कनकाई खबर सम्बाददाता (इलाम) \ झापाको विर्तामोड २, चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल साकोस सेवा केन्द्र इलामले सदस्य केन्द्रित अन्तरक्रियासँगै घाँसको बिऊ वितरण गरेको छ ।
सेवा केन्द्रको कार्यालयमा सम्पन्न कार्यक्रममा उपस्थित संस्थाका सम्पूर्ण सदस्यहरुको सामुहिक सभापतित्व एवं इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ,अनुप रिजाल र सरस्वती कार्कीको विशेष व्यवस्थापन रहेको बताइएको छ ।
संस्था र कार्यक्रमप्रति आफ्नो धारणा राख्दै सहभागीहरुले संस्थाको वस्तु तथा सेवा साथै सदस्यमैत्री व्यवहार रहेकोमा खुशी व्यक्त गर्दै घाँसको बिऊ वितरण कार्यक्रम अत्यन्त सराहनीय र अपनत्व झल्काउने प्रकृतीको रहेको बताएका छन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गर्न सकेमा आफ्ना सदस्यहरुलाई लाभ प्रदान हुन सक्ने भन्दै सेवा केन्द्र अन्तर्गतका विभिन्न समूहका प्रतिनिधिहरु क्रमशः गीता श्रेष्ठ,शकुन्तला भट्टराई, गीता गुरुङ्ग लगायतले खुलेर प्रशंसा गरे । संस्थाले आप्mना सदस्यहरुलाई पुर्याउँदै आएको सेवा उदाहरणीय र स्वागतयोग्य रहेको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुलाई समूह गुणस्तरताका लागि कर्मचारी तथा सदस्यको भूमिकाको विषयमा अन्तरक्रिया केन्द्रित रहेको थियो । त्यस्तै विगतको कोरोना संक्रमण अवधिमा ंसंस्थाले सदस्यलाई उपलब्ध गराएको सेवा, लकडाउन साथै आर्थिक मन्दिका कारण वित्तिय क्षेत्रले खेपीरहेको समस्या र त्यसबाट आम जनमानसको दैनिक कारोवारमा आइपरेका कठिनाई तथा ऋण र वचतको कारोवारमा देखापरेको वर्तमान सवालका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई कृषि तथा पशुपालन व्यवसायको प्रभावकारी स्तरोन्नतीका निम्ति आवश्यक परामर्श,सल्लाह प्रदान गर्न पशु प्राविधिक मार्फत सदस्यको घरदैलोमा दिइरहेको सेवाका बारेमा जानकारी गराइएको थियो । त्यस्तै भावी दिनमा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता उत्पादनकालागि योग्य र इच्छुक सदस्यलाई आवश्यकता बमोजिम तालिम उपलब्ध गराई आत्मनिर्भर बन्न सहयोग गर्ने बताइएको छ । कारोवार गर्दा वर्तमान अवस्थामा अन्धाधुन्ध कारोवार नगरी संस्थाको आर्थिक स्वास्थ्य अवस्था बारे सुसूचित हुन अनुरोध गरिएको थियो । संस्थाको आर्थिक स्वास्थ्य अवस्थाको बारेमा समेत प्रस्तुत गरिएको कार्यक्रममा सदस्यहरुलाई निर्धक्क भई कारोवार गर्न अनुरोध गरिएको थियो । आफूले राख्ने बचतको प्रकृती हेरी फिर्ता पाउने समयमा फिर्ता लिनुपर्दा कोहि पनि सदस्यले दोधार हुनु नपर्ने भन्दै सेवा केन्द्र प्रमुख के.पी. लुइटेलले हाल आएका नयाँ बचत, एटिएम सेवा तथा अन्य वस्तु सेवाका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए ।
“व्यवसाय स्तरोन्नतीका लागि कर्जा, पशुपालक कृषकलाई उर्जा” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्यले नेपालमा पाइने डालेघाँस, भुईघाँस, जडिबुटि, सिजनेली घाँसहरुको बारेमा जानकारी गराएका थिए । आचार्यले हालसम्म दर्ता भएका सिजनेली घाँसहरु मध्ये उत्कृष्ट रहेका १६२ प्रजातीका घाँस साथै नेपियर प्रजातीका करिब १० वटा प्रसिद्ध घाँसको महत्वका बारेमा चर्चा गरे । अनुगमन अधिकृत आचार्यले कात्तिकदेखि पौष महिना सम्म लगाउन मिल्ने जै घाँसको समेत जानकारी गराए ।
संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध सदस्यहरुलाई संस्थाले विगतदेखि नै यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । संस्थाले उपलब्ध गराएको जै घाँसको विऊ इलाम न.पा.९ का कृषक सदस्यहरुलाई वितरण गरिएको थियो भने इलाम –१,को साखेजुङ्ग नेपालटारमा रहेका समूहका अन्य कृषक सदस्यहरुसँग समेत सेवा केन्द्रले कार्यक्रमको आयोजना गरी घाँसको विऊ वितरण गर्ने योजना रहेको सेवा केन्द्र प्रमुख के.पी.लुइटेलले जानकारी दिएका छन् ।
