कार्यकाल सम्म संघको सचिवको जिम्मेवारी सफलतापुर्वक सम्हालेका थिए । शुक्रबार ज्येष्ठ नागरिक संघ कनकाई वडा नं.७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न अधिवेशनले आगामी तिन वर्षे कार्यकालकालागि अध्यक्षमा पोखरेलसहित दुईजना उपाध्यक्ष चम्पा खनाल सुवेदी र भुमीचन्द्र मिश्र, सचिवमा कृष्णप्रसाद घिमिरे, सहसचिवमा विनोद शर्मा दहाल र कोषाध्यक्षमा सुलोचना आोली गरी मुख्य ६ वटा पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । १९ सदस्यीय जेष्ठको नगर समितिमा वडाको संयोजकलाई नै नगर सदस्यका रुपमा राख्ने व्यवस्था रहेकाले अन्य ४ जना सदस्य भने मनोनीत गरी समितिलाई पूर्णता दिएको ननिर्वाचित नगर अध्यक्ष पोखरेलले जानकारी दिए ।
नेतृत्व चयनकालागि संघको सदस्य साथै वडा नं.२ का संयोजक ताराप्रसाद खनालको संयोजकत्वमा श्याम पौडेल र कविता बस्नेत सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मतकालागि महत्वपूर्ण भुमिका खेलेको बताइएको छ ।
संघको विधान अनुसार कनकाई नगरपालिकाका नौ वटै वडामा यस अघि नै वडाअधिबेशन सम्पन्न भइ वडाको कार्यसमिति चयन भएको छ ।

ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशनका अवसरमा समाजको फरक क्षेत्रका तीनजना व्यक्तित्वलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा कनकाई ४ कोटीहोम स्थित कनकाई घाटमा हरेक दिन शव व्यवस्थापनमा क्रियाशिल योगराज धमला, त्यस्तै कनकाई ७ दुर्गापर निवासी व्यवसायी अम्बिकादेवी उप्रेती कुइँकेल र चित्रकार हिम्मत नेम्माङ रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, ज्येष्ठ नागरीक संघ जिल्लाका अध्यक्ष ईश्वरीप्रसाद तिम्सिना लगायतले दोसल्ल्ला, नगदसहित सम्मान पत्र प्रदान गरे ।
संघको कनकाई नगर अध्यक्ष पुण्यप्रसाद बाराकोटीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको सभामा अध्यक्ष बाराकोटीले संस्थाको तर्फबाट भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्षको प्रतिवेदन सचिव शम्भुप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।

संघका उपाध्यक्ष गोपाल प्रसाद चुडालले साव्दीक स्वागत गरेको कार्यक्रममा धार्मिक व्यक्तित्वद्वय टिकाराम निरौला र रघुनाथ भट्टराईले स्वस्ती वाचन गरेका थिए । सचिव पोखरेलले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी कनकाई नगर प्रमुख पोखरेल, उपप्रमुख आशा शिवाकोटी, जिल्ला संघ झापाका अध्यक्ष ईश्वरीप्रसाद तिम्सिना, कनकाई २ का वडाअध्यक्ष प्रताप राई, सम्मानित व्यक्तित्व हिम्मत नेम्माङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।औपचारिक कार्यक्रमको संचालन निवर्तमान सचिव शम्भुप्रसाद पोखरेलले गरेका थिए ।
