कनकाई खबर \ झापाको सुरुङ्गामा ४० वर्ष माथिका खेलाडीहरुको प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
दोस्रो कनकाई भेट्रान कप प्रतियोगिताको रुपमा कनकाई—३,सुरुङ्गास्थित कनकाई माविको खेलमैदानमा यहि पौष ९ गतेदेखि प्रतियोगिता संचालन हुने भएको हो । “स्वास्थ्यकोलागि खेल र राष्ट्रकालागि खेल”भन्ने मूल नारालाई स्थापित गर्दै विभिन्न खेल खेल्दै आएका खेलाडीहरु हाल उमेर तथा खेलका कारण विस्थापित हुनु पर्ने अवस्थालाई मुल्यांकन गर्दै स्थापित संस्था कनकाई भेट्रान कपले प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष श्यामकुमार राईले बताएका छन् । यस किसिमको प्रतियोगिताले छरिएर रहेका खेलाडीहरु विच एकताको सन्देश दिनुका साथै खेलप्रेमी महानुभावहरुलाई मनोरञ्जन समेत प्रदान गर्ने उद्येश्य रहेको अध्यक्ष राई बताउँछन् ।
बिगतमा फुटबलको कुम्भ मेला झैं देखिने कनकाईको सुरुङ्गामा पछिल्लो समय ठूला प्रतियोगिता संचालन हुन छाडेपछि फुटबलका पारखीहरुको भावनालाई मध्यनजर गर्दै कनकाई भेट्रानले वार्षिक रुपमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता संचालन गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद खतिवडा बताउँछन् । दोस्रो संस्करणका रुपमा संचालन हुन लागेको प्रतियोगितामा प्रत्येक टिममा कम्तीमा एकजना खेलाडी अनिवार्य रुपमा ५० बर्ष पुगेको र अन्य खेलाडीको हकमा ४० वर्ष पूरा भएको हुनु पर्ने बताइएको छ ।
फुटबल खेलप्रतिको चाहानालाई उजागर गर्दै यसको विकास र विस्तारमा सहयोग पुर्याउँने संस्थाको उद्येश्य रहेको भेट्रान कपका सल्लाहकार ज्योतीकुमार उप्रेतीले बताए । सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गर्दै आएको कनकाई भेट्रानको प्रयासलाई सफल बनाइदिन सम्पूर्ण खेलप्रेमी महानुभावहरु, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, वित्तिय संस्थाहरु, स्थानीय सरकार लगायत सबैसँग सहयोगको अपेक्षा राखेको सल्लाहकार उप्रेतीले बताए ।
पौष ९ गतेदेखि संचालन भइ १६ गते समापन हुने प्रतियोगिताको पहिलो पुरस्कार १लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, ट्रफी र प्रमाण पत्र रहेको संस्थाका कोषाध्यक्ष एवं आयोजक समितिका आर्थिक संयोजक सन्तोष लिम्बूले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ६ लाख २२ हजार लाग्ने अनुमान गरिएको खेलमा प्रथम पुरस्कार कनकाई नगरपालिकाको कार्यालयबाट सहयोग हुने छ भने दोस्रो पुरस्कारको राशि झापा क्षेत्र नं.४बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एलपी साँवालिम्बूबाट प्राप्त हुने आर्थिक संयोजक लिम्बूले बताए । अन्य रकम संस्थाले यस अघि देउसीभैलोबाट संकलन गरेको केही बजेट साथै अपुग रकम विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न ७ वटा उपसमिति निर्माण गरिएको संस्थाका सचिव रमेशप्रसाद मैनालीले जानकारी दिए । निर्माण भएका उपसमितिहरुमा आर्थिक उपसमिति संयोजकमा सन्तोष लिम्बू, मन्च व्यवस्थापनमा संयोजक संस्थाका सचिव रमेशप्रसाद मैनाली, स्वयंसेवक परिचालन समिति संयोजकमा संस्थाका उपाध्यक्ष अखिल गिरी, अतिथी सत्कारमा राजेन्द्रप्रसाद खतिवडा, प्रचार प्रसार समिति संयोजकमा सागर गौतम, मैदान व्यवस्थापन समिति संयोजकमा दिलकुमार कार्की, टिम व्यवस्थापन समिति संयोजकमा लिलु गिरी रहेको उपसमिति क्रियाशिल रहेको संस्थाका सचिव मैनालीले जानकारी दिएका छन् ।
