कनकाई खबर \ झापाको सुरुङ्गामा जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
बिहिबार आयोजक समितिले सुरुङ्गामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारीका साथै खेलका विभिन्न विधाका बारेमा जानकारी गराएको छ । सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा सुक्रबारदेखि सुरु भई आइतवार सम्पन्न हुने प्रतियोगितामा झापाका १५ वटै पालिकाबाट ९२ जना खेलाडी सहभागी हुने भएका छन् ।
पहिलो चरणमा यस अघि पालिका स्तरीय छनौट प्रतियोगिता सम्पन्न भइसकेपछि हाल दोस्रो चरणको जिल्ला स्तरीय प्रतियोगिता संचालन हुन लागेको जिल्ला खेलकुद विकास समिति झापाकी उपाध्यक्ष गंगा कोइरालाले बताएकी छन् । यो दोस्रो चरणको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने खेलाडी तथा टिमले प्रदेश स्तरीय प्रतियोगितामा जानुपर्ने साथै त्यसपछिका पनि विजेता खेलाडीले चैतको पहिलो सातामा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँनु पर्ने उपाध्यक्ष कोइरालाले जानकारी दिएकी छन् ।
विद्यालयमा अध्ययनरत १५देखी १८ वर्ष सम्मका विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाउँने भएको जिल्ला खेलकुद विकास समिति झापाका प्रवक्ता एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक जगन कार्की दुरवासाले बताएका छन् । प्रतियोगितामा झापाका १५ वटै पालिकाबाट चार समूहका १८ वटा फरक फरक विधामा प्रतिस्पर्धा हुने संयोजक कार्कीले जानकारी दिए ।
कनकाई माविको खेलमैदानमा संचालन हुने जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेपालमै पहिलो पटक झापा जिल्लाले उद्घाटन गर्न लागेको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए । कनकाईलाई खेलकुदको हब बनाउँने अभियानमा लागेको कनकाई नगरपालिकाले झापा जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा जिल्लास्तरको प्रतियोगिता संचालन गर्न लागेको नगर अध्यक्ष तिम्सिनाले बताए । प्रतियोगिताकालागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै नगर खेलकुद विकास समितिका अध्यक्ष तिम्सिनाले खेललाई मर्यादित र अनुशासित बनाउँन सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
सुरुङ्गाको विभिन्न विद्यालयमा संचालन हुने प्रतियोगितामा छात्र÷छात्राको भलिबल प्रतियोगिता ग्लोबल एडुकेयरमा हुने छ भने कबडी र मार्सलाटका सबै खेल पशुपति अंग्रेजी माविमा संचालन हुने बताइएको छ । अन्य एथलेटिक्सका सबै खेलहरु कनकाई माविमा संचालन हुने जिल्ला खेलकुद विकास समिति झापाका सदस्य सि.एम. खनालले जानकारी दिए / प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैंयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने १० लाख पचास हजार रुपैंयाँ प्रदेश खेलकुद विकास बोर्डसँग माग गरिएको र वाँकी रकम कनकाई नगर खेलकुद विकास समितिबाट सहयोग प्राप्त हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु कुमार नेम्वाङले जानकारी दिए ।
झापा क्षेत्र नं. ४ का संघीय सांसद एल.पी. साँवा लिम्बूले शुक्रबार १बजे प्रतियोगिताको उद्घाटन गर्ने गरी कार्यक्रमको तय गरिएको जानकारी गराउदै जिल्ला खेलकुद विकास समितिका प्रवक्ता एवं खेलकुद संयोजक जगन कार्की दुर्वासाले प्रतियोगितामा उपस्थित भई खेलको भरपुर मनोरञ्जन लिन समेत सबै खेल प्रेमी महानुभावहरुमा अनुरोध गरेका छन ।
पत्रकार भेटघाट कार्यक्रममा कनकाई माविका प्रअ कर्णबहादुर डाँगी , जिल्ला खेलकुद विकास समिति झापाकी सदस्य पुर्णिमा सिटौला ,ईन्दिरा कडेल चुडाल , भलिबल संघ केन्द्रीय समिति उपाध्यक्ष मदन खड्का , भलिबल संघ प्रदेस समितिका महासचिव लेखनाथ पराजुली , जुडो प्रशिक्षक जगत खड्का , दुर्गाराज निरौला , दिपेश निरौला , बद्रि बिष्ट , कनकाई नगर खेलकुद विकास समिति सदस्य राजु पाठक लगायतको उपस्थित रहेको थियो ।
