कनकाई खबर \ झापाको कनकाई–३ सुरुङ्गास्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवं कनकाई–३का वडाअध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रम सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चम्लागाईले पृथ्वी सहकारीले संस्थाको नारालाई सार्थक बनाउँने अभियानमा सक्रिय रहेको बताएका छन् । आर्थिक क्षेत्रमा भएको तरलतालाई हेर्दा देशको अर्थव्यवस्था कहाली लाग्दो भएपनि पृथ्वी सहकारीसँग अहिलेको अवस्थामा पनि ९० लाख बराबरको जगेडा कोष रहेको साथै १ करोड २५ लाखको शेयर पुँजी भएकाले संस्था आँफैमा सक्षम रहेको भन्दै प्रमुख अतिथी चम्लागाईले सुरुङ्गा क्षेत्रमा रहेका सहकारी संस्थाहरुको नेतृत्व अब पृथ्वी सहकारीले गर्नु पर्नेमा जोड दिए । आर्थिक मन्दिका कारण देखिएको समस्या समाधानकालागि अब सहकारीहरुको प्रकृति र अवस्था हेरेर एउटै साझा सहकारीको अवधारणामा अघि बढ्नु पर्नेमा चम्लागाईको जोड थियो ।
स्थानीय सरकारका तर्फबाट सहकारी संस्थालाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक रहेको भन्दै प्रमुख अतिथी चम्लागाईले विकास निर्माणसहित समाज रुपान्तरणमा स्थानीय सरकारले सहकारी संस्थाहरुसँग साझेदारीमा काम गर्दै अघि बढ्न चाहेको बताए ।

सहकारी संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले संस्थाको तर्फबाट आगामी योजनासहितको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे । आजभन्दा ठीक १० वर्षअघि स्थानीय केही सक्रिय युवाहरुको पहलमा सुरुवात गरिएको पृथ्वी सहकारी संस्थाले ११ औं वर्ष प्रवेश गर्दाको अवस्था सम्ममा संस्थाको शेयर पुँजी १ करोड २५ लाख बनाउँन सफल भएको भन्दै अध्यक्ष पोखरेलले आ.व.२०७९÷०८० सम्ममा १ करोड ४० लाख संस्थाको शेयर पुँजी बनाउँने योजना रहेको बताए । सदस्यहरुको दिगो विकास तथा सामाजिक उत्तरदायित्व “एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल मान्यताबाट अभिप्रेरित भएर नै संस्था अघि बढेको भन्दै अध्यक्ष पोखरेलले सहकारीका माध्यमबाट सामाजिक रुपान्तरणमा समेत सक्रिय रहँदै सहकारीले सामाजिक उत्तरादयित्व निर्वाह गरिरहेको बताएका छन् ।
साधारण सभाको अवसरमा विभिन्न विधामा संस्थाका उत्कृष्ट सदस्यहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ताका रुपमा कनकाई –३ का रमेशप्रसाद संग्रौला र नर्वदा चौहान रहेका छन् । त्यस्तै उत्कृष्ट ऋणिमा कनकाई १ का सन्जयकुमार चौधरी र सल्मा श्रेष्ठ, जेष्ठ शेयर सदस्यमा घनश्याम बराल र जानुका धिताल रहेका छन् । सम्मानित व्याक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाई, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले नगदसहित दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
संस्थाको अधिवेशनसहितको साधारण सभा भएकाले संस्थापक अध्यक्ष कुमारमणि पोखरेललाई साधारण सभाको बन्द सत्रले पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । वित्तिय कारोबारको क्षेत्रमा राम्रो अनुभव भएका पोखरेलको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती(एलपी), सचिवमा शिवकुमार कडेल, महिला सदस्यमा निर्मला राई, सुजन काफ्ले निरौला र बिनिता मैनाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जनक कार्की, जबिन तिम्सिना, त्रिलोचन चिमरिया,कमल कट्टेल र डि.पि गौतम चयन भएका छन् । यसका साथै लेखा समिति संयोजकमा लुवराज उप्रेती र सदस्यहरुमा सुमन कार्की तथा चन्द्रकला ढकाल सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक सोमनाथ उप्रेतीले बताए । उप्रेतीसँगै रुद्रप्रसाद शिवाकोटी र पुनम चापागाईँ कडेलले निर्वाचन समितिको भुमिका निर्वाह गरेका थिए ।
संस्था स्थापनाकालदेखि हाल सम्म पनि सफलता तर्फ उन्मुख भइरहेका कारण संस्थाका अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यहरु पुरानै अनुहार दोहोरीएको अनुमान गरिएको छ । संस्थाका उपाध्यक्ष एल.पी. उप्रेतीको स्वागत तथा सचिव शिवकुमार कडेलले संचालन गरेको उद्घाटन समारोहमा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, सुरुङ्गा कनकाई सहकारीका अध्यक्ष प्रकाश चुडाल, दुर्गापुर साझा सहकारी संस्थाका अध्यक्ष गोपाल उप्रेती लगायतले यस क्षेत्रमा क्रियाशिल सहकारी संस्थाहरुको विषयगत एकताकालागि स्थानीय सरकारले पहल गर्नु पर्नेमा जोड दिए ।
