कनकाई खबर \ निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन ) कनकाई नगर समितिले दुई दिवसीय विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको कनकाई–३ स्थित पशुपति अंग्रेजी माविमा आयोजना गरिएको नगर स्तरिय प्रतियोतिात्मक साँस्कृतिक कार्यक्रम शनिवारबाट सुरु भई आईतबार सम्पन्न भएको हो । दुई दिवसिय कार्यक्रममा पहिलो दिन शनिवार १२ बर्ष भन्दा मुनिका र १२ बर्ष माथिका विद्यार्थीको अलग अलग समुह बनाई गायन प्रतियोगिता गरिएको थियो ।

उक्त प्रतियोगितामा १२ बर्ष माथिको समुहमा ११ विद्यालयले सहभागिता जनाएका थिए भने १२ बर्ष भन्दा मुनिको समुहमा १२ वटा विद्यालयले सहभागीता जनाएका थिए । १२ बर्ष मुनिको गायन प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , दिव्यरत्न आवासिय मावि द्वितीय र माउन्ट अन्नपूर्ण अंग्रेजी विद्यालय तृतीय भएका थिए । त्यस्तै १२ बर्ष माथिको गायन प्रतियोगितामा ग्लोबल एडुकेयर एकाडेमी प्रथम , देवकोटा अंग्रेजी विद्यालय द्वितीय साथै अरुणोदय अंग्रेजी मावि र प्यारागन एकाडेमी तृतीय भएका थिए । त्यसैगरी शनिवार नै लोक तथा सांस्कृतिक सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियोे । उक्त प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएकोमा प्यारागन एकाडेमी प्रथम , नव युग शिक्षा निकेतन द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भएका थिए ।
त्यस्तै आईतबार दोस्रो दिनको कार्यक्रममा आधुनिक नृत्य प्रतियोगिता साथै राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा आधुनिक तर्फ १६ वटा विद्यालयको सहभागिता रहेकोमा बेनुबाजा अंग्रेजी विद्यालय प्रथम , पारिजात शिक्षा निकेतन द्वितीय र दिव्यरत्न अंग्रेजी विद्यालय तृतीय भएका छन । त्यसैगरी राष्ट्रिय गित तर्फको नृत्य प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेकोमा दिव्यरत्न अंग्रेजी मावि प्रथम , प्यारागन एकाडेमी द्वितीय र ग्लोबल एडुकेयर एकाडेमी तृतीय भएका छन् ।

शनिवार भएको प्रतियोगिताको निर्णायक मण्डलमा गायन तर्फ भिम बस्नेत र सञ्जिव कुमार धिमाल रहेका थिए भने नृत्य तर्फ देवराज खड्का र चन्द्र तामाङ रहेका थिए । त्यसै गरि आईतबार भएको नृत्य प्रतियोगितामा भानु सिटौला र उमेश ठटालले निर्णायकको भुमिका सम्हालेका थिए ।
कार्यक्रममा विधागत रुपमा प्रथम द्वितीय र तृतीय हुने सहभागीलाई शिल , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यस कार्यक्रममा प्रथम हुने प्रतियोगीले प्याब्सन जिल्लाले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाले वताएका छन । शनिवार भएको उद्घाटन कार्यक्रममा झापा क्षेत्र नं. ४ (२)का प्रदेशसभा सदस्य माननीय भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य , प्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेती साथै प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोको विशिष्ट आतिथ्यता रहेको थियोे । त्यस्तै आईतबार भएको समापन कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य साथै नगर उपप्रमुख आशा शर्मा शिवाकोटी , नगर शिक्षा शाखा प्रमुख पिताम्बर गौतम लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
यस किसिमका कार्यक्रमले हाम्रो आफ्नो संस्कार ,संस्कृति र धर्मको संरक्षण भई जिवन्त रहन सहयोग पुग्ने बताउँदै उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिटौलाले जिवनको स्वास्थ सन्तुलनकालागि पनि यस किसिमको कार्यक्रम अपरिहार्य रहेको बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै बालबालिकालाई राष्ट्रिय कलाकार बनाउँन प्याब्सनले अहम भुमिका खेलेको विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले बताएका छन ।
त्यसैगरी समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईलाई शैक्षिक हब बनाउने नगरको लक्ष्य भएको र यसलाई सफल बनाउँन नगरका सामुदायिक र निजी विद्यालयको उत्तिकै भुमिका रहने भएकोले सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन । त्यस्तै बिशिष्ट अतिथि नगर उप प्रमुख आशा शिवाकोटीले नृत्य तथा गायन शिक्षाको अभिन्न अंग भएकोले सरकारले यसलाई पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिएकी छन । प्याब्सनका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि एलपी उप्रेतीले निजी विद्यालयमा पढ्ने विद्यार्थी पनि राज्यकै विद्यार्थी भएकोले राज्यको दायित्व उत्तिकै रहनु पर्छ भन्दै राज्यबाट दिईने सेवा सुविधामा विभिन्न वहानामा सामुदायिक र निजी विद्यालयको अन्तर देखाउदै निजी विद्यालयका विद्यार्थीलाई विभेद नगर्न आग्रह गरेका छन ।
प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य , क्षेत्रीय सदस्य , विभिन्न पालिकाका अध्यक्ष साथै प्रतिनिधि , शैक्षिक ब्यक्तित्व , विद्यार्थी , अभिभावक , संघसंस्थाका प्रतिनिधि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि लाई स्वागत प्याब्सनका जिल्ला सदस्य सागर ढुङ्गानाले गरेका भिए भने संचालन कनकाई नगर सचिव मोहन थापा र कार्यक्रम संयोजक समेत रहेका नगर कोषाध्यक्ष विनोद उप्रेतीले गरेका थिए ।
