Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा–२ बाट निर्वाचित सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
    राजनीति

    झापा–२ बाट निर्वाचित सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ५, बिहीबार १४:०२ गते8 Mins Read

    काठमाडौं \ सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

    प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

    घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

    सभामुखमा नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारी माथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारी माथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

    नजिकबाट देवराज घिमिरेलाई चिनौं

    नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६ हाल श्रीजंघा गाउँपालिका वडा नं। ३ निवासी पदमप्रसाद र भिमकुमारी घिमिरेको माइलो छोराको रुपमा उहाँको जन्म भएको हो ।

    राजनीतिक रुपमा उहाँ अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज हुनुहुन्छ । उहाँलाई आजको राजनीतिक उचाईमा पुग्न नेपालको कम्युनिष्ट आन्दोलनका अनेकन आरोह अवरोहहरु पार गर्नुपरेको अनुभव छ ।

    यही २०७९ साल मंसीर ४ गते सम्पन्न निर्वाचनमा देवराज घिमिरे झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको हो । आज प्रतिनिधिसभाको सभामुख पदमा उहाँ निर्वाचित भएर उहाँले आफ्नो राजनीतिक हाइटलाई अझै अग्लो बनाउनु भएको छ । राजनीतिक रुपमा इमान्दार छवि, आदर्श व्यक्तित्व एवम् लोकप्रिय नेताको पहिचान स्थापित गर्नुभएका घिमिरेलाई नजिकबाट यसरी चिन्न सकिन्छ ।

    शैक्षणिक अवस्था

    आफ्नो गाउँमै रहेको सिंहदेवी प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा आरम्भ गर्नु भएका देवराज घिमिरेले भानु पब्लिक हाइस्कूलबाट माद्यमिक शिक्षा प्राप्त गर्नुभयो । उहाँले उच्च शिक्षा प्राप्तीका लागि धरानको महेन्द्र वहुमुखी क्याम्पसमा प्रविणता प्रमाण पत्र तह हुँदै काठमाडौको त्रिचन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गर्नु भएको छ ।

    राजनीतिक यात्रा

    अध्ययन सँगसँगै देशमा चलिरहेको कम्युनिष्ट आन्दोलनले उहाँलाई भित्रभित्रैबाट प्रभाव पारिरहेको थियो । २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोह पछि अपिल प्रसारणको लाइनबाट कमरेड देवराज नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनु भयो । त्यसपछि २०३२ मा कोअर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आवद्ध हुनुभयो ।

    विद्यार्थी संगठनको जिम्मेवारी कै सिलसिलामा २०३३ सालमा गाउँ गाउँमा पुगेर बुर्जुवा शिक्षा बहिस्कार अभियानमा सक्रिय हुनुभयो । विद्यार्थी संगठनको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण उहाँले २०३५ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता प्राप्त गर्न सफल हुनुभएको थियो ।

    देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरु मिलाएरर नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादी बनाइए पछि उहाँ पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम र पाँचथरमा पार्टी संगठन विस्तारका लागि खटिनु भयो । प्रतिवन्धित अवस्थामा ती जिल्लाहरुमा पार्टीको तल्लो तहसम्मका कमिटीहरु निर्माण गर्दा भोग्नु परेका अप्ठ्यारा र सुखद अनुभवहरु उहाँका लागि प्रेरणादायी क्षण भएको स्मरण गर्नुहुन्छ ।

    उहाँले निरंकुश पंचायती शासकहरुको अत्याचारको डटेर सामना गर्नुभएको थियो । विशेष गरी इलाममा रत्नकुमार वान्तवाको बर्बरतापूर्वक हत्यापछि पूर्वमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाई निभ्न नदिन उहाँले खेल्नु भएको भूमिका अविस्मरणीय छ ।

    त्यतिबेला कमरेड प्रदिप नेपाल र कमरेड झलनाथ खनालले इलाममा नेतृत्वदायी भूमिका निर्वाह गरे तापनि उहाँहरु राष्ट्रिय राजनीतिमा स्थापित हुने आकांक्षासहित केन्द्रीय राजनीति गर्न काठमाडौं जानुभयो । भूगोलमा उहाँहरुको भूमिका रिक्त भएपछि पार्टी कामलाई व्यवस्थित बनाउन देवराजको काँधमा जिम्मेवारी आएको थियो ।

    भूगोल राम्ररी बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि कमरेड देवराज घिमिरेलाई इलाम जिल्लामा पार्टी प्रमुखको जिम्मेवारी प्रदान गरेको थियो । उहाँले जिम्मेवारी पाइसके पछि इलाममा पार्टी संगठनले व्यापकता पाएको र पञ्चायती शासक उहाँको राजनीतिक क्रियाशिलता देखेर तर्सिन थालेको स्मरण गर्नुहुन्छ ।

    यही क्रियाशीलता सहन गर्न नसकेको शासकहरुले घिमिरेका नाममा पक्राउ पुर्जी (वारेण्ट) जारी गर्यो । एकातिर वारेण्ट जारी अर्कातिर सहयोद्दाहरुको निर्दलीय पंचायती शासकहरुले हत्या गर्दासमेत अविचलित भई पार्टीको निर्णय र निर्देशनलाई सिरोपर गर्दै नेता घिमिरेले १० वर्षभन्दा बढी इलामको पार्टी काममा समय दिनु भएको थियो ।

    पार्टीको काममा निरन्तर भूमिका निर्वाह गर्नु भएका कमरेड देवराज घिमिरेले २०४६ सालको भदौमा सिराहाको विष्णुपुरकुटीमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनुभयो । पार्टीको राष्ट्रिय भेला र महाधिवेशन उहाँको लागि यो नै पहिलो अवसर थियो ।

    तर उहाँ भूमिगत कालमा पनि विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने गरेको स्मरण गर्नुहुन्छ । २०४७ सालमा नेकपा माले र नेकपा माक्सवादी एकीकरण भई नेकपा एमाले बनेपछि २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा चुनिनु भएको हो ।

    एमालेमा नेतृत्वदायी भूमिका

    कमरेड देवराज पार्टीको केन्द्रीय सदस्य बन्नु भएपछि २०५० सालदेखि मेची अञ्चलको चारवटा जिल्ला हेर्ने इन्चार्जको जिम्मेवारी पाउनु भयो । कमरेड घिमिरेले आफ्नो इन्चार्जसिपमा सिड्गो मेची अञ्चलमा पार्टी संगठन विस्तार गर्न र चुनावमा एमालेका उम्मेदवारहरु विजयी गराउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।

    पार्टीले उहाँको कार्यक्षमता र दक्षताको उचित मूल्याङ्कन गरेर पुरस्कृत गर्नुपर्नेमा उल्टै फरक धारको भन्दै तत्कालीन पार्टी महासचिव माधवकुमार नेपालको निर्देशनमा २०५८ सालदेखि उहाँलाई भूगोल क्षेत्रको कामबाट अलग गरियो । सो परिवेशमा पनि कमरेड घिमिरेले विभिन्न केन्द्रीय विभागका जिम्मेवारीहरु निरन्तर गरिरहनु भयो ।

    उहाँले पार्टी केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज सम्हाल्नु भयो । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघ जस्ता विभागमा जिम्मेवारी दिइएको थियो । यी सबै विभागीय जिम्मेवारीलाई कुनै कन्जुस्याँईं नगरी उहाँले आफ्नो कार्यदक्षता प्रदर्शन गरेर संगठनलाई मजबुद र शसक्त बनाएको उहाँको स्मरणमा छ । यद्यपी उहाँ गुटबन्दीका कारण मारमा परिरहनु भयो ।

    नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट कमरेड केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि मात्र देवराज घिमिरेले उचित जिम्मेवारी पाउनु भयो । पार्टी अध्यक्षको सचिवालयमा रहेर कमरेड देवराजले कुशलता पूर्वक जिम्मेवारी सम्हाल्नु भएको थियो । नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भई बनेको नेकपाको प्रदेश १ को अध्यक्षको जिम्मेवारीमा रहँदा अनेकौं कठिनाइका बावजुत पनि पार्टी संगठनलाई उहाँले सांगठानिक रुपमा नै सशक्त बनाउन कोशिसहरु गरेको सुनाउनु हुन्छ ।

    उहाँले एक वर्ष पहिले २०७८ साल माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई समेत पराजय गराई नेकपा एमालेका एकजना उम्मेदवार विजय गराउनु र अर्को एक सिटमा बराबर मत प्राप्त गराउन महत्वपूर्ण भूमिका खेल्नुलाई राजनीतिक जीवनको सफल कार्य भन्न सकिन्छ । यस्तै २०७९ वैशाख ३० को स्थानीय निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका विरुद्ध एमालेका उम्मेदवारलाई जिताउन उहाँले अत्यन्तै मेहनत गर्नु भएको थियो ।

    राजनीतिक बन्दीको अवस्था

    कमरेड देवराज घिमिरेले राजनीतिमा प्रवेश गरेको १७ वर्षसम्म पञ्चायती व्यवस्था नै थियो । तर राजनीतिक रुपमा चतुर उहाँले प्रारम्भमा केही दिन प्रहरी कष्टडीको बास बस्नु परे पनि जेल जीवन चाहिँ बिताउनु परेन । तर २०६२–६३ को आन्दोलनमा भने उहाँले करिब १५ दिन प्रहरी कष्टडीको सामना गर्नुभयो ।

    सो जनआन्दोलनमा ‘जेल भरौं’ अभियान अन्तरगत उहाँले २०६२ चैत २४ गते प्रहरीलाई गिरफ्तारी दिएर २०६३ वैशाख ९ गतेसम्म कष्टडीमा बस्नुभयो । सोबेला आन्दोलनकै एउटा स्वरुपमा सबै आन्दोलनकारीले गिरफ्तारी दिने र जेलमा खचाखच भरिएर भित्रैबाट आन्दोलन गर्ने कार्यक्रम बनाइएको थियो ।

    जनप्रतिनिधिको जिम्मेवारी

    कमरेड देवराज घिमिरेले केही समय राष्ट्रिय सभा सदस्य बन्ने अवसर पाउनु भएको थियो । २०५४ सालदेखि २०६० सालसम्मको कार्यकालमा उहाँले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउनु भएको हो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञानेन्द्र शाहले अपदस्त गरी हटाएर ‘शाही कू’ गरेपछि संसद नै भंग भएकाले पूरै अवधि काम गर्न नपाएको उहाँ स्मरण गर्नुहुन्छ ।

    उतिबेला राष्ट्रिय सभा सदस्य मार्फत् विकास निर्माणको कामका लागि वार्षिक तीन लाख रुपैयाँ बजेट दिने व्यवस्था थियो । आफ्नो कार्यकालभरि दुई पटक उक्त बजेट प्राप्त गरी तत्कालीन जिल्ला विकास समितिमार्फत् पूर्वाञ्चलका जिल्लामा सामाजिक तथा विकास कार्यमा बजेट खर्चिएको उहाँको भनाई छ ।

    सामाजिक संस्थामा जिम्मेवारी

    कमरेड घिमिरेको नेतृत्वमा रहेको सुखानी शहीद स्मृति पार्कको कुशल व्यवस्थापन र लोकप्रियताले उहाँको सामाजिक जिम्मेवारीलाई छर्लङ्ग बनाइदिएको छ । मानिसहरुले लुकेर दिसा गर्ने जंगल र सामान्य पानी जमेको होली जमिनलाई व्यवस्थित गरेर निर्माण गरिएको पार्क पछिल्लो समय पर्यापर्यटनको केन्द्र बनेको छ । करिब १५ वर्षदेखि उक्त प्रतिष्ठानको अध्यक्ष रहेर उहाँले सुखानीका शहीदहरुको शालिक निर्माण गराउनु भयो । होली जमिनलाई व्यवस्थित गरेर विशाल पोखरी बनाइयो । पछिल्लो समय त्यहाँ पानीको फोहरा निर्माण गरी प्रतिष्ठानले रात्री पर्यटनको विस्तार गरेको छ ।

    देवराज घिमिरे अध्यक्ष रहनु भएकै कारण प्रतिष्ठानमा राज्यका विभिन्न निकायमा पहल गरी बजेटको व्यवस्था गरियो र नै उक्त पार्क व्यवस्थित गर्न रकम प्राप्त भयो । केही वर्षदेखि पार्कले पनि आम्दानी गर्न थालेको छ । सबै क्षेत्रबाट प्राप्त बजेट र पार्कको आम्दानी गरी ७ करोड रुपैयाँ हाराहारीमा आजको संरचना बनेको उहाँको भनाई छ । यस्तो पर्यटकीय क्षेत्र बनाउने र सामाजिक क्षेत्रमा आफूलाई उभ्याउन उहाँको पहल अनुकरणीय मानिन्छ ।

    र, अन्त्यमा …….
    कमरेड देवराज घिमिरेले पार्टीको निम्ति जे जति योगदान र भूमिका निभाउनु भयो, त्यो अत्यन्तै प्रशंसनीय छ । नेता कार्यकर्ताहरुको लागि अनुकरणीय पनि छ । तर आधा शताब्दी उहाँले पार्टी जीवनमा रहेर काम गरे पनि जनताबाट चुनिने, जाँचिने अवसर पाउनु भएको थिएन । २०४८ सालको आम निर्वाचनमा तत्कालीन पार्टी महासचिव कमरेड मदन भण्डारीले इलामको एउटा क्षेत्रबाट सांसद उम्मेदवारको लागि तयार हुनु भन्नु भएको थियो । तर कमरेड घिमिरेले मेरो व्यक्तिगत इच्छा र आकांक्षाभन्दा पनि पार्टीको स्वार्थ माथि हुने भएकाले जातीय सन्तुलन मिलाए इलामका दुवै क्षेत्रमा विजय हासिल गर्न सकिन्छ भन्ने सुझाव राख्नुभयो । नभन्दै जातीय सन्तुलन मिलाएर उम्मेदवार प्रस्तुत गर्दा दुवै क्षेत्रमा पार्टीले विजय हासिल गरेको थियो ।

    पार्टीलाई विजय गराउन आफूलाई आएको अवसरसमेत त्याग गर्ने उहाँले ६६ वर्षको उमेरमा र पार्टी जीवनको ५० वर्ष पछि पहिलो पटक जनताबाट प्रत्यक्ष चुनिने अवसर पाउनु भएको छ । उहाँलाई प्राप्त यो अवसर पूर्वी नेपालका तमाम एमालेजनको लागि एउटा उदाहरण पनि हो । निष्ठा र इमानको राजनीतिले समय कालमा सबैले एक न एक दिन अवसर पाइन्छ भन्ने एउटा उदाहरण हो देवराज घिमिरे । उहाँको वैचारिक क्षमता, सालिनता, इमान्दारिता, कम्युनिष्ट चरित्र, उच्च नैतिकता, कर्तव्यनिष्ठ र आदर्श व्यक्तित्वले योग्य व्यक्तित्वको उम्मेदवारी रहेकोमा आम मतदाता विश्वस्त हुन सकिन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.