कनकाई खबर \ झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितामा शिवसताक्षी र बुद्धशान्ती सेमीफाइनलमा प्रवेश गरेका छन् ।
सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको आज (विहिबार) भएको दुईवटा खेलबाट गौरादह र चुलाचुलीलाई पाखा लगाउँदै शिवसताक्षी र बुद्धशान्ती सेमीफाइनलमा प्रवेश गरेका हुन् ।

शिवसताक्षी र गौरादह नगरपालिका बिच भएको प्रतियोगिताको पहिलो खेलमा शिवसताक्षीलाई गौरादहले १७ \ २५को अन्तरले पछि पारेको थियो भने त्यसपछिको सोझो सेटमा शिवसताक्षीले २५\२२, २५\२३ र २५\१८को अन्तरले पछि पार्दै सेमी फाइनलको यात्रा तह गरेको हो । खेलको म्यान अफ द म्याच शिवसताक्षीका जर्सी नं.१ का निश्चल थापा घोषित भएका थिए । उनले नगद एक हजार सहित ट्रफी प्राप्त गरे ।
सोही दिन चुलाचुली र बुद्धशान्ती विच दोस्रो खेल भएको थियो । तीन जना भारतीय खेलाडीसहित विर्तामोडका बिमान खड्काको कप्तानीमा मैदानमा उत्रिएको बुद्धशान्तीले सोझो सेटमा चुलाचुली माथि जित हात पार्यो । बुद्धशान्तीले २६\२४, २५\२१ र २५\२२ को सोझो सेटमा चुलाचुलीलाई पाखा लगाएको हो ।
खेलको म्यान अफ द म्याच बुद्धशान्तीका जर्सी नं.४ का योगेन्द्र अधिकारी घोषित भए । अधिकारीलाई सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा उप्रेती र खेल संयोजक प्रतापबाबु जमरकट्टेलले नगद एक हजार सहित ट्रफी प्रदान गरे ।
नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलमा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।
माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको छ । प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट आफ्ना भाइ स्व.विनोद प्रसाईको स्मृतिमा प्राप्त भएको छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले बताएकी छन् ।
जेसीज अध्यक्ष उप्रेतीले दिएको जानकारी अनुसार शुक्रबार सेमी फाइनलका दुईवटा खेल हुने जनाइएको छ । पहिलो खेल शिवसताक्षी र दमक नगरपालिका विच हुने छ भने दोस्रो खेल बुद्धशान्ती र झापा गाउँपालिका विच हुने बताइएको छ । प्रतियोगिताको शनिवार फाइनल खेल हुने तय भएको छ ।
