कनकाई खबर \ कनकाई छठसेवा समाजले झापा क्षेत्र नं.४ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित एल.पी.साँवा लिम्बू र भक्तिप्रसाद सिटौलालाई सम्मान गरेको छ ।

छठ समाजले सुरुङ्गामा एक संक्षिप्त कार्यक्रमका विच १नं. प्रदेश सरकारका मन्त्री समेत हुन सफल राप्रपाका केन्द्रि प्रवक्ता सिटौलाको कार्यकाल पूर्ण सफलताको कामना गर्दै बधाई शुभकामनासहित दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै क्षेत्र नं.४ बाट प्रतिनिधि सभामा निर्वाचित साँवा चाँडै केन्द्र सरकारको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरीको मन्त्री बन्ने सफलता प्राप्त होस् भन्दै छठ समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले सांसद साँवाको दोस्रो कार्यकाल थप रचनात्मक बन्न सकोस् भन्ने कामना गर्दै दुवैजनालई एकै साथ बधाई शुभकामना व्यक्त गरे ।
सामाजिक क्षेत्रमा समेत क्रियाशिल हुँदै आएको कनकाई छठ सेवा समाजले सांसद साँवाको साथ, सहयोग र उर्जाबाट संस्थागत रुपमा महत्वपूर्ण उपलव्धी हात पारेको समाजका संस्थापक अध्यक्ष प्रधानले प्रष्ट पारे । सांसद साँवाको सहयोगबाट निर्माण कार्य प्रारम्भ भएको छठ समाजको सुर्य बाटिका एवं सामुदायिक भवनले चाँडै पुर्णता पाउँने कुरामा संस्था परिवार विश्वस्त रहेको कनकाई छठ सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीले बताए ।
समाजका अध्यक्ष चौधरीको सभापतित्वमा भएको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्बूले कनकाई छठ सेवा समाजसँग यस अघिदेखि नै सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा समेत यो सहकार्यलाई निरन्तरता दिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै प्रदेश नं.१ का मन्त्री सिटौलाले कनकाई छठ सेवा समाजले समाज रुपान्तरणमा खेल्दै आएको भुमिका आँफूले नजिकैबाट हेरेको भन्दै मन्त्री सिटौलाले जनताले आफूमाथि गरेको विश्वासलाई सधैं सम्हालेर राख्ने र कहिल्यै पनि आँफूबाट विश्वासघात नहुने प्रतिवद्धता जनाएका छन् ।
सम्मानसहितको बधाई शुभकामना कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीय सामाजिक संघसंस्थासहित विकास निर्माणका अन्य कामकालागि प्रदेश र केन्द्र सरकारसँग यस क्षेत्रका विकासप्रेमी सांसदद्वय साँवा र सिटौलासँग सहकार्य गर्दै अघि बढ्ने जनाएका छन् । त्यसैपनि कनकाई नगरमा विकास निर्माणका धेरै काम भइरहेको भए पनि आगामी दिनमा कनकाई नगरीमा विशेष प्राथमिक्ताका साथ बजेटको व्यवस्थापन गरिदिन दुवै तहका सांसदलाई कनकाई नगर प्रमुख पोखरेलले अनुरोध गरे ।
कनकाई छठ सेवा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले स्वागत गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा(रोशन), राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझा, कनकाई छठसेवा समाजका पुर्व अध्यक्षहरु, वरिष्ठ सल्लाहकारसहित अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित नेकपा एमाले कनकाईका उपाध्यक्ष विनोद रानामगर लगायत शिवसताक्षी र कनकाईका जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कनकाई छठ सेवा समाजका महासचिव रविन गुप्ताले गरेका थिए ।
