कनकाई खबर \ झापाको सुरुङ्गामा भोली मंगलबारदेखी संचालन हुन लागेको कनकाई भलिबल कपको अवलोकन गर्न कुनै पनि शुल्क नलाग्ने आयोजक समितिले जनाएको छ ।
सुरुङ्गा जेसीजको आयोजना एवं कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता अवलोकनकालागि आयोजक समितिले कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाएको आयोजक समिति सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव दुर्गा पाठक(राजु) ले जानकारी दिए । आयोजक समितिले भलिबल पारखीहरुकालागि शुल्क लिने गरीको कुनै निर्णय नै नगरेको अवस्थामा यदाकदा शुल्क लाग्ने भन्ने कुराको हल्ला आएको कारण यस विषयमा थप प्रष्ट पार्न चाहेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा उप्रेतीले बताएकी छन् ।
सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई खेल अवधिभर निर्धक्कसँगले खेलको अवलोकन गरेर आवश्यक्ता अनुसार सकारात्मक एवं रचनात्मक सल्लाह सुझाव दिनकालागि समेत आयोजक समितिले अपिल गरेको छ ।
कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन हुन लागेको प्रतियोगिता माघ ३ गते सुरु भइ ७ गते समापन हुने गरी खेल तालिका सार्वजनिक गरिसकेको छ । विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने गरी वार्षिक कार्यक्रममा व्यवस्थापन गरेको सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष एवं सहआयोजक कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।
प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिने भएका छन् ।प्रतियोगितामा विभिन्न पालिकाबाट विदेशी खेलाडीहरुको समेत सहभागीता हुने भएकाले यस पटकको भलिबल खेल थप आकर्षक बन्ने विश्वास गरिएको छ ।
