कनकाई खबर \ झापाको शिवसताक्षी १० स्थित माइधारमा किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम(माघेसंक्रान्ती)पर्व विविध कार्यक्रमका साथ सम्पन्न हुने भएको छ ।

माङहीमको २६ औं वार्षिकउत्सव तथा १३ औं कक्फेवा तङ्नामको अवसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ झापा एवं किराँत खिजोलुङ जिल्ला माङहीमको संयुक्त आयोजनामा कनकाई माइको पश्चिम किनारमा रहेको माङहीम प्राङ्गणमा कार्यक्रम हुने भएको हो ।
माङहीम परिसरमा भएको पत्रकार भेटघाट कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङले पौष ३० र माघ १ गते गरी दुई दिवसीय कार्यक्रम संचालन हुने बताए । अध्यक्ष योङहाङले दिएको जानकारी अनुसार पौष ३० गते शनिवार कनकाई माईमा साक्मुरा वादेम्मा (गाली श्राप) बगाउँने साथै अष्ट यज्ञ (येत लाघुङ सेमी) सेवा कार्यक्रम हुने भएको छ ।
त्यस्तै माघ १गते विशेष समारोहका विच विभिन्न जातजातीहरुको झाँकी,साँस्कृतिक नृत्य र गायनसहित कार्यक्रम समुद्घाटन हुने बताइएको छ । कार्यक्रममा पालम,ख्याली, हाक्पारे,याःलाङ, केलाङ माङलाङ, साकेला जस्ता विविध साँस्कृतिक कार्यक्रम गरिने खिजोलुङ माङहीमका अध्यक्ष भवानी विक्रम सेलिङले जानकारी दिए । करिव २ लाख रुपैंया सम्मको बजेटमा सम्पन्न हुने कार्यक्रममा कविता बाचन सहित राष्ट्रिय कलाकारको विशेष प्रस्तुती रहने किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका सहसचिव बिचारी लावतीले जानकारी दिए ।
विश्व शान्ती र मानव एकताकालागि सम्पूर्ण जातजाती, धर्मसंस्कृति र संस्कार मान्ने जातजातीहरुको साझा पर्वका रुपमा किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम पर्व मनाउँदै आएको किराँत धर्मका अभियन्ता नबिन किराँतीले बताए । यस ऐतिहासिक कक्फेवा तङनाम पर्वको अवसरमा अघिल्ला वर्षहरु झै यस पटक पनि विभिन्न प्रस्तुतीसहित मनाउँन लागिएको विशेष कार्यक्रममा सम्पूर्ण धर्मप्रेमी भक्तजनहरुमा चरु, भेटी, फलफुलसहित उपस्थित भइदिनु हुन किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका उपाध्यक्ष लिलावहादुर कन्दङ्वाले अनुरोध गरेका छन् । कनकाई नगरपालिका वडा नं.७ का पुर्व वडाअध्यक्ष समेत रहेका कन्दङ्वाले कार्यक्रमको सफलताकालागि कनकाईसहित शिवसताक्षी साथै अन्य पालिकाका स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधिहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
हरेक वर्ष मकर संक्रान्तीमा किराँत नयाँ वर्ष शुरु हुन्छ । लिम्बू जातिले यसलाई ‘यले तङवे’को नाममा मनाउने गर्छन्। किराँती पात्रोअनुसार आउँदो माघ १ गते देखि यले तङवे ५०८३ शुरु हुने छ । यले तङवे विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको विश्वास किराँती जातिमा छ। किराँती राजा यलम्बरले नेपालमा शासन शुरु गरेपछि यले तङवेको प्रचलन शुरु गराएको विश्वास छ । यस सिजनमा चाँप फुल्ने भएकाले यले तङवेसँगै कक्फेवा तङनाम भन्ने गरिएको हो। लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन हो ।
लिम्बू जातिको बसोवास रहेका झापा जिल्लासहित पाँचथर, तेहथुम, ताप्लेजुङ, इलाम, धनकुटालगायत जिल्लामा यले तङवे भव्यताका साथ मनाइन्छ । काठमाडौं उपत्यकासँगै अहिले किराँती जातिको बसोवास रहेका हङकङ र सिंगापुरसम्म पनि यो पर्व निकै उल्लासपूर्वक मनाउँने चलन रहेको बताइएको छ ।
यस दिनमा वनभोज खाने, शुभकामना आदानप्रदान, आफन्तसँग भेटघाट र वर्षभरिकालागि कार्य योजना निर्माण गर्ने काम गरिन्छ । यो पर्वलाई थारू समुदायले माघी र हिन्दू धर्मावलम्बीले मकर संक्रान्तीका रूपमा मनाउँछन् । परिवारका मुलीहरूले आफूभन्दा सानो उमेरका सदस्यहरूलाई वन तरुल पोलेर टीका लगाई आशिर्वाद दिने चलन रहेको बताइएको छ ।
