कनकाई खबर \ आठौं राष्ट्रिय योग दिवसको अवसर पारेर झापाको विर्तामोड–२ स्थित पातञ्जल योग समितिको दैनिक योग साधना केन्द्रले दुईजना साधकलाई सम्मान गरेको छ ।

“स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना” भन्ने राष्ट्रिय नाराका साथ सम्पन्न योग दिवसको अवसर पारेर योग साधना केन्द्रले दुईजना व्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नियमित रुपमा योगमा उपस्थित हुने ६९ वर्षिय कुलप्रसाद ओली र योगअभ्यासबाट आफ्नो तौल स्थिर राख्न सफल ५९ वर्षिय गोपाल कार्की रहेका छन् । सम्मानित दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथी पातञ्जल योग समितिकी १ नं.प्रदेश कमिटि सदस्य उर्मिला ढकाल र योग साधना केन्द्रका संरक्षक झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पातञ्जल योग समिति, विर्तामोड–२की अध्यक्ष सीता मिश्रको सभापतित्व एवं प्रदेश कमिटीकी सदस्य उर्मिला ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रम चारपाने सामुदायिक सदनको सभा हलमा सम्पन्न भएको हो । चारपानेस्थित परिवर्तन सामुदायिक सिकाई केन्द्रको विशेष सहयोगमा योग समितिले नियमित योगअभ्यास संचालन गर्दै आएको सिकाई केन्द्रका अध्यक्ष डिल्लीराम सिटौलाले बताए । साधना केन्द्रका संरक्षक समेत रहेका योग साधक झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने र योग गुरु रुद्र ओलीले हरेक दिनको योगअभ्यासको सहजीकरण गर्दै आएको बताइएको छ । दैनिक योग साधना केन्द्रले सर्वाङ्गिण विकासकोलागि योग भन्ने नारालाई सार्थकता पार्न योगअभ्यासलाई निरन्तरता दिँदै जाने केन्द्रकी अध्यक्ष सीता मिश्रले बताएकी छन् ।

साधना केन्द्रका संरक्षक न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विर्तामोड २ का वडाअध्यक्ष किशोर पौडेल, साधना केन्द्रका सल्लाहकार डिल्लीराम सिटौला, योग गुरु रुद्र ओली, योग साधक निर्मला अधिकारी लगायतले आआफ्नो अनुभवसहितको मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय निर्मला उप्रेती र मुना पौडेलले कार्यक्रममा सहभागी एकसय बढीको संख्यामा रहेका योगप्रेमी व्यक्तित्वहरुलाई आँफैले बनाएर ल्याएको तिलका लड्डु वितरण गरेका थिए । औपचारिक कार्यक्रमको संचालन साधना केन्द्रका सदस्य देवी खरेलले गरेक थिए ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्दै आएको कार्यक्रममा चर्चा गरियो । जसका कारण पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको बताइएको छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने गरेको योग साधकहरु बताउँछन् ।
प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएपनि मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तकालागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थित रूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्नुका साथै यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्रका रुपमा लिने गरेको विज्ञहरु बताउँछन् ।
योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको बताइएको छ । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु हुन थालेको बताइएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो ।
