एक असल बैंकर्स बन्ने सपना बोकेका गणेशको सडक दुर्घटनामा परी निधन
कनकाई खबर \ झापाको कनकाई–७ स्थित दुर्गापुरका २५ वर्षिय गणेश मल्लिकको सडक दुर्घटनामा परी निधन भएको छ । गणेशसँगै उनका कान्छा भिनाजु इटहरी बुढीखोला नजिक घर भएका ३३ वर्षिय दिपक मल्लिकको समेत निधन भएको हो ।
स्व.गणेशका बुबा छुतहर मल्लीक नेपाल बैंक बिर्तामोड शाखामा साथै आमा समुन्द्री जमदार सुरुङ्गा शाखामा कुचीकार(सरसफाई कर्मचारी)का रुपमा कार्यरत छन् । भारतको बाघडुक्रास्थित १नंं.गेटमा रहेका गणेशका माइला भिनाजु मनोज मल्लिकको निधन भएका कारण भिनाजुको अन्त्यष्टी कार्यमा आफ्ना बुबाआमा, दाजुभाइ, दिदीभिनाजु लगायतका आफन्तजनहरुसँगै झापाबाट भारत तर्फ गएको मल्लिक परिवारमा ठूलो बज्रपात परेको छ ।
घटना एक हप्ता अघि पौष ६ गते बुधबार बेलुकाको हो । छुतहर मल्लीक र समुन्द्री जमदारका माइला ज्वाइँ बाघडुक्रा निवासी मनोज मल्लिकको निधनका कारण आफ्नो परम्पराअनुसार परिवारका साथ बुधबार साँझ अन्त्यष्टी कार्य सकिएपछि गणेश आफ्ना दाजु,भाइ र कान्छा भिनाजु दिपकसहित चोकबजारमा घुम्न भनि निस्किएका थिए । रातको करिब १० बजेको समय भइसकेको कारण घुम्न गएका मध्ये गणेश र उनका भिनाजु दिपकले केही ढिला गरेपछि अन्य सबैजना दिदीको घरमा फर्किएका थिए । सबैजना भेला भएपनि राती अबेर सम्म छोरा गणेश र ज्वाइँ नआउँदा आँफूहरुलाई रातभरी छटपटी भएको गणेशका बुबाआमा छुतहर र समुन्द्री मल्लीकले गहभरी आँशु पार्दै कनकाई खबरलाई बताए।
जसोतसो बिहान उज्यालो हुनासाथ छोरा र ज्वाइँको खोजीमा चोकबजारमा निस्किएका छुतहर मल्लीकले राती सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमै निधन भएको हल्ला सुन्दै अघि बढ्दै गए । निधन भएका व्यक्तिको पहिचान खुल्न नसकेको जानकारी पाएपछि सोही स्थानको एक अस्पतालमा क्षतविक्षत अवस्थामा राखिएको मृतकको शब देखेपछि गणेशका बुबा छुतहर मल्लीक त्यहिँ बेहोस भएर ढलेका थिए । आफ्नो होस आउँदा अस्पतालको बेडमा आँफूलाई राखिएको मल्लिक बताउँछन् । आखिर क्षतबिक्षत अवस्थामा रहेको शब उही गणेश र दिपक मल्लिकको पुष्टी भएपछि परिवारका अन्य सदस्यहरु सबैमा कालो तुँवालोले छोपे झैं भएको गणेशका कान्छा भाइ दिनेशले कनकाई खबरलाई बताए ।
त्यसपछि भारतमै रहेका आफन्तहरुको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी बिहिबार साँझ मात्र निजी निवास कनकाई–७ स्थित दुर्गापुरमा शब ल्याएको दिनेशले जानकारी दिए । आफन्त, छरछिमेकी र परिवारका साथ बिहिबार बेलुका करिव ७ बजेको समयमा कनकाई माइमा उनको अन्त्यष्टी गरिएको बताइएको छ ।उता ज्वाइँ दिपकको शबलाई भने इटहरीस्थित उनकै परिवारका साथमा लगेर अन्त्यष्टी गरिएको बताइएको छ । मल्लिक परिवारमा ६ महिना अघि पनि जेठा ज्वाइँ रमेश मल्लिकको निधन भइसकेको बताइएको छ । हाल आफ्नो परम्परा अनुसार गणेश र दिपक मल्लिकको आ–आफ्नै स्थानमा दशगात्रा कर्म भइरहेको पारिवारीक स्रोतलाई उदृत गर्दै दुर्गापुर बजार व्यवस्थापन समितिका सचिव तेजबहादुर पौडेलले जानकारी दिए ।
यतिबेला मल्लिक परिवार मात्र नभइ दुर्गापुरसहित सिङ्गो कनकाई नगरबासी सोकमा रहेको दुर्गापुर बजार व्यवस्थापन समितिका सचिव पौडेलको भनाई छ । आफ्नो ठाउँमा जस्तोसुकै काम गर्न पनि पछि नहट्ने गणेश केही महिनादेखिको फुर्सदको समयमा कनकाई नगरपालिकाको सफाई कर्मचारीका रुपमा कार्यरत थिए । गणेशको निधनको खबरले स्तब्ध भएको कनकाई नगरपालिकाले एक दिन नगरपालिकाको कार्यालयमा शोक विदा गरेको छ । नगरपालिकाको कार्यालयमा एक संक्षिप्त शोकसभाको आयोजना गरी गणेशको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै कनकाई नगरपालिकाले उनको तस्विरसहित नगरपालिका परिसरमा शोक पुस्तिका राखेको छ ।
स्व.गणेश मल्लिकको निधनको खबरले आँफू लगायत सिंगो कनकाई नगरपालिकाको तर्फबाट दुःख व्यक्त गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्व.मल्लिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्तीको कामना गरेका छन् । तत्कालिन समयमा आँफू काम विशेषले काठमाण्डौमा रहेको भएपनि दुःखद खबरका बारेमा जानकारी पाए लगत्तै भारतबाट शब नेपाल ल्याउँन काँकरभिट्टा नाकामा आवश्यक सहकार्य गरेको बताउँदै नगर प्रमुख पोखरेलले २५ वर्षिया युवा गणेश मल्लिक समाजको आश लाग्दो एक उर्जाशिल युवा भएको प्रतिक्रिया दिएका छन् ।
अध्ययनमा अत्यन्तै लगनशिल गणेशले भर्खरै मेची बहुमुखी क्याम्पस भद्रपुरबाट ३.६जिपिए ल्याएर बि.बि.ए.मा सफलता हात पारेका थिए । तत्कालिन ब्राइटफ्युचर अंग्रेजी मावि हालको नवयुग शिक्षा निकेतनबाट २०७१को एसएलसीमा प्रथम स्थानको अंक ल्याएर पास भएका उनले कोहेड कलेजबाट ७३ प्रतिशत अंक ल्याइ कक्षा १२ उत्तिर्ण गरेका हुन् । सानो कक्षादेखि नै नवयुग शिक्षा निकेतनमा अध्ययन गरेका गणेश अत्यन्तै मिहिनेती, अनुशासीत र जिज्ञासु स्वभावका विद्यार्थी भएको विद्यालयका सहायक प्रिन्सिपल राजन कार्की बताउँछन् । बिहानीले दिनको संकेत गर्छ भने झैं गणेशले सानै उमेरदेखि नै उज्यालो भविष्यको सुनिश्चित गरे झैं देखिने गरेको नवयुग शिक्षा निकेतनका सहायक प्रिन्सिपल कार्कीको भनाई छ ।
कम्युटर शिक्षामा विशेष रुची भएका गणेशले भविष्यमा एक सफल बैंकर्स बन्ने सपना बोकेको उनका भाइ दिनेश बताउँछन् । गायन साथै नृत्यमा समेत विशेष चासो राख्ने गणेशले धेरै स्टेजका कार्यक्रमहरुमा पनि सहभागीता जनाउँदै आएको स्थानीयवासी बताउँछन् । उद्घोषण साथै भाषण कलाको समेत क्षमता भएका गणेश सामाजिक क्षेत्रमा समेत उत्तिक्कै सक्रिय थिए । झापा युवा सरोकार समाजको संस्थापक सदस्य समेत रहेका गणेशको बुबाआमासहित श्रीमति मनिषा, १४ महिनाको एक छोरा रहेका छन् । त्यस्तै दाजुभाउजु प्रमोद र मुन्नी मल्लिक, भाइ दिनेश, दिदीहरु दुर्गा,सबिता र पुनम रहेका छन् ।
स्व.गणेश साथै दिपक मल्लिकप्रति कनकाई खबर साप्ताहिक तथा कनकाई खबर डटकम परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस भन्ने कामना गर्दछौं ।
