शिक्षा, स्वास्थ्यदेखि चिया र विषाधियुक्त तरकारीका विषयमा छलफल
झापा \ झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ ।
समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो ।
वैठकले सीमान्तकृत सन्थाल समुदायको पहिचान र आत्मासम्मानको कदर गर्दै यसअघि लेखिदैँ आएको ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको छ । यस अघिका कागजात तथा रेकर्डमा रहेको अपमानित शब्द ‘सतार’ सच्याउने र तीनै तहका सरकारमा सोहि बमोजिम कार्यान्वयन गर्न गराउन ध्यानकर्षण सहित आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । समुदायलाई होच्याउने, अपमानित गर्ने तथा भावनामा ठेस पु¥याउने ‘सतार’ शब्द नेपाली शब्दकोष, नागरिकता, सरकारी दस्ताबेज, पुस्तकहरूमा तत्काल सच्याउन सन्थाल समुदायले तीनै तहका सरकारसमक्ष माग गर्दै आएका छन् ।
महत्वपूर्ण सरकारी कागजातमा सन्थाल जातिको पछाडि ‘सतार’ शब्द लेखिँदा आफूहरूले अपमानित महसुस गरेको सन्थाल समुदायको गुनासो छ । सन्थाल समुदायको हरेक प्रमाणपत्र तथा दस्ताबेजमा नामको पछाडि वास्तविक थरहरू मात्र उल्लेख गर्न आग्रह गरेको छ । सन्थालका १२ वटा थर हुन्छन् ।
त्यस्तै झापाका सवै पालिकामा बिषाधियुक्त सागसब्जी र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गरिने भएको छ । जिल्लामा सवै पालिकाहरुमा विषाधीयुक्त सागसब्जी तथा गुणस्तरहीन माछा मासुको आयातको नियन्त्रणलाई प्रभावकारी बनाउने वैठकले निर्णय गरेको छ । उक्त कार्यकालागि खाद्य क्वारेन्टाइन र जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकायलाई समन्वय तथा कार्यान्वयनकालागि बैठकले आग्रह समेत गरेको छ । साथै उपभोक्ताको अधिकार रक्षा गर्दै खाद्य गुणस्तर कायम गर्न तथा मूल्य नियन्त्रण गर्न बजार अनुगमन नियमित र प्रभावकारी बनाउने समेत निर्णय भएको छ ।
बैठक चिया क्षेत्रका समस्या र त्यसको समाधानमा समेत केन्द्रित रहेको थियो । निर्यातजन्य कृषिबाली चिया क्षेत्रको क्षेत्रफल एकिन गर्ने, आवश्यक नीति बनाउने, आवश्यक पर्ने मलखादको कोटा प्रणाली पालिकाबाटै निर्धारण तथा वितरण गर्ने गराउने समेत बैठकले निर्णय गरेको छ ।
जिल्लाभरि लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा समेत सवैपालिका एकजुट भएर लाग्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । खुल्ला सीमाका कारण मुख्य चुनौतीको रुपमा रहेको लागूऔषधको नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरी कार्यालय तथा अन्य सरोकारवालासँग समन्वय गरेर कार्यमुलक तथा चेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले झापाका उपप्रमुख र उपाध्यक्षहरुबीचको समन्वय तथा असल अभ्यास सिकाई आदानप्रदानलाई नियमित र प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको छ ।
शिक्षा तथा स्वास्थ्य नीतिबारे छलफल गर्दै झापाका हरेक पालिकामा शिक्षा र स्वास्थ्य नीति बनाउने, नीति बनिसकेका पालिकामा शिक्षा र स्वास्थ्य नीति प्रभावकारीरुपमा कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको छ । पालिकाका सवै वडामा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गर्ने, केन्द्र बनिसकेका वडामा सेवा प्रभावकारी बनाउने, स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्ने नीति समेत अवलम्बन गर्ने निर्णय वैठकले गरेको छ ।
बैठकमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी र स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले नगरभित्रको शिक्षा र स्वास्थ्यका विषयमा जानकारी गराएका थिए । बैठकको अध्यक्षता गर्दै सञ्जाल संयोजक तथा मेचीनगर नगरपालिका उपप्रमुख उपे्रतीले पुस १३ र १४ गते इटहरीमा सम्पन्न झापाका १५ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको दुई दिने भेलाबाट जारी पाँच बुँदे साझा प्रतिबद्धताका बारेमा जानकारी गराइन् ।
पालिकाहरुबीच सिकाइ आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समिति बनाइएको उनले बताइन् । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने निर्णय अनुसार मेचीनगरमा बैठक सम्पन्न भएको हो ।
पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सर्वसम्मत रुपमा चयन भएकी थिइन् । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो ।
संयोजकमा संग्रौला

बैठकले आगामी समयका लागि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त संयोजक संग्रौलालाई खादा माला अविर पहिर्याएर बधाई ज्ञापन गरिएको थियो । त्यस्तै निवर्तमान संयोजक उप्रेतीले माइन्युटका साथ जिम्वेवारी हस्तान्तरण गरिन् ।
मेचीनगर नगरपालिका उपप्रमुख तथा निवर्तमान संयोजक मीना पोखरेल उप्रेती, कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाकी रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्यमा चयन भएका छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । आगामी वैठक आवासिय रुपमा इलामको रोङमा गर्ने समितिले निर्णय गरेको छ ।
नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुदै आएको छ ।
