कनकाई खबर \ कनकाई–६ स्थित हरिशरण किर्तन मण्डलीको आठौं साधारण सभा एवं ३० औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
साधारण सभाबाट आगामी दुई वर्षकालागि मण्डलीको नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन भएको छ। स्थानीय धार्मिक एवं सामाजिक व्यक्तित्व कमला गौतमको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । संस्था स्थापना कालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गौतमले यस अघि पनि हरिशरण किर्तन मण्डलीको नेतृत्व सफलताका साथ पूरा गरिसकेकी हुन् ।
सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा फडेन्द्र ढुङ्गाना, सचिवमा राजेन्द्रकुमार नेपाल, सहसचिवमा यमुना अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः इन्द्रप्रसाद नेपाल, उषा बस्नेत, रुद्र मिश्र, पवित्रा बिमली, खेम मिश्र, कमल उप्रेती, शोभा खरेल, कल्पना ढुङ्गेल र गणेश लम्साल रहेका छन् ।
सर्वसम्मत रुपमा चयन भएका समितिका सम्पूर्ण पदाधिकारीसहित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दिर्घवहादुर थापाले अबिर साथै खादा लगाएर कार्यकालको पूर्ण सफलताको कामना गरे । सोही अवसरमा किर्तन मण्डलीका निवर्तमान अध्यक्ष समेत रहेका ८० वर्षिया विष्णुप्रसाद नेपाललाई संस्थाको जेष्ठ सदस्य साथै निवर्तमान अध्यक्षका रुपमा दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको छ । त्यस्तै जेष्ठ महिला सदस्यका रुपमा ८२ वर्षिया विष्णुमाया बाह्रकोटीलाई सम्मान गरिएको किर्तन मण्डलीका सचिव राजेन्द्रकुमार नेपालले जानकारी दिए ।
सम्मानकै क्रममा किर्तन मण्डलीका निवर्तमान सचिव दिपेन्द्र विमली, पुर्व सचिव सुर्यराज खतिवडा र स्थानीय स्तरमा निर्माण भएको जेष्ठ नागरिक चौतारी निर्माणकालागि जग्गा दान गर्ने दाता यामनाथ गौतमलाई समेत संस्थाले सम्मान गरेको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष दिर्घबहादुर थापा, जेष्ठ नागरिक संघ वडा नं.६ का अध्यक्ष पदम प्रसाद ओली लगायतले दोसल्ला सहित सम्मान पत्रबाट विशेष सम्मान गरेको जनाइएको छ ।
हरिशरण किर्तन मण्डलीकी अध्यक्ष कमला गौतमको सभापतित्व एवं कनकाई ६ का वडाअध्यक्ष थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाकी अध्यक्ष गौतमले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै सचिव राजेन्द्रकुमार नेपालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको बन्द सत्रले दुवै प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन गरेको बताइएको छ । संस्थाका उपाध्यक्ष फडेन्द्र ढुङ्गानाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष दिर्घवहादुर थापा, जेष्ठ नागरिक संघका वडाअध्यक्ष पदमप्रसाद ओली, समाजसेवी तारा नेपाल साथै सम्मानित व्यक्तित्व विष्णुप्रसाद नेपालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव राजेन्द्रकुमार नेपालले गरेका थिए ।
