कनकाई खबर \ झापाको कनकाईमा निजी विद्यालयका अभिभावकको सहभागीतामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्याब्सन कनकाई नगर समितिले यहि माघ २३ र २४ गते दुई दिन सम्म संचालन हुने गरी आयोजना गरेको नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिता कनकाई–९ घैलाडुबास्थित कवड हलमा सम्पन्न हुने बताइएको छ । जिल्ला खेलकुद विकास समितिबाट मान्यता प्राप्त प्रशिक्षकले संचालन गर्ने प्रतियोगिता कनकाईमा पहिलो पटक हुन लागेको प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वाले जानकारी दिए ।
प्रतियाोगितामा कनकाई नगरका संस्थागत बिद्यालय (प्याब्सन \ एनप्याब्सन \ मन्टेश्वरी र स्वतन्त्र ) जुन सुकै विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले खुल्ला रुपमा भाग लिन पाउने अध्यक्ष सुब्बाले जानकारी दिए । आयोजक समितिले पत्रकार भेटघाट मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
हरेक वर्ष यस किसिमको अभिभावक केन्द्रित कार्यक्रम गर्दै आएको प्याब्सन कनकाईले अघिल्लो वर्ष “संस्थागत विद्यालयप्रति समुदायको दृष्टिकोण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । प्याब्सन कनकाईले हरेक वर्ष संचालन गर्दै आएको विद्यार्थी केन्द्रित खेलकुदको कार्यक्रम भने यहि माघ २७ गतेदेखी हुने बताइएको छ ।
अभिभावक र विद्यालयको सम्बन्ध सुमधुर बनाउने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्याब्सन कनकाईका सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले बताए । खेलको माध्यमबाट समेत विद्यार्थीमा रहेको क्षमता विकास हुन सक्ने कुरालाई मध्यनजर गर्दै प्याब्सन कनकाईले शिक्षण सिकाईसँगै खेलकुदका विभिन्न गतिविधि संचालन गर्दै आएको सचिव थापा बताउँछन् ।
निजी विद्यालयका अभिभावकले खुल्ला रुपमा भाग लिन पाउने प्रतियोगिता सम्पन्न गर्न प्याब्सन कनकाईका सचिव मोहन थापाको संयोजकत्वमा सल्लाहकार डि.आर. सुवेदी र सागर चौहान सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरी प्रतियोगिताको तयारी सुरु गरिएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ २० गतेभित्र प्याब्सन कनकाई नगर समिति अथवा आँफू अभिभावक रहेको विद्यालयमा सम्पर्क गरी फारम दस्तुर बापत रु.७५० तिरेर फारम भर्न सकिने प्याब्सनका नगर सल्लाहकार तथा आयोजक उपसमितिका सदस्य डि.आर. सुबेदीले जानकारी दिए ।
प्याब्सन कनकाईले पहिलो पटक संचालन गर्नं लागेको “नगर स्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७९” मा २० बटा भन्दा वढि टिमले सहभागीता जनाउँने अपेक्षा राखेको आयोजक उपसमितिका सदस्य सागर चौहानले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक उपसमितिका सदस्य चौहानले जानकारी दिए । प्रतियोगितामा सहभागी सवै खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगीता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैंया अनुमानित खर्च लाग्ने आयोजक उपसमितिका सदस्य सागर चौहानले जानकारी दिए । प्रतियोगिता बापत आवश्यक पर्ने खर्च कनकाई प्याब्सनले नै ब्यवस्थापन गर्ने चौहानले वताए ।
