झापा \ झापा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख बनेपछि सहारा नेपाल साकोसले खुशी व्यक्त गर्दै सम्मान गरेको छ ।

संस्थाको १९७३ नंं. का सेयर सदस्य रहेका सभामुख घिमिरेलाई सहारा नेपाल साकोसले संस्थाको कार्यालयमै आमन्त्रण गरी संचालक समिति, कर्मचारी साथै सेयर सदस्यहरु विचमा दोसल्ला ओडाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो । सहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशी, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लगायतले सभामुख घिमिरेलाई संस्थाका तर्फबाट सम्मान गरेका हुन् ।
सोही अवसरमा सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्याहरु समाधानको पहल गरिदिन सभामुख समक्ष तीन बुँदे ध्यानाकर्षण पत्र पनि दिइएको छ । झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा प्रदेश नं. १ का इन्चार्ज समेत रहेका सहारा नेपाल साकोसका कार्यकारी निर्देशक गिरीले सहकारी अभियानको तर्फबाट समसामयिक समस्याहरु समाधानका लागि सभामुखलाई सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

केही समयदेखि सहकारी अभियानप्रति नै नकारात्मक सन्देश प्रवाह हुने गरी धावा बोलिँदै गरेका घटनाहरु बढ्दै गएकाले यस्ता गतिविधिहरु तुरुन्त रोक्न, सहकारी संस्थामा व्यक्तिगत बचत २५ लाखभन्दा बढी राख्न नपाउने गरी हुन लागेको संशोधन रोक्न एवम् सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नभई दोस्रो नियमनकारी निकायबाट गर्न गराउन पहल गरिदिन सभामुख समक्ष माग गरिएको छ ।
सो ध्यानाकर्षण पत्र तथा सम्मानपत्र ग्रहण गरेसँगै सभामुख घिमिरेले अभियानको विपक्षमा हुने गरी कानून बनाउन नदिने बताए । ‘ऐनहरु बनाउँदा सम्बन्धित समितिमा छलफल भएर मात्र सदनमा आउँछ’ सभामुख घिमिरेले भने, ‘प्रतिनिधि सभाका सदस्यहरुको तुलनामा मेरो भूमिका गौण हुनसक्छ, आफू अम्पायर मात्र हुँ तर पनि म अभियानको विपक्षमा हुने गरी बनाइने कानूनहरु बारे पुनः विचार गर्नका लागि आग्रह गर्नेछु ।’
आफू सेयर सदस्य भएको संस्थाले कार्यालयमा नै बोलाएर सम्मानपत्र प्रदान गरेर काम गर्ने हौसला बढाएकोमा सभामुख घिमिरेले संस्था परिवारप्रति धन्यवाद पनि दिएका छन् ।
