कनकाई खबर \ झापाको सुरुङ्गामा शहिद लक्ष्मी पाण्डेको स्मृति दिवसको अवसर पारेर माता मायादेवी पाण्डेलाई सम्मानसहित वृक्षरोपण गरिएको छ ।
अनेरास्ववियु झापाको आयोजनामा मंगलबार विहान सुरुङ्गास्थित शहिद पाण्डेको शालिकमा माल्यार्पण गर्दै वृक्षरोपण गरेर पाण्डेको सम्झना गरिएको हो । अनेरास्ववियुले हरेक वर्ष मंसिर २७ मा पाण्डेको स्मृतिमा कार्यक्रम आयोजना गर्दै आएको छ । सोही क्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिव एवम् प्रदेश सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाइएको हो ।

अनेरास्ववियुका विद्यार्थीहरु सहभागी कार्यक्रममा माता मायादेवी पाण्डेलाई सम्मान गर्दै शहिद पाण्डेको शालिकमा माल्यार्पण गरिएको थियो । स्मृति दिवसकै अवसरमा कनकाई बहुमुखी क्याम्पसको परिसरमा वृक्षरोपण गरिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए ।
भारत मेघालयबाट लखेटिएका नेपाली भाषीको निम्ति आन्दोलनरत पाण्डेलाई ०४४ साल मंसिर २७ गते तत्कालिन शासकले गोली हानी हत्या गरेको थियो । नेपालीभाषीको पक्षमा भएको आन्दोलनमा अग्रमोर्चामा रहेका पाण्डेले महिलाहरुमाथि प्रहरीले गरेको दुव्र्यवहार विरुद्ध प्रतिकार गर्दा उनीमाथि गोली चलाइएको अनेरास्ववियु झापाका सचिव नारायण पोखरेल बताउँछन् ।

स्मृति सभामा पाण्डेले गरेको योगदान र उनको सपनाबारे चर्चा गरिएको थियो । स्मृतिसभामा प्रदेश सचिव पाठक, अनेरास्ववियुका सचिव डम्बर अधिकारी र केन्द्रिय सदस्य समर्पण खतिवडाले पाण्डेको योगदानबारे चर्चा गरे ।
