झापाभरिका जिमबाट उत्साहजनक सहभागिता हुने
कनकाई खबर / झापाको कनकाई–३, स्थित सुरूङ्गामा ऐतिहासिक प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिता–२०८३ सञ्चालन हुने भएको छ ।
सुरूङ्गास्थित प्रतिष्ठित न्यू गोल्ड जिम एण्ड जुम्बा सेन्टरको आयोजनामा आगामी मंसिर १२ गते एकदिवसीय ऐतिहासिक प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा झापा जिल्लाभर सञ्चालनमा रहेका विभिन्न जिम तथा फिटनेस सेन्टरहरूबाट तीनसय भन्दा बढी बलशाली खेलाडीहरूको उत्साहजनक सहभागिता रहने जनाइएको छ।
स्थानीय खेलकुदको विकास, युवाहरूमा शारीरिक तन्दुरुस्तीप्रतिको रुचि तथा पावरलिफ्टिङ खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस ऐतिहासिक प्रतियोगिताको आयोजना गर्न लागिएको हो। मंगलबार सुरूङ्गास्थित युनिक क्याफेमा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाका सञ्चालक एवं मूल आयोजक समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्देश्य, खेलको नियम र प्राविधिक पक्षबारे विस्तृत जानकारी गराए ।
पत्रकार सम्मेलनमा संस्थाका सचिव सुजन समाल मगर, कोषाध्यक्ष सुवास समाल मगर, सल्लाहकारहरू बासुदेव श्रेष्ठ , चिरञ्जीवी बिमली, रोशन बिष्ट, गोविन्द सुवेदी लगायत आयोजक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
ऐतिहासिक प्रतियोगिता आगामी मंसिर १२ गते शनिबार, बिहान ११ः०० बजेदेखि कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सञ्चालन हुने आयोजक समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका लागि अन्तराष्ट्रिय स्तरको निर्णायकहरुको समेत निमन्त्रणा गरिसकिएको र खेल सञ्चालनका लागि अन्दाजी ८ लाख ८० हजार रुपैँया लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । नौलो प्रतियोगिता भएपनि युवाहरुको शारिरीक र पोषणको समेत महत्व बुझाउन यस खेलले मद्धत मिल्ने आयोजकले जनाएको छ । खेल हेर्नका लागि जिल्लाभरबाट दर्शकहरु आउने र खेलमा सहभागि र स्वास्थ्यमा चासो र सरोकारराख्ने जुनसुक्कै उमेरसमुहका खेलाडीहरु यस खेल हेर्न आउने आयोजकको विश्वास रहेको छ ।
प्रतियोगिताका लागि स्थानीय कनकाई नगरपालिका, वार्ड कार्यालयहरु, स्थानीय सामुदायिक वन समुह, जिम हाउस, विभिन्न कम्पनीहरु लगायात खेल मनपराउने संघ संस्था तथा व्यावसायी र सामाजिक सहयोगी दाताहरुबाट आर्थिक सहायता लिइने आयोजकको भनाई रहेको छ ।
प्रतियोगितालाई पूर्ण रूपमा सफल, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आयोजक समितिले सल्लाहकार समिति गठन प्रक्रिया लाई समेत अघि बढाएको जनाइएको छ। अनुभवी व्यक्तिहरूको मार्गदर्शन र अमूल्य सुझाव संकलन गर्दै प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक समितिका सचिव सुजन समाल मगरले जानकारी दिए ।
कसरी खेलाइन्छ पावरलिफ्टिङ ?
पत्रकार सम्मेलनमा अध्यक्ष सुमन श्रेष्ठले आम मानिसमा जिम र पावरलिफ्टिङबीच रहेको अन्योलताबारे प्रष्ट पारेका थिए । उनका अनुसार जिममा सामान्यतया २ प्रकारले प्रतियोगिता हुने गर्दछ, जसमा एउटा शरीरको बनावट प्रदर्शन गरिने -बडी सो र अर्को वास्तविक शारीरिक शक्ति प्रदर्शन गरिने स्ट्रेन्थ पावर प्रतियोगिता हो। यो प्रतियोगिता शारीरिक शक्ति प्रदर्शनमा आधारित रहने बताइएको छ।
यस खेल अन्तर्गत प्रत्येक खेलाडीले अनिवार्य रूपमा विभिन्न ३ वटा विधामा प्रतिस्पर्धा गर्नुपर्ने बताएको छः
१. स्क्वाट, काँधमा वजन राखेर उठबस गर्ने विधा।
२. बेन्च प्रेसः फ्ल्याट बेन्चमा उत्तानो सुतेर छातीको बलले वजन माथि उठाउने विधा।
३. डेडलिफ्ट ः भुइँमा राखिएको भारी वजनलाई कम्मर र गोडाको बलले सिधा उभिएर उठाउने विधा।
प्रतियोगितामा यी तीनवटै विधामा खेलाडीले उठाएको कुल वजनको अंक -पोइन्ट जोड्दै लगिनेछ। खेलको अन्त्यमा सबैभन्दा बढी वजन उठाउन सफल हुने बलशाली खेलाडीलाई प्रतियोगिताको विजेता घोषित गरिने कोषाध्यक्ष सुवास समाल मगरले बताए ।
शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्चसम्म पु¥याउन महत्त्वपूर्ण इँटा थप्ने विश्वास आयोजक टिमले लिएको छ। आयोजक समितिले सम्पूर्ण सञ्चारकर्मी, खेलप्रेमी तथा नगरवासीहरूलाई उपस्थित भई खेलको गरिमा बढाइदिन र सहयोग पु¥याउन हार्दिक अपिल समेत गरेको छ।

