कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले महिलाहरुलाई लक्षीत गरी पाठेघरको मुखमा हुने क्यान्सर तथा अन्य रोगसँग सम्बन्धित दुई दिवशीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले स्क्रिनिङ्ग क्याम्पका रुपमा कनकाई नगर अस्पतालमा शिविर संचालन गरेको स्वास्थ्य शाखाकी फोकल पर्सन टिका दवाडीले बताएकी छन् । शिविरमा २५० बढी महिलाहरुको स्वास्थ्य परिक्षण गरिएकोमा १२ जनामा सामान्य समस्या देखिएकाले थप स्वास्थ्य परिक्षणसहितको उपचारकालागी नगरपालिकाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइएको फोकल पर्सन दवाडीले बताइन् । स्वास्थ्य परिक्षणबाट समस्या देखिएका महिलाहरुलाई विर्तामोडस्थित विएण्डसी अस्पतालसँग समन्वय गरी थप उपचारकालागि कनकाई नगरपालिकाले व्यवस्था मिलाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
अस्पतालका प्रमुख डाक्टर अभिषेक नायकको अध्यक्षतामा संचालन भएको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले महिला लक्षीत स्वास्थ्य शिविरबाट नगर क्षेत्रका बढी भन्दा बढी महिलाहरु लाभान्वीत हुने कुरामा आँफू विश्वस्त रहेको बताए । पछिल्लो समय कनकाई नगरपालिका क्षेत्रमा समेत क्यान्सरका विरामीको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै रोग लाग्नु भन्दा पहिले नै रोकथामको उपायमा लाग्नु उचित हुने कुरामा जोड दिँदै नगर प्रमुख पोखरेलले नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष कार्यक्रम बनाएको बताए । स्वास्थ्य परिक्षणबाट समस्या देखिएका महिलाहरुलाई नगरपालिकाकै तर्फबाट तत्काल उपचारको दायरामा ल्याउँने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।
स्वास्थ्य शाखाकी फोकल पर्सन टिका दवाडीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रम कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले संचालन गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, नगर अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
