कनकाई खबर \ प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको स्वस्थ आलोचना गरिदिन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
सुरुङ्गा जेसीजको १४ औं पदहस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले काम गर्ने सवालमा कमजोरी हुन सक्ने कुरा स्विकार्दै समृद्ध प्रदेश निर्माणको अभियानमा आवश्यक्ताअनुसार स्वस्थ आलोचनालाई आँफूले सकारात्मक रुपमा लिने बताए ।प्रदेश १ का जनतालाई समृद्धिको महसुश हुने गरीको काम गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कार्कीले सकारात्मक अनि उर्जाशिल जेसीजका युवाहरुसँग प्रदेश सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।समाज रुपान्तरणका लागि व्यक्तिमा परिवर्तन हुनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले यो परिवर्तन अब सकारात्मक सोच भएका युवाबाट सम्भव हुनेमा उनको जोड थियो ।
झापा जिल्ला प्रदेश १ कै लागु औषधको सबैभन्दा ठूलो हब बनेको बताउदै जेसीज जस्ता सामाजिक संस्थाले लागू औषध नियन्त्रण कार्यमा प्रदेश सरकारलाई साथ दिन मुख्यमन्त्री कार्कीले आग्रह गरे । आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको बेला ‘सगरमाथा टिन्स क्लब’ र ‘म अघि बढ्छु’ जस्ता युवा केन्द्रित अभियान सन्चालन गरेको स्मरण गर्दै कार्कीले भने, ‘पछिल्लो सरकारले त्यस्ता कार्यक्रमको महत्व नबुझेका कारण अहिले थोरै असहज भयो ।’
देशका ७ वटा प्रदेश मध्येको सबैभन्दा विकसित र समृद्ध प्रदेशका रुपमा प्रदेश १ लाई अघि बढाउँने आफ्नो इच्छा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यस कुरामा ढुक्क रहन सम्पूर्ण प्रदेशबासीलाई आग्रह समेत गरे ।
प्रदेश सरकारको प्राथमिकता प्रदेश नामकरणको विषय भएकोले सबै दलहरूसँग साझा सहमतिको आधारमा टुंगो लगाएर जाने उनले बताए । अघिल्लो कार्यकालमा प्रदेशको नामकरण सम्म गर्न नसकेकोमा यो पटक छिटो भन्दा छिटो प्रदेशको नामकरण गरिसक्ने उनले बताए। ‘हामी धेरै ढिलो भैसकेका छौँ, अघिल्लो कार्यकालमा मन्त्री पदमा रहँदा पनि नामकरण गर्न सकिएन । त्यसैले अब पनि साझा सहमति नजुटे प्रक्रियामा गएरै भएपनि नाम जुराएरै छोडिने छ ।’, मुख्यमन्त्री कार्कीले भने ।
प्रदेश संरचना नागरिकको सेवा प्रवाहसँग जोडिएकोले त्यसलाई प्रभावकारी बनाउन तर्फ सबै लाग्नु पर्नेमा उनको जोड थियो । प्रदेश संरचनाको पाँच बर्से आवधिक समीक्षा हुनसक्ने तर यो खारेज गर्नु पर्छ भनेर हल्ला चलाउँदै हिँड्नु कसैलाई पनि नसुहाउने मुख्यमन्त्री कार्कीले बताए ।
हालको अवस्थामा१३ वटा मन्त्रालयलाई घटाएर ९ वटैमा सिमित राख्ने कुरामा अभ्यास भइरहेको बताउँदै मुख्यमन्त्री कार्कीले चुस्त दुरुस्त प्रदेश सरकारको मन्त्रालयबाट खर्च घटाएर सुशासन कायम गर्न आँफु लागेको बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशबाट भएका हिजोका कमीकमजोरीलाई हेरेर त्यसलाई सच्याउँदै अघि बढ्ने जनाएकाछन् । हिजोका कमीकमजोरीका कारण नागरिक तहबाट हुँदै आएको गलत टिका टिप्पणीहरूमा जनतालाई बुझाएर जानु पर्नेमा उनको जोड थियो ।
