कनकाई खबर \ सुरुङ्गा जेसीज सन् २०२३ लाई सफल नेतृत्व प्रदान गर्न सामाजिक क्षेत्रमा खारिएका एक सफल व्यवसायी प्रविन तिम्सिना अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

युवाहरु माझ सामाजिक एकता काय राख्नुपर्छ भन्ने उद्येश्यका साथ १७ वर्षकै उमेरदेखि स्थानीय स्तरमा सुरुङ्गा क्रिकेट क्लव गठन गरी आजभन्दा २२ वर्ष अघि नै सामाजिक क्षेत्रमा प्रवेश गरेका तिम्सिना सुरुङ्गा जेसीजको स्थापना वर्ष सन्२००८देखि नै जेसीज अभियानमा समर्पित छन् । जेसिजमा प्रवेशसँगै काम गर्ने किसिमको जिम्मेवारी पाउँदा अत्यन्तै खुशी हुने तिम्सिनाले यस अघि आँफूले पाएको हरेक जिम्मेवारीलाई सफलतापुर्वक पूरा गर्दै आएका थिए ।
स्थानीय एक सफल अनि ईमान्दार व्यवसायीका रुपमा यस क्षेत्रमा स्थापित बुबा नरप्रसाद र आमा बिन्दु तिम्सिनाका दुई भाइ छोरा मध्येका कान्छा प्रविन समाज रुपान्तरणकालागि आफूले देखेको सपनालाई तत्काल बिपनामा कार्यान्वयन गर्न रुचाउँने एक उर्जाशिल युवाका रुपमा परिचित छन् । समाजमा केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका प्रविनका दाजु युवा समाजसेवी जविन तिम्सिनाले समेत यस अघि सन२०१७ मा सुरुङ्गा जेसीजको सफल नेतृत्व सम्हालीसकेका छन् । दाजु जविनबाट प्राप्त उर्जा, बुबाआमाको प्रेरणा र आशिर्वाद साथै सहयात्री साथीसँगीहरुको साथ सहयोगका कारण सामाजिक क्षेत्रमा लाग्ने थप उर्जा प्राप्त भएको बताउँने प्रविनले जीवनको छोटो समयमै आँफूले नेतृत्व गरेको सामाजिक संस्था मार्फत तीनवटा महायज्ञ सफलतापूर्वक सम्पन्न गरी यस क्षेत्रकै एक उदाहरणीय युवा बनेका छन् । पछिल्लो समय बुबा तुलसीप्रसाद र आमा अप्सरा पौडेलका तीन छोरी र एक छोरा मध्येकी जेठी छोरी खुस्बुसँग २०७१ मा विवाह बन्धनमा बाँधिएका तिम्सिनाको सामाजिक र व्यवसायिक सफलतामा थप साथ सहयोग मिलेको बताइएको छ ।

क्रिकेट क्लवको नेतृत्वसँगै स्थानीय युवाहरु विच एकआपसमा सहकार्य गर्दै लागु औषध तथा दुव्र्यसनी विरुद्धको अभियान समेत संचालन गर्दै आएका तिम्सिनाको नेतृत्वमा रहेको क्रिकेट क्लव क्रमिक रुपले सुरुङ्गा सहकार्य युवा क्लवको नाममा सामाजिक क्षेत्रमा हाल सम्म पनि क्रियाशिल रहँदै आएको छ । सकारात्मक सोचका धनी उर्जाशिल युवा व्यवसायी तिम्सिनाले तीन कार्यकाल क्लवको सफल नेतृत्व सम्हालेका थिए भने सहकार्य सारथी समूह नामको संस्था समेत गठन गरी सफल नेतृत्व प्रदान गरेका थिए ।
सोही समयमा आफ्नै नेतृत्वमा क्लवका तर्फबाट सुरुङ्गा बजारमा सप्ताह महापुराणको आयोजना गरेर क्लवले ठूलो उपलव्धी हात पारेको बताइएको छ । जसको परिणाम क्लवले जमिनको व्यवस्थापन गरी कार्यालय प्रयोजनकालागि पक्की भवन निर्माण गरेको छ । यसका साथै सुरुङ्गाको चोक बजार साथै सडक आसपासमा हुने चोरी डकैती साथै सडक दुर्घटनाको पहिचानकालागि सहज होस् भन्ने उद्येश्यका साथ तिम्सिनाकै संयोजकत्वमा सिसि क्यामेरा जडान गर्न सडक आसपासमै सप्ताह महापुराण सफलताका साथ सम्पन्न गर्ने यस क्षेत्रकै एक उर्जाशिल युवाका रुपमा तिम्सिनालाई चिन्न सकिन्छ । सुरुङ्गा बजार क्षेत्र हालको एक्सल बैंक अगाडी सम्पन्न भएको महायज्ञबाटै सडक आसपासको क्षेत्रमा पहिलो पटक ८ वटा सिसि क्यामेरा जडान गरिएको सुरुङ्गा जेसीजका नवनिर्वाचित अध्यक्ष तिम्सिना बताउँछन् ।

स्थानीय स्तरमा रहेका विभिन्न धार्मिक तथा शैक्षिक संघसंस्थाहरुमा समेत नेतृत्व तहमा रहेका तिम्सिनाले नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको दुई कार्यकाल सभापतिको जिम्मेवारी पूरा गरेका छन् । रेडक्रसमा नेपालकै कान्छो सभापति बनेर जिम्मेवारी सफलतापुर्वक सम्हालेका तिम्सिनाले रेडक्रसको नेतृत्वमा रहँदा पनि सप्ताह महापुराण लगाएका थिए ।जसको उपलव्धीका रुपमा बिपत व्यवस्थापनकालागि भनेर ५१ लाखको अक्षयकोष स्थापना गरिएको अध्यक्ष तिम्सिना बताउँछन् । जुन कोषको ब्याजबाट अहिले पनि मानवीय सेवामा ठूलो राहत पुगेको छ ।
झापा जिल्ला युथ फोरमको दुई कार्यकाल संयोजक साथै साउण्ड सिस्टम व्यवसायी संघको अवधारणा कर्ताको रुपमा रहेर संस्थाको सचिवको भुमिकामा दुई कार्यकाल बिताएका तिम्सिनाको नेतृत्वमा सुरुङ्गा जेसीजको वर्ष २०२३ एक ऐतिहासिक वर्षका रुपमा हेर्न सकिने विश्वास गरिएको छ । सुरुङ्गा जेसीजले सामाजिक क्षेत्रमा खारिएको युवालाई नेतृत्व प्रदान गर्न पाउँदा आँफूहरुलाई समेत अत्यन्तै सन्तुष्टी अनि गौरवको महशुस भएको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपाने उप्रेती बताउँछिन् ।
