कनकाई खबर \ झापाका विभिन्न योग साधना केन्द्रहरुमा विशेष औपचारिक कार्यक्रमका साथ आठौं राष्ट्रिय योग दिवस मनाइएको छ । यसै सन्दर्भमा पतञ्जली योग कनकाई नगर समितिको आयोजनामा कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिरको सामुदायिक भवनमा योग दिवस वशेष कार्यक्रमसहित योग साधना गरिएको छ ।

“स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना” भन्ने यस वर्षको राष्ट्रिय नाराका साथ योग दिवस मनाइएको हो । पतञ्जली योग नगर समितिका महामन्त्री रामप्रसाद निरौलाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । योग दिवस विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलसहित कार्यक्रमको अध्यक्षता गरिरहेका योग समिति कनकाईका महामन्त्री निरौलाले संयुक्त रुपमा दिपप्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई पतञ्जली योग जिल्ला समिति झापाका सह–महामन्त्री योग गुरु रुद्र ओली, युवा योग गुरु प्रतापबाबु जमरकट्टेलले योग अभ्यास गराएका थिए ।
सोही अवसरमा रोग अनुसारको योग भन्ने अभियानका साथ संचालन गरिने एक महिने योगअभ्यासको उद्घाटन गरिएको छ । पतञ्जली योग लक्ष्मीनारायण साधना केन्द्र सह–आयोजक रहेको कार्यक्रममा कनकाई नगरपालिका वडा नं.८को वडासमितिको विशेष सहकार्य रहेको बताइएको छ । व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पु¥याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैलाउने उद्देश्यले योग दिवस मनाउन थालिएको बताइएको छ ।

योग दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले योग अभ्याससँगै प्रणायाम र साधनाको महत्वमाथि चर्चा गरेका थिए । यसलाई नगर क्षेत्रका सबै वडाका टोल टोलमा अभियानका रुपमा अघि बढाउँनु पर्नेमा नगर प्रमुख पोखरेलले जोड दिए । लामो समय सम्म औषधि सेवन गर्दै आएका स्थानीयवासीले केही महिनादेखि नियमित योगअभ्यास गर्न थालेपछि औषधि सेवन गर्न छाडेको बताएका छन् । पतञ्जली योग लक्ष्मीनारायण साधना केन्द्रका संयोजक समेत रहेका नगर समितिका मन्त्री(सचिव) लक्ष्मीप्रसाद ढुङ्गानाले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई ८ का वडाअध्यक्ष लीलावहादुर कटुवालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा झापाका सह–महामन्त्री रुद्र ओलीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेका थिए ।
