कनकाई खबर \ झापाको कनकाई–१ जामुनबारीस्थित कालिकादेवी मन्दिर परिसरमा सप्त अहोरात्रीय युगल नारायण महायज्ञ सुरु भएको छ ।

मैनाली समाज झापाको आयोजनामा सोमबारदेखी सुरु भएको महायज्ञको एक विशेष समारोहका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल एवं महायज्ञ आयोजक समितिका संयोजक मीनप्रकाश मैनालीले संयुक्त रुपमा द्विप प्रज्वलन गरेर उद्घाटन गरे । उद्घाटन विशेष समारोहमा प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगर प्रमुख पोखरेलले पितृ उद्धारकालागि मैनाली बन्धुबाट भएको पवित्र कार्यको प्रशंसा गरे । धर्म र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा सबै जातजाती एक ठाउँमा रहनु पर्ने भन्दै नगर प्रमुख पोखरेलले प्रत्येकले आ–आफ्नो भाषा एवं संस्कृति संरक्षणमा एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । कनकाई नगरीमा सुरु भएको यो पवित्र महायज्ञबाट सबैमा सद्वुद्धि प्राप्त होस् भन्ने कामना गर्दै नगरप्रमुख पोखरेलले महायज्ञले देशविदेशमा समेत सकारात्मक सन्देश छर्न सक्ने विश्वास व्यक्त गरे ।

झापा जिल्लामै पहिलो पटक संचालन भएको महायज्ञ आगामी चैत्र ६ गते सम्म हुने बताइएको छ । सोमबारदेखी सुरु भएको महायज्ञ ७ दिन ८ रात अखण्ड पाठसहित सञ्चालन हुने आयोजक समितिका संयोजक मीनप्रकाश मैनालीले बताए । संयोजक मैनालीको अध्यक्षतामा भएको उद्घाटन विशेष समारोहमा सह–संयोजक डिल्लीराम मैनालीले उपस्थित सबैमा शाव्दीक स्वागत गरेका थिए ।
सबै हिन्दुहरूकालागि खुल्ला रहने महायज्ञमा २४ जना पहेंला बस्त्र लगाएका ब्राम्हण साधकद्वारा निरन्तर २४ घण्टा ७ दिन सम्म यज्ञ स्थलमा नारायण भजन निरन्तर संचालन हुने सह–संयोजक डिल्लीराम मैनालीले जानकारी दिए । महायज्ञमा आचार्य अजितप्रसाद गौतम प्रमुख कथावाचकका रुपमा रहेका छन् ।
विश्वभरका सम्पूर्ण पितृहरुको कल्याण, विश्वशान्ति तथा धार्मिक जागरणकालागि सप्ताह महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक समितिका सचिव रामप्रसाद मैनालीले जानकारी दिए ।
