कनकाई खबर \ तनहुँमा सरूवा भई जान लागेका झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले झापा बासीको माया र सद्भावलाई कहिल्यै नबिर्सने बताएका छन् ।

कनकाई नगरपालिकाले आयोजना गरेको फेरि भेटौला कार्यक्रम मार्फत प्रमुख जिल्ला अधिकारी रिजालको थप सफलताको कामना गर्दै कनकाईमा सम्मान जनक विदाई गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको कार्यकक्षमा एक संक्षिप्त कार्यक्रमका बिच कनकाई नगरपालिकासहित नगर क्षेत्रका एक दर्जन बढी संघ संस्थाहरूले मायाको चिनो सहित प्रमुख जिल्ला अधिकारी रिजाललाई बिदाई गरेका हुन् । कार्यक्रममा नगरका नौ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका एवं वडा सदस्य, नगरका कर्मचारीहरुले समेत कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, रोटरी क्लव अफ सुरुङ्गा, सुरुङ्गा जेसीज, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, कनकाई उद्योग बाणिज्य संघ, कनकाई छठसेवा समाज, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, कनकाई सामुदायिक वन लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु मायाको चिनोसहित उपस्थिती भएका थिए ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले झापाको बसाई सहज र सन्तोषजनक भएको बताए । कोरोना संक्रमणकै क्रममा झापा आएका रिजालले संक्रमणलाई न्युनिकरण गर्ने कार्यमा केही समय खर्चिनु परेको बताउँदै यस अवधिमा ठूलो अप्रिय घटना भने केही पनि नभएको बताए । त्यसपछि क्रमिक रुपले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा सक्रियतापुर्वक लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले पत्तै नभई एक वर्ष १२ दिन सम्मको झापाको बसाई पूरा भएको बताए । यो अवधिमा लामो समयदेखि संचालनमा आउँन नसकेको मेची नदीमाथि निर्माण भएको पुल आफ्नो समन्वयमा संचालनमा आएको बताउँदै रिजालले आफ्नो कार्यकालमा जिल्लाको शाान्ती सुरक्षा साथै न्याय सम्पादनको क्षेत्र सफल रहेको दाबी गरे ।
आफ्नो झापा बसाईकै क्रममा भएको तीन तहको सरकारको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जनप्रतिनिधिको समेत सहकार्य भएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले झापाबाट निर्वाचित तीनवटै तहका जनप्रतिनिधिहरूको सफलताको कामना गरे । झापाका अन्य पालिकाको तुलनामा सक्षम र अब्बल देखिएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको दोस्रो कार्यकालमा जनताले स्थानीय सरकारको थप अनुभुती गर्न सक्ने गरीको कार्य सम्पादन हुन सकोस् भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले एक आपसमा सहकार्य गरेर अघि बढ्न अनुरोध गरे ।
यो अवधिमा जिल्लास्थित राजनीतिक दल, संघसंस्था, नागरिक समाज, कार्यालय प्रमुखहरु साथै सम्पूर्ण कर्मचारी सहित हरेक मिडियाबाट समेत आँफूले सहयोग पाएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । व्यक्तिगत स्वार्थ नराखी काम गर्दा जोकोहीलाई पनि सहज हुने भन्दै रिजालले नेतृत्व परिक्षणका तीनवटा पक्ष सबल हुनु पर्ने बताए । व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता र सक्षम नेतृत्वका कारण जुनसुकै क्षेत्रबाट पनि सफलता प्राप्त गर्न सकिने आफ्नो अनुभव रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले झापाबासीको माया र सद्भावलाई आँफूले कहिल्यै पनि नबिर्सने बताए ।
कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले सहभागीहरू सबैलाई स्वागत गरेको कार्यक्रमको संचालन नगरका प्रशासन शाखा प्रमुख बिबेक भण्डारीले गरेका थिए।
