कनकाई खबर डेक्स / नेपालकै पहिलो विद्युत चुहावट मुक्त नगरका रुपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न बर्गका नगरवासीहरुलाई एक कार्यक्रमका विच सोमवार निशुल्क विद्युत मिटर वितरण गरिएको छ । कनकाई नगरपालिका परिसरमा आयोजना गरिएको निशुल्क मिटर बक्स वितरणको कार्यक्रममा स्थानीय ८० वर्षिया जेष्ठ सदस्य कृष्णमाया राईलाई मिटर बक्स वितरण गर्दै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।
वितरणको पहिलो दिन कनकाई नगरका वडा नं.१,२ र ३ का विपन्न बर्ग र समुदायको पहिचान गरि वडाको सिफारीसमा १ सय ३५ जनालाई मिटर बक्स वितरण गरिएको वताइएको छ । विद्युत मिटर लिएपछि यसअघि आँफूसँग जग्गाको धनीपुर्जा नभएर आर्थिक अभावका कारणले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको विद्युत विस्तार तर्फका स्थानीय सहजकर्ता श्याम ओलीले वताउँनुभएको छ ।
कनकाई नगर क्षेत्रमा रहेका लक्षित वर्गका ४ सय ५० वटा घर धुरीलाई क्रमिक रुपले वडामा कार्यक्रमको आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगर प्रमुख पोखरेलले वताउँनुभएको छ । निर्वाचनका समयमा घोषणा गरे अनुसार कनकाई नगरलाई उज्यालो नगरीका रुपमा व्यवस्थित गर्ने कार्यलाई नगर प्रमुख पोखरेलले निरन्तरता दिँदै आउँनुभएको छ । एक वर्ष अगाडी मात्र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कनकाई नगरपालिकालाई नेपालकै पहिलो विद्युत चुहावट मुक्त नगरका रुपम घोषणा गरिसक्नुभएको हो ।

कनकाई नगरपालिकाको संयोजन रहेको सोमवारको विद्युत मिटर वितरणको कार्यक्रम नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले संचालन गरेको हो । निर्देशनालयका संयोजक राजनऋषि कडेंलले वर्तमान अवस्थामा आम उपभोक्ताहरुको हितलाई संकुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलव्ध गराउँने संस्थाको उद्येश्य अनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको वताउँनुभएको छ ।
महिला सेवाग्राहीहरुलाई समेत प्राथमिक्तामा राखेर समावेशी सिद्धान्तका आधारमा सहभागी गराई हरेक ग्राहकको जीवनस्तरमा सुधार ल्याउँन संस्थाको तर्फवाट विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु समेत संचालन गरिरहेको निर्देशनालयका कानुन अधिकृत निलकण्ठ शर्माले प्रष्ट पार्नुभयो । कार्यक्रमकै अवसरमा प्राधिकरणको झापास्थित अनारमनी वितरण केन्द्रवाट निर्मित विद्युत चुहावट नियन्त्रण जनचेतना अभिवृद्धिमूलक गिति संगीत लोकार्पण गरिएको वितरण केन्द्र अनारमनि झापाका प्रमुख जितेन्द्रकुमार झाले वताउँनुभएको छ । पहिलो चरणको निशुल्क विद्युत मिटर वितरण कार्यक्रममा नगर प्रमुख पोखरेलसहित उपप्रमुख मन्जु प्रसाई, निर्देशनालयका संयोजक राजनऋषि कडेंल, कानुन अधिकृत निलकण्ठ शर्मा,वडाअध्यक्षहरु रोशनराज पोखरेल, परशुराम गिरी, रुद्रप्रसाद चिमरीया लगायतले मिटर वितरण गर्नुभएको थियो ।