कनकाई खबर \ महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधनका रुपमा रहेको ‘सायना प्रेस’ नामक तीन महिने सुई अब झापामा पनि प्रयोगमा आउँने भएको छ ।

नेपालको नवलपुर र सिन्धुली जिल्लाबाट प्रयोगमा आएको गर्भ निरोधक अस्थायी साधन सायना प्रेसको सेवा अब परिवार नियोजन संघ झापाको परिवार स्वास्थ्य केन्द्रबाट संचालनमा आउँने भएको हो । स्वास्थ्य केन्द्र चारआलीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी परिवार नियोजन संघ झापाकी वरिष्ठ शाखा प्रबन्धक सुजन काफ्ले निरौला र स्टाफ नर्स प्रकृति बास्तोला गिरीबाट सायना प्रेसको प्रयोग र यसको सेवाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा झापासहित नेपालका अन्य जिल्लामा समेत‘सायना प्रेस’ प्रयोगमा आउँने जानकारी गराइएको छ ।हरेक तीन महिनामा लगाउनुपर्ने यो साधन तिघ्रा र पेटमा लगाउन सकिने परिवार नियोजन संघ झापाकी वरिष्ठ शाखा प्रबन्धक सुजन काफ्ले निरौलाले जानकारी गराएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यो सेवा सुरू भएको बताइएको छ । एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिने वरिष्ठ शाखा प्रबन्धक काफ्लेले जानकारी दिइन् ।
यो साधनको प्रयोगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकी महिलाले पनि प्रयोग गर्न मिल्ने, इस्ट्रोजेन नामक हर्मोन भएको वा इस्ट्रोजेन र प्रोजेस्टेरोन भएका महिलाले पनि प्रयोग गर्न मिल्ने बताइएको छ । सुई लगाउन छाडेको केहि समय अर्थात् १०देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने परिवार नियोजन संघ झापाकी स्टाफ नर्स प्रकृति बास्तोला गिरीले जनाएकी छन् । यो सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएको वा एन्टी रेट्रो भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि समेत उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएको छ ।
सायना प्रेस सुई प्रयोग गरेको केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केहि महिलाको तौल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफोर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएको छ। तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, यौन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने समस्या भएका महिला, कलेजो सम्बन्धि र हड्डि खिईने समस्या भएका महिलाले यो सुई प्रयोग गर्न हुँदैन । पहिलो चरणमा यो सुइ सिन्धुली र नवलपुरका १४ वटा सरकारी स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट निशुल्क प्रयोगमा ल्याइएको बताइएको छ ।
सायना प्रेस विश्वका ४० भन्दा बढि देशले प्रयोग गरिरहेका छन् । युरोप लगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेको कार्यक्रममा जानकारी दिईएको थियो । सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ । छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ ।
परिवार नियोजन संघ झापाको परिवार स्वास्थ्य केन्द्र चारआलीमा आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा संस्थाका बरिष्ठ सदस्य भक्त खबासले हरेक महिलालाई आमा बन्न पाउँने अधिकार भएपनि कति बच्चा जन्माउने र कति अन्तरमा जन्माउने भन्ने विषयको निर्णय लिन सहज बन्दै आएको बताए । परिवार नियोजनका साधन नेपालमा सुरू भएपछि महिलाले पनि आफ्नो बारेमा निर्णय लिने अधिकार प्राप्त भएको भन्दै खबासले परिवार नियोजनका साधनमा अर्को विकल्पको रूपमा सायना प्रेस सुई थप भएको बताए । सायना प्रेस पनि अन्य परिवार नियोजनका साधन मध्ये एक हो, यो प्रभावकारी छ भनेर प्रमाणित भईसकेको छ, त्यसैले ढुक्क भएर प्रयोग गर्न खबासले सुझाव दिए ।
