कनकाई खबर \ झापाको कनकाई ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा संचालन भएको दोस्रो प्रदेश स्तरीय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई भेट्रान फुटबल क्लबले हात पारेको छ।
आयोजकका तर्फबाट खेलको ३१ औं मिनटमा विनोद बान्तवाले १ गोल गरेका थिए भने दोस्रो हापको ६ मिनटमा पेनल्टी सुट पाएको आयोजकले सुजितकुमार राईको सोझो प्रहारमा १ गोल र दोस्रो हापको २४ मिनटमा समेत सुजीतकुमारले नै अर्को गोल गर्न सफल भएका थिए । अन्य एक गोल आयोजक भेट्रान क्लवका दिलकुमार राईले दोस्रो हापको ३१ मिनटमा एक गोल गरी टिमलाई अग्रता दिलाए ।

आज शनिवार भएको फाइनल खेलमा धरान भेट्रान क्लवलाई २—४ गोल अन्तरले हराउदै आयोजक बिजयी भएको हो । उपाधि सहित आयोजक टिमले नगद १ लाख १ हजार रुपैँया सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । उपबिजयी हुने धरानले ६१ हजार नगद, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको आयोजक समितिले जनाएको छ ।
पराजित भएको धरानका तर्फबाट पहिलो गोल खेलको १३ मिनटमा र दोस्रो गोल २० मिनटमा रमेश गुरुङ्गले दुबै गोल गर्न सफल भए । प्रतियोगिताको म्यान अफ द सिरिज आयोजक टिमका बिमल गुरुङ्ग घोषित भए ।त्यस्तै उत्कृष्ट गोलकिपर आयोजकका किरण वडुवा घोषित भए भने सर्वाधिक गोलकर्ता आयोजककै सुजितकुमार राई भए । प्रतियोगिताको बिजयी तथा उपबिजयी टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , समाजसेवी शेरबहादुर थापा लगायतले पुरस्कार प्रदान गरे ।
क्लवका अध्यक्ष श्यामकुमार राईको सभापतित्व रहेको प्रतियोगितामा प्रदेश एकका ८ टिमको सहभागिता रहेको आयोजक क्लवका सचिव रमेशचन्द्रबाबु मैनालीले बताए ।
कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राईको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन कनकाई खेलकुद प्रतिष्ठाका अध्यक्ष छवि थपलियाले गरेका थिए ।
