कनकाई खबर / झापामा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ।
कनकाई नगरपालिकाको आयोजनामा यहि कार्तिक १३ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिताको उद्घाटन कार्तिक १३ गते शुक्रबार बिहान ठीक ९ बजे कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको छ। प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोली सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाख पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने बताएको छ। कर्मचारीबीच आपसी सद्भाव, भाइचारा, एकता र सहकार्य अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको रुचि विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई कार्यालयको नियमित कार्यसम्पादन भन्दा बाहिर खेलकुदका माध्यमबाट एकै ठाउँमा जुटाउने, आपसी परिचय तथा अनुभव आदानप्रदान गर्ने र पालिकाहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतियोगिताको उद्देश्य रहेको आयाेजक कनकाई नगरपालिकाले जनाएकाे छ।
प्रतियोगिताले कर्मचारीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै शारीरिक तन्दुरुस्ती र खेलकुद संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताबारे जानकारी दिँदै कनकाई नगरपालिकाका कर्मचारी तथा प्रतियोगिता आयोजक समितिका सदस्य विजय पाठकले झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारीहरूलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनका अनुसार प्रतियोगिताले जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्तिक १३ गतेदेखि सुरु भई १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापाका पालिकाका कर्मचारी टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले कर्मचारीहरूलाई खेलकुदका माध्यमबाट नजिक ल्याउनुका साथै स्थानीय तहहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

