
कनकाई खबर डेक्स \ झापाको कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका पूर्ण अपाङ्गता भएका झकडवहादुर दर्जीले शौचालयसहितको तीन कोठे घर पाएपछि आँफूले नयाँ जीवन पाएको अनुभव गर्दै दङ्ग परेका छन् ।
कनकाई नगरपालिकाले विपन्नकालागि निर्माण गरेको मेयर आवासमा बसोवासकालागि दर्जीले सुविधा सम्पन्न घर पाएपछि आँफू दङ्ग हुँदै जनप्रतिनिधीको प्रशंसा गर्न थालेका हुन् । जनप्रतिनिधीहरुले स्थानीय तहको नेतृत्व सम्हालेसँगै मुलुकभरी नै यतिबेला विपन्न वर्गकालागि वसोवासको उचित व्यवस्था मिल्दै गएको छ ।
जनप्रतिनिधीहरुको यस्तै सक्रियताका कारण जन्मदै घरवार विहिन भएर वषौैंसम्म सडकमा जीवन विताएका वेपत्ता परिवारले समेत राहत महशुस गर्न थालेका छन् । लामो समयसम्म घरवार विहिन भई कष्टकर जीवन विताउँदै आएका परिवारले शौचालयसहितको घर पाउँदा भगवानको नजर परेको भन्दै खुशी व्यक्त गरेका छन् । यस्तै खु्शीमा डुबेका मध्ये झापा कनकाई नगर क्षेत्रमा मागेर आफ्नो परिवारमा भएका चारजनाको जिविकोपार्जन गर्दै आएका ५८ वर्षिया झकडबहादुर दर्जीको यतिवेला मुहारमा खुशी छाएको छ ।
अपाङ्गता नै भएकी आफ्नी श्रीमति अम्विकाको सहारा लिएर ह्वील चेयरवाट दैनिक मागेरै दर्जी दम्पतीले परिवारको गुजारा चलाइरहेका छन् । दुई छोराछोरी सहितको कष्टकर जीवन विताउँदै आएका दर्जीले सुविधा सम्पन्न घर पाएपछि अपाङ्ग भएपनि आँफूमा सपाङ्गका युवाको जस्तै उत्साह बढेको वताएका छन् । कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले आफ्नै गाडीमा ल्याएर मेयर आवासमा बसोबासको व्यवस्था मिलाएपछि नगर प्रमुख पोखरेललाई आँफूले भगवानको रुपमा हेर्ने गरेको भन्दै दर्जीले खुशी व्यक्त गरेका हुन् ।
जीवनमा आँफूले कहिल्यै कल्पना नै नगरेको घर पाएपछि दङ्ग परेका दर्जीले जनप्रतिनिधी आएपछिको समय अझै सहज र सुविधा सम्पन्न हुने आशा गरेका छन् । सरकारवाट आउँने सवै सुविधा उपभोग गर्नकालागि आँफू अझै भर्खरको उमेरमा झर्न पाए हुन्थ्यो भन्ने दर्जीको चाहाना छ । दर्जी परिवारसँगै सोही ठाउँमा हाल तीलवहादुर लिम्वू, गंगामाया लिम्वू, चैतु राजवंशी, मनीराम राई बस्दै आएका छन् । नेपाल रेडक्रस सोसाईटीले बाडीपिडीतहरुकालागि २०४५ सालमा बनाइदिएको टहरामा दर्जी बाहेक लिम्वू, राजवंशी र राई पहिलेदेखी नै बस्दै आएका थिए । तत्कालिन समयमा रेडक्रसले निर्माण गरिदिएको टहरा भएको जमिन स्थानीय समाजसेवी भानुभक्त उप्रेती र छोरा यादव उप्रेतीले उपभोग गर्दै आएको ऐलानीप्रति जमिनवाट सहयोग स्वरुप प्राप्त भएको वताइएको छ । रेडक्रसले बनाइदिएको सवै टहराहरु भत्कीएर दिनप्रतिदिन जिर्ण बन्दै गएपछि उनीहरुको बसोबासको अवस्था ज्यादै कमजोर बन्दै गएको थियो ।
कनकाई नगरपालिकाको वडा नंं. ७ मा विपन्नकालागि निर्माण भएको मेयर आवासमा हाल ११ वटा घर निर्माण भइसकेका छन् भने अन्य आठवटा घर निर्माणाधीन अवस्थामा रहेको निर्माण समितिका संयोजक प्रेमप्रसाद उप्रेतीले वताएका छन् । जनप्रतिनिधीले स्थानीय तहको नेतृत्व सम्हालेपछिको पहिलो र दोस्रो आर्थिक वर्षको वजेटवाट कनकाई नगरको ५५ लाख, सहारा नेपालको १५ लाख, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय सरकारवाट ४० लाख र नगरप्रमुख राजेन्द्र पोखरेलवाट २ लाख गरी पहिलो चरणमा एक करोड १२ लाखको लागतमा मेयर आवास निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पोखरेलले वताएका छन् ।
विकास निर्माणका गतिविधीहरुलाई निरन्तरता दिँदै आएको कनकाई नगरपालिकाले मेयर आवास योजना अन्तर्गत आर्थिक रुपले अति विपन्न परिवारको पहिचान गरी पहिलो चरणमा ११ वटा परिवारलाई वसोवासको व्यवस्था मिलाउँनकालागि निर्माण कार्य सम्पन्न भएको वताइएको छ ।
सोही क्षेत्रमा रहेको ३ कठ्ठा १७ धुर जमिनमा दिर्घकालीन रुपमा आवास संचालनका लागि मेयर आवास कोषको व्यवस्थापन गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले वताएका छन् । मेयर आवासमा वसोवासकालागि २५ वर्षदेखी कनकाई नगर क्षेत्रमा नै निरन्तर वसोवास गर्दै आएका, एकाघरको परिवार भित्रका कुनै पनि सदस्यको नाममा जग्गा जमिन नभएको, आर्थिक रुपले अति विपन्न परिवारलाई प्राथमिक्तामा राखेर अघि बढ्ने योजना रहेको नगर प्रमुख पोखरेलले वताए । विपन्नकालागि आवास निर्माणको कार्यलाई नगरभरि नै निरन्तरता दिँदै जाने कनकाई नगरका प्रमुख पोखरेलले प्रतिवद्धता जनाएकाा छन् ।