कनकाई खबर / लामो समयको प्रतिक्षापछि झापाको कनकाईमा धनीपुर्जा वितरणको कार्य प्रारम्भ भएको छ ।

कनकाईको वडा नंं ८ का २० जनालाई सुकुम्बासीका रुपमा निशुल्क र ७ जनालाई अव्यवस्थित बसोवासीका आधारमा धनीपुर्जा बितरण गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । नगरपालिका कार्यालय परिसरमा एक कार्यक्रमका बिच र घर घरमै पुगेर जनप्रतिनिधिहरूले धनीपुर्जा वितरण गरेको हो ।
जग्गा धनीपुर्जा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, नगरप्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले वितरण गरेका हुन् । जग्गाको लालपुर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले विभिन्न प्राविधिक कठिनाइ र राजनैतिक फेरबदलका कारण नेपालमा विभिन्न २३ वटा भूमि आयोग गठन भएपनि जनताले पूर्णरुपमा धनीपुर्जा पाउन नसकेको बताए । आयोगले गर्दै आएको कामलाई निरन्तरता दिँदै अघि बढ्ने वातावरण भएमा सबै अव्यवस्थित सुकुम्बासीहरुलाई सहजै धनीपुर्जा उपलव्ध गराउँन सकिने आयोगका राष्ट्रिय अध्यक्ष निरौलाले बताए । राजनीतिक अस्थिरताका कारण स्थाई सरकार नभएपछि यसको प्रत्यक्ष असर भूमिआयोगलार्ई समेत पर्ने गरेको आयोगका जिल्ला अध्यक्ष पाण्डेले बताए ।

कनकाई नगरपालिकामा ७ हजार घरपरिवारले सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा धनीपुर्जाको फर्म भरेको भए पनि आशा गरेअनुसारको काम भने हुन नपाएको कनकाई नगरपालिकाले जनाएको छ । कनकाईमा रहेका ९ वटै वडाहरुमा धनीपुर्जाका लागि तथ्याङ्क संकलन रुजु र नापी समेतका प्राय कामहरू सकिसकेको बताइएको छ ।
धनीपुर्जा पाएपछि बल्ल आफूहरू नेपाली भएको महसुस भएको धनीपुर्जा लिएपछि कनकाई ८ कि मनमाया जोगीले स्थानीय सरकारलाई धन्यवाद दिएकी छन् । आफूले बसोबास गरिरहेको ५ धुर जमिन पनि कसैले आएर छाड भन्छ कि भन्ने डर थियो, अब कम्तीमा ढुक्क भएकामा जोगीले खुशी व्यक्त गरेकी छन् । आफ्ना हजुरबुबा समेत ऐलानी जमिनमा बसेको र बाबु हुँदै आफ्ना पालामा समेत ऐलानी जग्गाबाटै अंशमा उक्त जमिन पाएको जोगीको भनाई छ । बसोवासको ५० वर्षपछि बल्ल जोगीले लालपुर्जा पाएकी हुन् ।
जग्गाको धनीपुर्जा नपाउँदा परिवार र समाजमै हेपिएर बस्नुपरेको कनकाई ८ का टिकाराम लुइटेको भनाई छ । कम्तीमा १० वर्षसम्म बिक्री बितरण गर्न नपाउने गरि धनीपुर्जा बितरण गरिएको हो । आगामी दिनमा क्रमश सबै वडाको धनीपुर्जा वितरणको काम थालनी गरिने बताइएको छ । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा उपप्रमुख आशा शिवाकोटीले स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी उमानाथ ढकालले गरेका थिए ।
